कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'एउटै सहारा तिम्रै मायाको...'

विद्या राई

काठमाडौँ — काभ्रे, दाप्चाका कृष्णचन्द्र श्रेष्ठ । ९३ वर्षको बुढ्यौली उमेर । हातखुट्टाले भर छाडिसके । तीन छोरा र तीन छोरी गरी छ सन्तानका बाबु । श्रीमती बितेको वर्षौं भैसक्यो । छोरीहरु घरजम गरेर गए । छोराहरुले विवाह गरेर पेसा, व्यवसाय गर्न सहरबजार लागे । ८ वर्षअघि दाप्चाको घर आगो लागेर पूर्ण रुपमा नष्ट भयो । जसोतसो उनी जोगिए ।

'एउटै सहारा तिम्रै मायाको...'

सम्पत्तिको नाममा भएको घर पनि आगोले सखाप पारेपछि उनले गाउँ छाँडे । काठमाडौं आए । तिनकुनेस्थित निःसहाय सेवा सदनको जेष्ठ नागरिक आवासगृहमा साहारा लिई बस्न थालेको ८ वर्ष भैसकेछ ।


बुवाको मुख हेर्ने दिन थुप्रै मानिस खानेकुरा, फलफुल लिएर सदनमा बस्ने श्रेष्ठसहित ३८ जना वृद्धवृद्धा भेट्न आए । आक्कल–झुक्कल भेट्न आइपुग्ने छोरा आइहाल्लान् कि भनेर श्रेष्ठ दिउसो अबेरसम्म बाटो कुरिबसे । कोही आएनन् । एक्लिएर सहारामा पुगेका उनलाई छोराछोरीको उतिसारो आशा पनि छैन । तर आफ्ना सन्तानको माया भने सदैव रहिरन्छ । ‘यस्ता चाडवाडमा चाँही छोराछोरीको याद आउने रहेछ,’ उनले दुखित हुँदै सुनाए ।

ओखलढुंगा, रामपुरकी ८० वर्षिया गायत्री थापा पनि श्रेष्ठ जस्तै सदनको सहारामा छिन् । उनले त्यहाँ बस्न थालेको ११ वर्ष भैसक्यो । जायजन्म नभैकन पतिको मृत्युपछि कहिले घर त कहिले माइती गर्दै बसेकी उनी गाउँका साथीभाइसँगको लहैलहैमा काठमाडौं छिरेकी थिइन् । धेरैवर्षसम्म नक्सालस्थित चिनारु आफन्तकै घरमा खाना पकाउने काम गरिन् । उमेर ढल्किदै गएपछि काम गर्न नसक्ने भइन् । पछि चिनेजानेकै साथीहरुले आवाशगृहमा बस्ने व्यवस्था मिलाइदिए । ओखलढुंगाका देवर, देउरानी कहिलेकाँही भेटघाट गर्न आउँछन् ।


‘बस्न उतै आउनु भन्छन्, काम गर्न सकिँदैन,’ गायत्रीले सुनाइन् । छोराछोरी, परिवार, आफन्त तथा समाजबाट अपहेलित वृद्धवृद्धाहरु सदन वृद्धाश्रममा जीवनको अन्तिम सत्र कटाउन आउँछन् । ‘आफ्नो घरजस्तो कहाँ हुन्छ र, घरैमा पनि बस्न सकिँदैन,’ परिवार, समाजबाटै अपहेलित हुनुपरेपछि वृद्धाश्रम पुग्नुपरेको एक वृद्धले गुनासो पोखे । चार दशक अघि पत्नी बितेपछि साहाराविहिन बनेका उनी केहि वर्षदेखि तिनकुनेको आवाशगृहमा बस्दै आएका छन् ।

त्यसो त सरकारले सन्तान वा संरक्षकले आनो कमाइको १० प्रतिशत रकम आमाबाबु/अभिभावकका नाममा रहेको बैंकमा जम्मा गर्नुपर्ने ज्येष्ठ नागरिकसम्बन्धी विधेयक ल्याएको छ । यसबारे सुनाउँदा श्रेष्ठले सरकारले लागु गर्न सके आफूजस्ता जेष्ठ नागरिकलाई राहत मिल्ने बताए । पारिवारिक वातावरणमा जीवन व्यतित गर्न पाउँने अभिलासा व्यक्त गरे ।


गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार ७० वर्ष माथिका ११ लाख ९२ हजार १ सय ३६ जेष्ठ नागरिक छन् । यसैगरी पर्यटनमन्त्री योगेश भट्टराईले हालै हवाइसेवामा ७० वर्ष माथिका वृद्धवृद्धालाई ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् । सरकारले ल्याएका यस्ता सामाजिक सुरक्षा कार्यक्रम कडाइका साथ लागु गर्न सके जेष्ठ नागरिकहरु प्रत्यक्ष लाभान्वित हुन पाउने निःसहाय सेवा सदन, तीनकुनेका प्रशासकिय अधिकृत प्रेमप्रसाद उप्रेती बताउँछन् ।

सदनमा परिवारमा कोही नभएको, विधुवा, पारिवारिक बेमेलले गर्दा अलग्गिएका ६० वर्ष पार गरेका जेष्ठ नागरिक बढीजसो आउछँन् ।



प्रकाशित : भाद्र १३, २०७६ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?