काउन्सिल विधेयकमा संशोधन हाल्न ७२ घण्टा

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सभामा सत्तारूढ दल नेकपाका मुख्य सचेतक खिमलाल भट्टराईले मिडिया काउन्सिललाई स्वायत्त, स्वतन्त्र एवं शक्तिशाली संगठनका रूपमा स्थापित गर्ने गरी विधेयक समृद्ध बनाइने बताएका छन् । मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा उनले नेपाल पत्रकार महासंघले उठाएका सरोकारलाई सम्बोधन गर्न आफूहरू प्रतिबद्ध रहेको जानकारी दिए । ‘उहाँहरूलाई मिडिया काउन्सिलको स्वतन्त्रता र स्वायत्तताको चिन्ता छ ।

त्यसमा मन्त्रीजीले पनि बोलिसक्नुभएको छ । मैले आफैं महासंघसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छु,’ उनले भने, ‘काउन्सिलको स्वायत्तता र स्वतन्त्रता कुण्ठित गर्ने र प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने पक्षमा हामी छैनौं । महासंघसँग गरिएका प्रतिबद्धता पूरा गरेर जान्छौं ।’

प्रेस स्वतन्त्रताको रक्षा र प्रेस जगतमा रहेको अराजकता, स्वेच्छाचारितालाई नियमन गर्ने हिसाबले काउन्सिल बन्नुपर्ने उनले बताए । ‘चरणबद्ध छलफलपछि त्यस विषयमा राजनीतिक दल एक ठाउँमा छौं, प्रेस स्वतन्त्रताको सवालमा हाम्रो जग एउटै छ,’ उनले थपे, ‘विधेयकमा संशोधन गर्नुपर्ने विषयलाई संशोधन र थप स्पष्ट पर्नुपर्ने विषयलाई त्यहीअनुसार व्याख्या गरेर जान्छौं ।’ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विधेयकमाथि विचार गरियोस् भन्ने राखेको प्रस्तावमा सबै दलले समर्थन जनाएपछि विधेयकले आगामी प्रक्रियामा प्रवेश पाएको छ । विधेयकमाथि संशोधन हाल्न सांसदलाई ७२ घण्टाको समय दिइएको छ ।

राजपा सांसद वृषेशचन्द्र लालले मन्त्री तथा सत्तारूढ दलबाट आएको प्रतिबद्धताकै आधारमा विधेयकमाथिको प्रक्रिया अगाडि बढेको भन्दै त्यो विश्वास नतोडियोस् भन्ने आग्रह गरे । सैद्धान्तिक छलफलमा भाग लिँदै उनले प्रेस स्वतन्त्रतामाथि कुनै किसिमको प्रतिबन्ध भयो भने लोकतन्त्रको फङसनमै समस्या आउने उल्लेख गरे । काउन्सिलमा मिडियालाई उपभोक्ताको पनि प्रतिनिधित्व हुनुपर्ने उनले सुझाए ।

कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले पनि सरकार स्वयंले काउन्सिलको स्वायत्तता र प्रेस स्वतन्त्रताका सवालमा विश्वास दिलाएकाले त्यसैलाई टेकेर अगाडि बढेको प्रतिक्रिया दिए ।

नियन्त्रणको पक्षमा छैनौं : मन्त्री बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले स्वतन्त्र प्रेस नियन्त्रणको पक्षमा सरकार कहिल्यै जान नसक्ने बताएका छन् । विधेयकमाथि उठेका सवालको जवाफ दिने क्रममा उनले स्वतन्त्र प्रेसको नियन्त्रण लोकतन्त्रको मुख्य पद्धतिभित्र नपर्ने दाबी गरे । प्रेस स्वतन्त्रतामाथि बाहय एवं आन्तरिक चुनौती रहेको भन्दै आन्तरिक चुनौती स्वयं प्रेसबाट सृजित रहेको उनले उल्लेख गरे ।

‘मिडिया आफैं बहकिँदा प्रेसको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ । प्रेसमाथिको नागरिकको विश्वास उठदै जानु डरलाग्दो कुरा हो,’ उनले भने, ‘स्वतन्त्रता र स्वच्छन्दताको परिभाषा ठोस ढंगले हुनुपर्छ । जे पनि गर्न पाउनु पत्रकारिता होइन ।’ काउन्सिल विधेयकमा रहेको दण्ड जरिवाना र क्षतिपूर्तिको प्रावधान हटाएर जान सकिने उनको भनाइ छ । ‘पदाधिकारी चयन प्रक्रिया पहिला पनि सरकारले नै गर्थ्यो, अहिले पनि उसैले गर्ने प्रस्ताव छ,’ उनले भने, ‘यसलाई सञ्चार मन्त्रालयको अंग बनाउन खोजिएको होइन ।’

प्रकाशित : भाद्र १४, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्

कहाँ लगिन्छन् गाईगोरु ?

कलेन्द्र सेजुवाल

(सुर्खेत) — सुर्खेतबाट दैलेखसम्म भनेर ल्याउँछन् र कालिकोट पुर्‍याउाछन् । कालिकोटबाट मुगु हुादै सम्बन्धित ठाउँ फुर्‍याइन्छन् । बिहीबार मात्रै ट्रकमा खाादेर लगिएका २४ गाईगोर बाटोमै मरे । करिब डेढ सय सुर्खेतको कटकुवा क्षेत्रमा बेवारिस छाडिएका छन् ।

हेर्दै जीर्ण र जर्जर शरीर । वृद्ध गोरुले न खेती लगाउन सक्छन् न त गाईले प्रजनन क्षमता राख्छन् । नेपालगन्ज उपमहानगरपालिकाले उपयोगिताविहीन तिनै गाईगोरुलाई बिहीबार ट्रकमा हालेर दैलेख, शिरस्थानका लागि पठायो । २४ गाईगोरु बाटोमै मरे । करिब डेढ सय सुर्खेतका कटकुवा क्षेत्रमा बेवारिस छोडिए । अहिले ती गाईगोरु कहाँ, कसले र किन लग्दै थियो भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।

सडकमा गाई भेटिएपछि सुर्खेत प्रहरीको पहिलो प्रतिक्रिया थियो– दैलेखको शिरस्थान लग्ने क्रममा ट्रकबाट झार्दा बाटोमै मरेका हुन् । नेपालगन्ज उपमहानगरपालिकाले पनि प्रेस विज्ञप्तिमार्फत सोही जानकारी प्रेषित गरेको छ । जनप्रतिनिधि र शिरस्थान मन्दिर व्यवस्थापन समितिका पदाधिकारी भने ती गाईगोरु शिरस्थानको नाम भजाएर अन्यत्रै लैजान ल्याइएको दाबी गर्छन् । ‘पुच्छो (दान) लगाएर आएका गाईकै व्यवस्थापन गर्न त हामीलाई हम्मेहम्मे छ, ती थाडा (नब्याउने) गाई र बुढा गोरु यहाँ केका लागि मगाउनु ?’ मन्दिर व्यवस्थापन समिति अध्यक्ष केशवराज थापाले भने, ‘यसबारे हामीलाई केही जानकारी छैन, कसैले गौमातामाथि पाप गरिरहेको छ ।’

शिरस्थान क्षेत्रमा पर्ने दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले त तस्करी गर्ने उद्देश्यले गाईगोरु ल्याइएको दाबी गरे । यसअघि पनि बुढाखाडा गाईगोरु दैलेखको बाटो भएर तिब्बतको सीमाक्षेत्रमा पर्ने हुम्ला, मुगुसम्म तस्करी हुने गरेको उनको भनाइ छ । ‘सुर्खेतबाट दैलेखसम्म भनेर ल्याउँछन्, यता ल्याएपछि कालिकोट लैजाने भनेर चराउँदै लैजान्छन्,’ उनले भने, ‘कालिकोट पुगेपछि भने मुगु लैजाने भनेर लग्छन् अनि त्यहाँबाट सम्बन्धित ठाउँ पुर्‍याइन्छन् ।’ तस्करीको यही सेटिङ थाहा पाएकै कारण नेपालगन्जबाट ल्याउन लागिएका गाईगोरु दैलेख प्रवेश गर्न नदिन आफूले प्रहरी–प्रशासनलाई अग्रिम रूपमा आग्रह गरेको उनले बताए ।

कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी पूर्णचन्द्र जोशीले पनि प्रयोजनविहीन तबरले गाईगोरु ल्याउनु ‘संवेदनशील’ भएको बताउँदै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । पाँच जना ट्रक चालक समातिए पनि सबै कुरा उनीहरूबाट नखुल्ने उनको भनाइ छ । उत्तरी मुगुका एक स्थानीयले समेत उत्तरी सीमाक्षेत्रमा गाईगोरु तस्करी हुने बताए । तराईका जिल्ला हुँदै ल्याइएका गाईगोरु मुगु र हुम्लाका उत्तरी सीमावर्ती क्षेत्रका साथै केही संख्यामा तिब्बतसम्मै पुर्‍याइने गरेको उनको भनाइ छ ।

वीरेन्द्रनगर नगरपालिकाका पशु चिकित्सक नारायण न्यौपानेले पनि ती गाईगोरुको अवस्था हेर्दा मनमा कौतूहल उब्जिएको बताए । अधिकांश गाई प्रजनन क्षमता नभएका र गोरु पनि वृद्ध भएका उनको भनाइ छ । ‘यिनलाई पालेर मल बनाउनेबाहेक अरू खासै काम देखिँदैन,’ उनले प्रश्न गरे, ‘न दूध खान मिल्ने न जोत्न मिल्ने, यी गाईगोरु ट्रकमा हालेर यति टाढा किन ल्याइए होलान् त ?’

कसरी ल्याइए गाईगोरु ?
नेपालगन्ज उपमहानगर क्षेत्रमा छाडा चौपाया सडक सुरक्षाका दृष्टिले प्रमुख समस्या छ । सीमावर्ती भारतबाट समेत छाडा चौपाया आउने गर्छन् । यही समस्या समाधान गर्न उपमहानगरले वडा नं. २१ को पुरैनामा कान्जीहाउस बनाएको छ ।

त्यहाँ क्षमताभन्दा बढी गाईगोरु भएपछि उपमहानगरले संरक्षण गर्नका लागि कसैले माग गरे दिने नीति बनाएको छ । सोहीअनुसार केही व्यक्तिले दैलेखको शिरस्थानमा लैजाने प्रस्ताव राखेपछि उपमहानगर आफैंले ट्रक व्यवस्था गरी २ सय ९१ गाईगोरु बिहीबार पठाएको थियो । ‘नेपालगन्जबाट सुर्खेतसम्म ट्रकमा हालेर लग्ने र त्यहाँबाट चराउँदै लग्ने योजनाअनुसार पठाइएका हुन्,’ उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले भने, ‘तर दुर्घटनावश केही पशु मरेपछि समस्या आइलाग्यो ।’ सुर्खेतसम्म पुर्‍याउन नगर प्रहरीको टोली नै आएको उनले बताए ।

प्याकुरेलको भनाइमा यसअघि पनि विभिन्न व्यक्तिले कान्जीहाउसबाट करिब ८० गाई तथा गोरु जाजरकोट, दैलेखलगायत जिल्लामा लगेका छन् । यति ठूलो संख्यामा ट्रकमा कोचेर लग्ने व्यक्तिबारे भने न उपमहानगरपालिका बोलेको छ न त सुर्खेत प्रहरीले मुख खोलेको छ । प्रहरीले चालकसहित पाँचवटा ट्रक समातेको छ । गाईगोरु ल्याउने जिम्मेवार व्यक्ति भने नियन्त्रणबाहिर छन् । सुर्खेत उपत्यकाको प्रवेशद्वार सुब्बाकुनामा प्रहरी पोस्ट छ । पोस्टनजिकै ८ वटा गाई तथा गोरु मरेका छन् । उपत्यकाको उत्तरतिर पर्ने कटकुवाको सडकमा थप १६ वटा गाईगोरु मरेका छन् । स्थानीयले प्रहरीले राति नै घटनाबारे थाहा पाए पनि कसैलाई समात्नेतिर नलागेको बताए । सुर्खेतका निमित्त प्रहरी प्रमुख डीएसपी रवि रावलले घटनाबारे अनुसन्धान भइरहेकाले धेरै बोल्न नमिल्ने बताए ।

कसरी मरे ?
पशुचिकित्सक न्यौपानेका अनुसार आयु पुगेका गाई तथा गोरु ट्रकमा खाँदेर ल्याउँदा मरेका हुन् । कतिपय गाईगोरु ट्रकभित्रै मरेका हुन सक्ने उनले बताए । ‘केहीलाई ट्रकबाट झार्ने क्रममा चोट लागेर मरेका देखिन्छन्,’ उनले भने, ‘मरेका अधिकांश गाईगोरु बुढाखाडा छन् ।’ बेवारिस छोडिएकामध्ये २५ वटालाई उपचार गरी निको पारिएको उनले बताए ।

कटकुवाका विभिन्न ठाउँमा छोडिएका गाईगोरुमा चोटपटक लागेको देखिन्छ । मरेका गाईगोरुमा पनि घाउचोट देखिएको न्यौपानेले बताए । यद्यपि मृत्युको कारण थाहा पाउन मरेका गाईको ग्रस (बाहिरी) र इन्टरनल (भित्री) पोस्टमार्टम गरिने उनको भनाइ छ ।

प्रकाशित : भाद्र १४, २०७६ ०८:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT