समाजवादी शिक्षाको चिन्तन हुन सकेन : विज्ञ

कान्तिपुर संवाददाता

काठमाडौँ — देशको राजनीतिक परिवर्तनअनुसार समाजवादी शिक्षको चिन्तन हुन नसकेको विज्ञले औंल्याएका छन् । कुनै तह, तप्का, वर्ग, जाति, लिंग भेद नरहने र सबैले समान हिसाबले एकैखाले सिर्जनशील, सीपमूलक, व्यवहारिक शिक्षा नै समाजवादी शिक्षा हो । तर, मुलुकमा ०७ सालको राजनीतिक परिवर्तनपछि हालसम्म एकैखाले सामाजिक चिन्तन कायम रहेको औंल्याएका हुन् ।

विश्वविद्यालय प्राध्यापक तथा विद्यालय शिक्षक एसोसिएसनले गरेको ‘नेपालको सन्दर्भमा समाजवादी शिक्षाको अवधारणा’ विषयक गोष्ठीमा विज्ञले उक्त विचार व्यक्त गरेका हुन्। ‘राजनीतिक अर्थशास्त्रको दृष्टिले हेर्दा राजनीतिक परिवर्तनले वास्तविक संरचनाका हिसाबले सार्वजनिक शिक्षा पब्लिक गुड्सका रूपमा स्थापित हुन सकेन,’ कार्यपत्र प्रस्तुत गर्दै राजनीतिक अर्थशास्त्री हरि रोकाले भने, ‘शिक्षाको सामाजिक खाडल अहिले पुनः झन् गहिरो भएर देखा पर्‍यो। वर्गीय, जातीय, भाषिक, धार्मिक, सांस्कृतिक, भौगोलिक सबै हिसाबले समाजमा डरलाग्दो खाडल देखा पर्न पुग्यो।’

नेपाल अल्पविकसित मुलुकमा सूचीकृत हुनु र दक्षिण एसियाली राष्ट्रमध्ये सबैभन्दा पछाडि पर्नुको विभिन्न सामाजिक विभेद कारकतत्व रहेको रोकाले उल्लेख गरे। ‘शिक्षा ती सामाजिक विभेदहरूमध्ये प्रमुख तत्व हो,’ दावासाथ उनले भने, ‘विगतदेखि वर्तमानसम्म पनि हाम्रा शिक्षाविद्, योजनाविद् र नीति निर्माताले यो समाजभित्र विद्यमान जातीय, क्षेत्रीय, धार्मिक, लैंगिक, सांस्कृतिक आधारमा गरिएको शैक्षिक विभेदको असामाजिक खाडलबारे गहिरोसँग चिन्तन, मनन् र उत्खनन् गरेको पाइँदैन।’

संविधानले शिक्षालाई मौलिक हकका रूपमा प्रस्तुत गरेको छ। तर सामुदायिक (सरकारी) र संस्थागत (निजी) विद्यालयले दुई धारमा दिँदैआएको शिक्षा सबैभन्दा विभेदकारी रहेको उल्लेख गरिएको छ। सार्वजनिक शिक्षा सुधारका निम्ति अत्यन्त न्यून बजेट बिनियोजन हुन नै विडम्बना भएको रोकाले उल्लेख गरे। ‘सरकारले शिक्षा मन्त्रीकै अध्यक्षतामा शिक्षा आयोग गठन गरेर ७ महिना लगाएर प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ,’ रोकाले भने, ‘तर आजसम्म त्यो प्रतिवेदन जनसमक्ष सार्वजनिक गरिएको छैन। नेपालमा आयोगहरू बन्छन्, प्रतिवेदन लेखिन्छन्, छापिन्छन् तर सार्वजनिक गरिँदैन। सार्वजनिक बहसको विषय बनाइँदैन।’

विश्लेषक रोकाले समाजवाद उन्मुखताको अर्थ शक्तिको केन्द्रिकरण नभई विकेन्द्रिकरण भएको उल्लेख गरे। ‘अब राष्ट्रिय सपना तय गर्ने पर्ने हुन्छ,’ राज्यको लक्ष्यबारे उनले भने, ‘त्यसका लागि असल, सफल, खोजकर्ता, आपसी सद्भावमा विश्वास राख्ने, उत्पादनशील कार्यमा लगनशील भएर खट्ने जनशक्ति आवश्यक छ।’

त्यसैगरी शिक्षाविद्हरू प्राध्यापक विदुर चालिसे, विजय पौडेल, प्रतिनिधिसभाकी सांसद पुष्पा कर्णलगायतले समाजवादी शिक्षाबारे विचार व्यक्त गरेका थिए ।

प्रकाशित : भाद्र १३, २०७६ २०:०५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

यूएसटीएएनको ‘उर्नी’ मुखपत्र सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वविद्यालय प्राध्यापक तथा विद्यालय शिक्षक एसोसिएसन नेपाल (यूएसटीएएन)को मुखपत्र ‘उर्नी’ को पहिलो अंक सार्वजनिक गरिएको छ ।

पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र एसोसिएसनका अध्यक्ष रामकुमार बान्तावाले पत्रिका सार्वजनिक गरेका हुन्। समाजवादी शिक्षालाई विद्यालयदेखि विश्वविद्यालय शिक्षाको चर्चा गरिएको छ। यसमा १९ जना राजनीतिज्ञ र शिक्षाविद्को विचार आलेख संलग्न गरिएको छ।

प्रकाशन समिति संयोजक डा. विदुर चालिसेले ‘उर्नी’ शब्द धिमाल भाषाबाट लिइएको र यसको अर्थ ‘एकतारे बाजा’ भएको बताए।
विश्वविद्यालय प्राध्यापक तथा विद्यालय शिक्षक एसोसिएसन नेपाल (युएसटीएएन)को मुखपत्र ‘उर्नी’ को पहिलो अंक सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र एसोसिएसनका अध्यक्ष रामकुमार बान्तावा।

प्रकाशित : भाद्र १३, २०७६ २०:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT