सुडान घोटालाका आरोपी शम्भु भारती पक्राउ

जनकराज सापकाेटा, कृष्ण ज्ञवाली

काठमाडौँ — प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सुडान घोटालाका आरोपी शम्भु भारतीलाई पक्राउ गरेको छ । ललितपुरको भैंसेपाटीबाट उनलाई पक्राउ गरेको हो । 

प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी दिपक रेग्मीले भारतीलाई अदालत बुझाइने बताए।


‍२०७३ सालमा आफूमाथि महाभियोग लागेको दिन प्रधानन्यायाधीश सुशीला कार्कीसहित न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले सुडान भ्रष्टाचार मुद्दामाथि फैसला गर्दै तीन पूर्व प्रहरी महानिरीक्षकहरुलाई कैद र जरिवाना सजाय सुनाएकोथियाे।

सर्वोच्च अदालतले सुडानको डार्फरस्थित संयुक्त राष्ट्रसंघीय मिसनमा जाने बन्दोबस्तीका सामान खरिदमा भ्रष्टाचार भएको ठहर्‍याउँदै पूर्व प्रहरी महानिरीक्षक ओमविक्रम राणामाथि २ वर्ष कैद र ५० हजार जरिवाना सुनाएको हो।

सर्वोच्चले पूर्व प्रहरी महानिरिक्षक द्वय हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीमाथि १ वर्ष कैद र ४० हजार जरिवना साथै पूर्व एआईजीद्वय श्यामसिंह थापा र दिपकसिंह थाङदेनले १ वर्ष कैद र ४० हजार जरिवाना ठहर्‍याएको हो। सर्वोच्चले डीआईजी दिपककुमार श्रेष्ठ र एसएसपी रविप्रताप राणालाई ६ महिना कैद र ३० हजार जरिवाना तोकेको छ।

सुडान मिसन र भ्रष्टाचारमुद्दा
सुडानमा खटिने प्रहरीको मिसनका लागि आवश्यक बन्दोबस्तीका सामान खरिदका क्रममा भएको भ्रष्टाचार प्रकरणको छानविनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुल २८ करोड ८१ लाख मागदावी गरी विशेष अदालतमा भ्रष्टाचारमुद्दा दायर गरेको थियो।

२०६८ साल जेठ २४ गते दायर मुद्दामा तीन प्रहरी पूर्व–महानिरिक्षक सहित ३४ प्रहरी अधिकारी, ठेकेदार एस्यूर्ड रिस्क लिमिटेडका मिचेर राडार र उनका नेपाल प्रतिनिधि शम्भु भारती विरुद्ध मुद्दा दायर गरेको थियो।

उक्त मुद्दामा विशेष अदालतले २८ करोड ४० लाख रुपैंया भ्रष्टाचार भएको फैसला भएको थियो। विशेष अदालतका तत्कालि अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको फैसलाले ठेकेदार, उनका प्रतिनिधी र तीन पूर्व प्रहरी प्रमुखबाट एक अर्ब १४ करोड रुपैंया असुल्नुपर्ने ठहर गरेको थियो।

विशेष अदालतले कम्पनीका डाइरेक्टर माइकल राईडरलाई दुई वर्ष कैद र ५६ करोड ८० लाख जरिवाना, ठेकेदारका प्रतिनिधी शम्भु भारतीलाई एक वर्ष कैद र १४ करोड २० लाख जरिवाना हुने ठहर गरेको थियो। साथै पूर्व–प्रहरी प्रमुखहरु ओमविक्रम राणालाई १७ करोड ६ लाख, हेमबहादुर गुरुङलाई ६ करोड ४८ लाख र रमेश चन्द ठकुरीलाई ४ करोड ८५ लाख रुपैंया जरिवाना गर्ने फैसला भएको थियो। तीनजना पूर्व–प्रहरी प्रमुखहरुमाथि दुई/दुई वर्ष कैद सजायको फैसला पनि भएको थियो।

विशेष अदालतको आदेशमा चित्त नबुझाएर तीनजना पूर्व–प्रहरी प्रमुख हेमबहादुर गुरुङ, ओमविक्रम राणा र रमेश चन्द ठकुरी सर्वोच्च अदालत गएका हुन्। उनीहरुसँगै ठेकेदार कम्पनीका नेपाल प्रतिनिधी शम्भु भारतीले पनि पुनरावेदन हालेका छन्।

उनीहरुले पदाधिकारीविहीन अवस्थामा तत्कालीन सचिव भगवतीप्रसाद काफ्ले नेतृत्वको अख्तियारलाई मुद्दा दायर गर्ने अधिकार नहुने, उनको अधिकार अनुसन्धान अधिकृतमा प्रत्यारोपण गरिएकाले नियमसंगत नभएको, प्रहरीको कल्याणकारी कोष गैरसरकारी संख्या भएकाले त्यहाँको भ्रष्टाचार विशेष अदालतले हेर्न नमिल्ने जस्ता आधार देखाई आफूहरुलाई कसुरदार ठहर गर्न नमिल्ने दाबी गरेका थिए।

यो पनि पढ्नुहाेस् ........
यो हो सुडान घोटला काण्ड

प्रकाशित : भाद्र १३, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्

उत्खननका नाममा खोला दोहन

जनप्रतिनिधि निकटका व्यक्तिले ठेक्का लिएर जथाभाबी उत्खनन गर्ने क्रम बढ्यो
विप्लव महर्जन

सल्यान — विभिन्न संरचना निर्माणको कामले तीव्रता पाएसँगै जिल्लाका विभिन्न खोलाबाट मनपरी ढुंगागिट्टी र बालुवा उत्खनन गर्ने क्रम बढदै गएको छ । ढुंगागिट्टी र बालुवा उत्खननमा मनपरि बढदै गएपछि शारदा, बन्गाड, त्रिवेणीलगायत खोला जोखिममा परेका छन् ।

व्यक्तिका नाममा रहेको जग्गा भन्दै शारदा खोला नजिकैको बगरमा बालुवा निकालेर चाल्दै स्थानीय । तस्बिर : विप्लव/कान्तिपुर

जथाभावी उत्खननले ४ हजार हेक्टर बढी खेतीयोग्य जग्गामा सिँचाइ समस्या भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाका विभिन्न खोलामा जथाभावी डोजर प्रयोग गर्ने क्रम बढेको स्थानीय बताउँछन् । जथाभावी डोजर प्रयोग गर्दा खोलाको गहिराइ बढदै गएपछि शारदा, बन्गाड, त्रिवेणीलगायत खोला आसपासको खेतीयोग्य जग्गा मासिने क्रम बढेको छ । जथाभावी उत्खननका कारण खोला आसपासको क्षेत्रमा सिँचाइ समस्या बढदै गएको कृषि प्राविधिक बताउँछन् ।

असार, साउन र भदौ महिनामा खोलाबाट बालुवा र ढुंगागिट्टी निकाल्न नपाइने भए पनि सरकारी निकायको मिलोमतोमा नियम उल्लंघन भइरहेको त्रिवेणी गाउँपालिकास्थित रिखेबगरका पूर्णबहादुर ओलीले बताए । ‘स्थानीय तहले ठेक्का लगाउन थालेपछि मनपरी बढ्यो,’ उनले भने, ‘जनप्रतिनिधि निकटका व्यक्तिले ठेक्का लिएर जथाभावी उत्खनन गर्ने क्रम बढिरहेको छ ।’

ठेक्काको नाममा अवैध तरिकाले गिट्टी, बालुवा निकाल्दा शारदा खोलाको गहिराइ बर्सेनि १ मिटर बढेको काभ्राका दलबहादुर बुढाले बताए । ‘अहिले हिउँदमा पानी पातलिँदै जाने समस्या देखिएको छ,’ उनले भने, ‘शारदा खोलामा क्रमशः पानीको सतह घटदै गएपछि सिँचाइ र खानेपानी मुहानमा समस्या देखिन थालेको छ ।’

जथाभावी उत्खननले खेतीमा ठूलो असर पर्न थालेको स्थानीय धनबहादुर थापाले बताए । ‘शारदा खोलाको बीच भागमा डोजर लिएर बालुवा निकाल्दा एक सातासम्म रिखेबगरमा ट्र्याक्टरको आधा भाग पुरिएको थियो,’ उनले भने ‘वर्षाको समयमा खोला चारैतिरबाट एकै देखिने भएकाले तर्न खोज्दा डुबेर ज्यान जाने खतरा उत्तिकै छ ।’

गत वर्षदेखि त्रिवेणी गाउँपालिकास्थित पिमखोलामा बालुवा ‘वासिङ’ उद्योग सञ्चालन गर्दा जोखिम बढेको छ । ‘खोलाको पानी मुहानबाटै उद्योगतिर लगिँदा सिँचाइ गर्न समस्या भयो,’ स्थानीय गीता खडकाले भनिन्, ‘उद्योग बस्ती हुँदा गाउँ र खोला जोखिममा परेका छन् ।’ स्थानीय भीमबहादुर थापाले उत्खनन बढदै गएपछि शारदा खोलामा माछालगायत जलचर घटदै गएको जनाए ।

‘२०३८ सम्म जिल्ला पञ्चायतले खोलामा माछा मार्ने ठेक्का खोल्थ्यो, अहिले खोलामा माछै छैनन्,’ उनले भने, ‘जथाभावी दोहन बढेपछि पानीको स्रोत सुक्दै गएको छ ।’ व्यवसायीले भने नियमअनुसार नदीजन्य पदार्थ उत्खनन गर्दै आएको दाबी गरिरहेका छन् । शारदा खोलानजिकै बागेश्वरी एग्रिगेट उद्योग सञ्चालन गर्दै आएका कमानसिंह डाँगीले बगर र स्थानीयका खेतबाट ढुंगागिट्टी किनेर ल्याई धुलाउँदै आएको दाबी गरे । ‘नियमअनुसार उद्योग सञ्चालन गरिरहेको छु,’ उनले भने, ‘स्थानीय प्रशासनले पटकपटक अनुगमन गरिसकेको छ, नत्र किन उद्योग चलाउन दिन्थ्यो होला र ?’

स्थानीय स्रोतलाई बढाउन वातावरणीय प्रभाव मूल्यांकन (आइईई) गरेर टेन्डर गरी गिट्टी बालुवा निकाल्ने प्रावधान रहे पनि स्थानीय तहले व्यवस्थापन गर्न नसक्दा दोहन बढदै गएको जिल्ला समन्वय समिति प्रमुख केशबहादुर विष्टले बताए । खानी तथा खोलाजन्य बस्तु उत्खनन, अनुगमन तथा नियन्त्रण समितिमार्फत जिल्लाभर अनुगमन भइरहेको उनको भनाइ छ ।
शारदा खोला बीचबाट बालुवा निकाल्दै स्थानीय। तस्बिर : विप्लव/कान्तिपुर

प्रमुख जिल्ला अधिकारी चूडाराज न्यौपानेले पनि अनुगमनलाई तीव्रता दिइएको जनाए । कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले स्थानीय स्रोत व्यवस्थापनका लागि टेन्डर आहवान भइरहेको बताए । उनले २ वर्षदेखि ठेकेदारमार्फत उत्खननो काम गरिरहेको जानकारी दिए । ‘पर्यावरणमा असर नपर्नेगरी उत्खननको ठेक्का दिने हाम्रो योजना छ,’ उनले भने, ‘हाम्रो ध्यान नपुग्दा नदीजन्य पदार्थको उत्खननमा जथभाबी बढै गइरहेको छ, आगामी दिनमा अनुगमनको कामलाई तीव्रता दिइनेछ ।’

सिँचाइ समस्या बढ्दै
कृषि ज्ञान केन्द्रका अनुसार अवैध उत्खननका कारण सिँचाइ समस्या बढदै जाँदा बर्सेनि उत्पादन घटदै गइरहेको छ । खोलामा डोजर चलाउँदा गहिराइ घट्न गइ सिँचाइ समस्या चुलिएको कृषि प्राविधिकको भनाइ छ ।

शिवरथ, कोटबारा र बाफुखोलाको बीचमा पर्ने लौराबाङदेखि दम्दवालीसम्म फैलिएको शारदा खोलाको लम्बाइ ८० किमि छ । २ नगर र ४ गाउँपालिका छोएको शारदाले २ हजार ५ सय हेक्टर खेत सिञ्चित गर्दै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाको सबैभन्दा उर्वर भूमि शारदा खोला आसपासको क्षेत्र हो । शारदा खोला आसपासको क्षेत्रमा जिल्लामा उत्पादित खाद्यान्नको ८० प्रतिशत अन्न उत्पादन हुने गरेको केन्द्रले जनाएको छ ।

प्रकाशित : भाद्र १३, २०७६ १०:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्