पूर्वमन्त्री नेपालीको निधन 

महोत्तरी — पूर्वयुवा तथा खेलकुदमन्त्री गणेश तिवारी नेपालीको शुक्रबार निधन भएको छ । ७७ वर्षीय उनी मधुमेह र देब्रे फोक्सोको क्यान्सरबाट पीडित थिए । उनको जलेश्वरस्थित निवासमा शुक्रबार साँझ निधन भएको हो । 

पूर्वमन्त्री नेपालीको निधन 

कांग्रेसले आह्वान गरेको सशस्त्र संघर्ष र सत्याग्रहजस्ता लोकतन्त्र स्थापनाको आन्दोलनमा सक्रिय रहेर पक्राउ परेका उनी जलेश्वर, मलंगवा, सिन्धुली, रामेछाप र नख्खु कारागारमा पटकपटक गरी ९ वर्ष थुनामा परेका थिए । भारतमा करिब ७ वर्ष निर्वासित जीवन पनि बिताएका उनलाई उता पनि पक्राउ गरी हातहतियार मुद्दामा सीतामढीको डुमरा र मुजफ्फरपुर जेलमा डेढ वर्ष थुनामा राखिएको थियो ।


२०४५ मा कांग्रेसको महोत्तरी जिल्ला सभापति रहेका उनले पार्टीभित्रै पनि पदका लागि संघर्ष गर्नुपरेको थियो । २०४९ मा तत्कालीन नेकपा एमाले प्रवेश गरेर ०५१ को प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–४ बाट उठेका उनी पराजित भएका थिए । २०६४ मा तमलोपामा प्रवेश गरेर महोत्तरी–३ बाट निर्वाचित भएका उनी तत्कालीन सरकारमा युवा तथा खेलकुदमन्त्री भएका थिए ।


उतारचढावपूर्ण राजनीतिक जीवन बिताएका उनी बीपी कोइरालाबाट प्रभावित थिए । कांग्रेस छाडेर एमाले र तमलोपामा गए पनि अन्तिम समयसम्म सधैं ‘जय नेपाल’ को अभिवादन गर्न छाडेका थिएनन् । नेपालीका पत्नी र दुई छोरा छन् ।

प्रकाशित : भाद्र १३, २०७६ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?