२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

'समानताका आधारमा एकता’

काठमाडौँ — राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्षमण्डलले समाजवादी पार्टीसँग सम्मान र समानताका आधारमा एकीकरण गर्ने निर्णय गरेको छ । 

'समानताका आधारमा एकता’

राजनीतिक समितिको बैठक स्थगित भएपछि शुक्रबार बसेको अध्यक्ष मण्डलको बैठकमा पार्टी एकीकरणका विषयमा छलफल भएको थियो । वार्ता समितिका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टीसँग भएका अनौपचारिक वार्ता र प्रगतिबारेमा बैठकलाई जानकारी गराएका थिए । दुई पार्टी एकीकरण महाधिवेशन अघि कि पछि भन्नेमा राजपाभित्र विवाद देखिँदै आएको थियो । अध्यक्षमण्डलमा रहेका ६ सदस्यमध्ये संयोजक राजकिशोर यादव र सदस्य अनिल झा महाधिवेशनपछि मात्रै पार्टी एकता गर्नुपर्ने पक्षमा छन् । अन्य सदस्यहरूले महाधिवेशनअघि नै एकीकरण प्रक्रिया टुंग्याउनुपर्नेमा जोड दिँदै आएका छन् । यसैमा पार्टीभित्र विवाद बढेपछि अध्यक्ष मण्डलका संयोजक यादवले राजनीतिक समितिको बैठक बोलाएका थिए । मण्डलका ६ सदस्यहरूबीचको सहमतिमा मात्रै राजनीतिक समितिको बैठक बोलाउने प्रचलन छ । त्यसविपरीत एकलौटी रूपमा बैठक बोलाएको भन्दै बहुमत सदस्यले विरोध गरेपछि शुक्रबारका लागि बोलाइएको राजनीतिक समितिको बैठक स्थगित भएको थियो । ‘अध्यक्षमण्डलको बैठकमा पार्टी महाधिवेशन र पार्टी एकीकरणबारे छलफल भयो,’ यादवले भने ।


अध्यक्षमण्डलका सदस्य शरदसिंह भण्डारीले वार्ता सकारात्मक रूपमा अघि बढेको जानकारी बैठकमा आएको बताए । ‘सम्मान र समानताका आधारमा पार्टी एकीकरण गर्न अघि बढेका छौं, धेरै लामो समय जाँदैन,’ उनले भने, ‘सकभर महाधिवेशनअघि नै एकता भइसक्छ ।’ समाजवादी पार्टीको बुधबार बसेको बैठकले पार्टीको सांगठनिक संरचना, नेताहरूको व्यवस्थापन, राजनीतिक विचारलगायत विषयमा कुरा मिलीसके पनि राजपाले निर्णय लिन नसक्दा एकीकरणमा ढिलाइ भएको प्रतिक्रिया दिएको थियो । ‘कुरा सकारात्मक ढंगले अघि बढेको छ,’ भण्डारीले थपे, ‘अब ठोस रूपमा वार्ता समितिबीच छलफल हुनेछ ।’


प्रकाशित : भाद्र १४, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?