कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अहिले नेपालको मुहार फेर्ने उपयुक्त समय : मुख्यमन्त्री गुरुङ

लन्डन — बेलायत भ्रमणमा रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको मुहार फेर्ने अहिले उपयुक्त समय भएको बताएका छन् । यहाँस्थित नेपाली दूतावासद्वारा बिहीबार बेलुका आयोजना गरिएको स्वागत समारोहमा बोल्दै मुख्यमन्त्री गुरुङले लामो समयपछि नेपालमा स्थिर सरकार बनेको र विकासको सिढी चढ्न अहिले उपयुक्त समय आएको बताए ।

अहिले नेपालको मुहार फेर्ने उपयुक्त समय : मुख्यमन्त्री गुरुङ

'बंगलादेश चढिसक्यो। भुटान र मालदिभ्सले पनि उछिनी सके। यो अवसर पनि हामीले गुमायौं भने इतिहासले के भन्ला ?' उनले प्रश्न गरे। विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुलाई आर्थिक कूटनीतिमा बढी ध्यान दिन पनि उनले सुझाव दिए । 'नेपालको व्यापार घाटा डरलाग्दो स्तरमा पुगेको छ। अहिलेसम्म विप्रेषणले धानेको छ, तर त्यो पनि घट्दै छ। यस्तो बेला नेपालको बाह्य व्यापार बढाउन नेपाली नियोगहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्छ,' उनले भने ।


मुख्यमन्त्री गुरुङले नेपालमा शान्तिपूर्ण क्रान्ति भएकाले सेना, प्रहरी र निजामती सेवामा खासै फेरबदल नगरिएको र नेपालको ब्युरोक्रेसीले अझै पुरानो मानसिकताले काम गरिरहेको गुनासो गरे। उनले नेपाल सरकार नेपालमा विदेशी लगानी भित्र्याउन कटिबद्ध रहेको बताउँदै त्यसमा सघाउन बेलायत लगायत प्रवासमा बसेका नेपालीहरुलाई आग्रह गरे । उनले आउँदो २५ वर्षभित्र गण्डकी प्रदेशका बासिन्दाको प्रतिव्यक्ति आम्दानी वार्षिक १५,००० डलर पुर्‍याउने उद्देश्य लिएर प्रदेश सरकारले काम गरिरहेको सुनाए ।


मुख्यमन्त्री गुरुङलाई स्वागत गर्दै बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले युरोपस्थित सबै मुलुकसँग नेपालको व्यापार घाटा रहेको तर बेलायत सँगको व्यापारमा भने नेपाल नाफामा रहेको बताए । उनले भूकम्पपछि नेपाल जाने ब्रिटिस पर्यटकहरुको संख्या घटेर २९ हजार पुगेकोमा गत वर्ष ६३ हजार पुगेको बताए । 'यो वर्ष ७५ हजार र आउँदो वर्ष १ लाख ब्रिटिस पर्यटकहरु नेपाल लैजाने उद्देश्यले हामी काम गरिरहेका छौं, यो लक्ष्य अवश्य पूरा गर्ने छौं," उनले भने।


राजदूत सुवेदीले कार्पेट, गार्मेन्ट र हस्तकलाबाहेक अहिले आएर बेलायतको बजारमा नेपाली चिया र कफीको प्रवर्द्धन गरिरहेको पनि जानकारी दिए । उनले दूतावासले वेल्स, उत्तरी आयरल्यान्ड, डब्लिन लगायत सहर पुगेर नेपाल प्रवर्द्धनको काम गरिरहेको जानकारी गराए । राजदूत सुवेदी अन्तर्राष्ट्रिय कफी संघका उपाध्यक्ष पनि हुन् ।


तमुधिं यूकेद्वारा गत आइतबार आयोजित नेपाली मेलामा भाग लिन गुरुङ बेलायत आएका हुन् ।


तस्बिर : नेपाली दूतावास, लन्डन

प्रकाशित : भाद्र १३, २०७६ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?