कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कांग्रेस बैठकमा हिन्दु राज्यबारे बहस, नेताहरुबीच घोचपेच

कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा हिन्दु राज्यका बारेमा बहस सुरु भएको छ । यसअघि फाट्टफुट्ट धर्मबारे कुरा उठ्ने भए पनि बैठकमा लामो बहस चलेको थिएन । राजनीतिक प्रस्तावमाथि जारी छलफलका क्रममा केन्द्रीय सदस्यहरुले पार्टीको सिद्धान्तसमेत धार्मिक स्वतन्त्रता रहेको भन्दै धर्मनिरपेक्षताबारे पार्टीको दृष्टिकोण बदल्नु पर्ने माग गरेका हुन् ।

कांग्रेस बैठकमा हिन्दु राज्यबारे बहस, नेताहरुबीच घोचपेच

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले हिन्दु राष्ट्रको मुद्दाप्रति पार्टी गम्भीर बन्नुपर्ने बताए । ‘पार्टीको चार तारामध्ये एउटा ताराको अर्थ धार्मिक स्वतन्त्रता हो । सरकार आफैंले राज्य कोषबाट होली वाईनजस्ता कार्यक्रम गरेर आम नेपालीको धार्मिक आस्थामाथि प्रहार गर्‍यो’ खाँडले भने, ‘महासमिति बैठकमा पनि झन्डै आधा सदस्यहरुले हिन्दु धर्मको पक्षमा हस्ताक्षर गरेर पार्टीलाई बुझाएका छन् । महासमिति बैठकले उठाएका विषयमा समेत पार्टी गम्भीर बन्नुपर्छ ।’


कांग्रेस नेता शेखर कोइरालाले आगामी पार्टी महाधिवेशनमा हिन्दु राज्य स्थापना गर्नेबारे पार्टीभित्रै ठूलै दबाव खडा हुने संकेत गरेका छन् । केन्द्रीय सदस्य फरमुल्लाह मंसुरले बिहीबारको बैठकमा महामन्त्री सशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइराला हिन्दु राज्य स्थापनाका लागि लागेको भन्दै आपत्ति प्रकट गरेका थिए । ‘राष्ट्रियता जनावर गाई काट्न पाइँदैन भन्नु गलत हो ? होली वाईनको विरोध गर्ने तर संविधानमा लेखिएको ‘प्रलोभनमा धर्म परिवर्तन गर्न पाइँदैन भन्नु गलत हो ?’ शुक्रबारको बैठकमा शेखरले भने, ‘पार्टीको १४ औं महाधिवेशनमा हिन्दु राष्ट्रको विषय चर्को रुपले उठ्छ । यसलाई कसरी व्यवस्थापन गर्ने हो त्यसतर्फ हाम्रो ध्यान जान जरुरी छ ।’ मंसुरले दुई कोइरालाप्रति लक्षित गर्दै व्यवसाय गर्ने अनि बाबु–आमाको विरासतमा राजनीति गर्ने ? भन्दै आक्रोश पोखेका थिए ।


‘निरंकुश पञ्चायतविरुद्ध प्रजातान्त्रिक आन्दोलनमा पटक–पटक प्रहरीको लाठी खाँदै जेल गएका छौं, निरंकुशताविरुद्ध हरेक आन्दोलनमा हामी अग्रपंक्तिमा उभिएका छौं, आन्दोलनको मैदान र जेलमा हुँदै गर्दा कति जना कहाँ हुनुहुन्थ्यो ?' कोइरालाले मंसुरको आक्रोशको जवाफ दिँदै भने, ‘हामी सबै आफ्नो कर्मले यहाँसम्म आएका हौं, कसैको दाया र मायाले आएका होइनौं ।’


केन्द्रीय सदस्य एनपी सावदले भने हिन्दु धर्मको पक्षमा धारणा राखेका थिए । केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले हिन्दु धर्मको एजेण्डा पार्टीभित्र प्रवेश गराएर मुलुकलाई थप अन्योलमा धकेल्न नहुने बताए । ‘नयाँ–नयाँ एजेण्डा प्रवेश गराएर मुलुकलाई थप अन्योलमा पुर्‍याउन हुन्न, संविधानमा जे व्यवस्था छ, त्यसैलाई मानेर जानुपर्छ’ उनको भनाइ थियो । बैठकमा केन्द्रीय सदस्य गुरु घिमिरे, मीन विश्वकर्मा, उमाकान्त चौधरी, गोविन्द भट्टराई, अमृत अर्याललगायतले सरकारविरुद्ध सडक र सदनमा प्रभावकारी प्रतिपक्ष बन्नुपर्ने बताएका थिए ।


प्रकाशित : भाद्र १३, २०७६ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?