डेंगु रोक्न एकसाथ अभियान

कान्तिपुर संवाददाता

सुनसरी — धरानमा महामारीका रूपमा फैलिएको डेंगु नियन्त्रणका लागि उपमहानगरका २० वटै वडामा एक साथ सर्च एन्ड डिस्ट्रोय अभियान सञ्चालन गरिने भएको छ ।

धरानमा डेंगु नियन्त्रणका लागि धूवाँ छरिँदै ।   तस्बिर : कान्तिपुर

वडा १३ अध्यक्ष नेत्र काफ्लेको संयोजकत्वमा गठन भएको समितिले सबै वडामा एक साथ अभियान तीव्र चलाउने निर्णय गरेको हो ।

धरानमा रहेका ३ सय ६१ टोल विकास समितिलाई सक्रिय बनाउँदै अन्य विभिन्न संघसंस्थालाई परिचालन गर्न लागिएको संयोजक काफ्लेले बताए । ‘जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश र संघीय सरकारले कुनै ठोस योजना र नीति नबनाएकाले समितिले आफैं ६ महिनासम्म अभियान चलाउने निर्णय गरेको छ ।’ उनलेआफ्ना घर–आँगनमा रहेका गमला, प्लास्टिक बोतल, टायर, पानी राखिएको खुला ट्यांकीको व्यवस्थापन नगर्नेलाई कारबाही गर्ने निर्णय गरिएको बताए ।

वैशाख अन्तिम साताबाट फैलिएको डेंगु संक्रमण नियन्त्रणका लागि ठोस पहल हुन सकेको छैन । प्रदेश, संघीय र स्वास्थ्य मन्त्रालय मातहतका उच्च अधिकारीहरू स्थलगत भ्रमण गर्ने र तथ्यांक संकलन गर्ने काममा मात्र सक्रिय छन् । उनीहरू ठोस रणनीतिबिना आउने, छलफल गर्ने र फर्कने गरेका छन् ।

वैशाख २९ गतेयतादेखि धरानमा मात्र ४ हजार ५ सय जना संक्रमित भइसकेका छन् । तर यो संख्या बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर हस्पिटलमा पुगेर रगत परीक्षण गर्दा डेंगु भएकाको मात्र हो । वास्तविक तथ्यांक यो भन्दा दोब्बर रहेको अनुमान छ । घरैपिच्छे डेंगुका बिरामी छन् ।

धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलले भने, ‘धरानमा फैलिएको डेंगु उपमहानगरपालिका एक्लैले नियन्त्रण गर्न नसक्ने अवस्था आएपछि हामीले इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखा, प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय, संघीय सरकारको स्वास्थ्य मन्त्रालय, धनकुटाको स्वास्थ्य कार्यालय, जिल्ला स्वास्थ्य कार्यालयलाई पत्र लेखेर एकीकृत रूपमा आर्थिक, प्राविधिक र दक्ष जनशक्ति तत्काल पठाउन अनुरोध गरेका थियौं । तर कतैबाट पनि जवाफ आएन,’ उनले भने ।

लमजुङमा पनि बिरामी
लमजुङमा पनि डेंगुका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईंले २ जनामा डेंगु देखिएको जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उनीहरूमा डेंगुदेखिएको विवरण पठाएको उनले बताए । जिल्लामा यसको परीक्षण गर्ने ल्याब मेसिन छैन ।

प्रकाशित : भाद्र १३, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्

सौराहा क्षेत्रका घरको मापदण्ड तोकिँदै

कान्तिपुर संवाददाता

चितवन — रत्ननगर नगरपालिकाले पर्यटकीय क्षेत्र सौराहाका होटल र आवासीय घरको मापदण्ड तोक्ने भएको छ । रत्ननगरको वडा ५, ६, ७ र ८ मा सौराहा क्षेत्र पर्छ । 

यहाँ बर्सेनि देशविदेशका लाखौं पर्यटक पुग्ने गर्छन् । यी क्षेत्रमा बन्ने होटल र आवासीय घरको रंग, स्वरूप र तला निर्धारण गरेर नक्सा पास गर्ने योजना नगरपालिकाको रहेको मेयर नारायण वनले बताए ।

नगरपालिकाले सोरोकारवालासँग यसे विषयमा छलफल सुरु गरेको छ । ‘यो विशेष खालको पर्यटकीय क्षेत्र भएका कारण हामीले घरको एकै प्रकारको रंग होस्, निश्चित तलाभन्दा बढीका घर नबनून् भनेर मापदण्ड बनाउन खोज्दै छौं,’ बिहीबार रौराहामा आयोजित कार्यक्रममा मेयर वनले भने, ‘हामीले तय गरेर कार्यान्वयनमा ल्याउनेभन्दा पनि सबै सरोकारवालाको सुझावलाई ख्याल गरेर अगाडि बढ्ने छौं ।’

चितवन निकुञ्जको १० प्रवेशद्वारमध्ये सौराहा सबैभन्दा धेरै पर्यटक छिर्ने मुख्य प्रवेशद्वार हो । यस्तो ठाउँमा बन्ने घरको रंग वन जंगलसँगै मेल खाने हुनुपर्ने मेयर वनले बताए । त्यस्तै गरी अढाइ तलाभन्दा माथिका घर बनाउनु उपयुक्त नहुने नगरपालिकाको मान्यता रहेको मेयर वनको भनाइ छ । सौराहा क्षेत्रमा आदिवासी थारू समुदायको बाक्लो बसोबास छ ।

‘जंगलसँग मेल खाने माटो रंग वा च्याउ रंगले घरहरू पोतियोस् । यो ठाउँलाई कंक्रिटको जंगल बनाउनेभन्दा पनि थारू समुदायका घरसँग मिल्दो स्वरूपका होटल र आवासीय घरहरू बनून् । यहाँ घुम्न आउने पर्यटकलाई सौराहा भने गज्जब रहेछ भन्ने परोस्,’ मेयर वनले भने । घर अगाडि फलामे भर्‍याङ र अन्य संरचनाहरू राख्दा नराम्रो देखिने भएका कारण त्यसलाई हटाउन खोजेको उनले बताए ।

क्षेत्रीय होटल संघ, चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले सौराहाका लागि भवन मापदण्ड आवश्यक भएको बताए । तर कार्यान्वयन गर्न सकिने हिसाबबाट मापदण्ड बन्नुपर्ने उनको सुझाव छ । ‘नगरपालिकाले यहाँका घरहरू सबैको एउटै रंग होस् र त्यो माटो रंगको होस् भनेको छ । यो ठीक छ तर अरू मापदण्ड कार्यान्वयनमा लैजान के कति सम्भव छ, त्यसलाई हेरेर बनाउनुपर्छ,’ घिमिरेले आग्रह गरे ।

सौराहामा अहिले १ सय १५ होटल रहेको उनले जानकारी दिए । अढाइ तलाभन्दा माथिका होटल पनि सौराहा क्षेत्रमा प्रशस्तै बनेका छन् ।

नयाँलाई मापदण्ड लगाउँदा पुरानाहरूलाई के गर्ने भन्ने प्रश्न उठ्ने पर्यटन व्यवसायी बताउँछन् । पर्यटन व्यवसायी र संरक्षणकर्मीसमेत रहेका चितवन निकुञ्जको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगाना दुईवटा कुराबाट मापदण्डको सुरुवात हुनुपर्ने बताउँछन् । ‘सौराहामा जेजसरी घर होटल बनेका छन्, नयाँ मापदण्ड बनाएर कार्यान्वयनमा जाँदा जटिलता आउन सक्छ,’ ढुंगानाले भने ।

प्रकाशित : भाद्र १३, २०७६ ०९:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्