२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बेपत्ता परिवारको पीडा : १७ वर्षदेखि सन्तानको पर्खाइ

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३, पिपलाडीकी अस्तनी चौधरीलाई अहिले पनि गाउँमा नयाँ किशोरी आएको देख्दा आफ्नै छोरी हो कि भन्ने लाग्छ । १७ वर्षदेखि उनी छोरी मधुलाई पर्खिरहेकी छन् ।

बेपत्ता परिवारको पीडा : १७ वर्षदेखि सन्तानको पर्खाइ

‘बाटो हेर्दाहेर्दै १७ वर्ष बिते, आँखा पनि नदेख्ने भइयो, अब त छोरी आउने आस मर्दै गयो,’ उनी भन्छिन्, ‘छोरीको प्राण छैन जस्तो लाग्न थालेको छ ।’

४ छोरीमध्ये मधु जेठी हुन् । जेठी भएका कारण घरपरिवारको उनीमाथि ठूलो आस थियो । हाँस्ने, खेल्ने उमेरमै बेपत्ता भएपछि त्यो सबै निराशामा परिणत भएको छ ।

०५९ भदौ २७ मा अस्तनी भर्खर उठेर आगो बाल्ने तयारीमा थिइन् । मधु, उनका जेठो बुवाको छोरा सुन्दर र मामाको छोरा प्रकाश तीनै जना एउटै कोठामा सुतेका थिए । बिहान संयुक्त सुरक्षा गस्ती आएर सिधै घरभित्र पस्यो । तीनै जनालाई लिएर गयो । माओवादीमा लागेको भन्दै उनीहरूलाई लगेको अस्तनीले बताइन् ।

‘घरबाट लगेपछि गाउँ डुलाएर १० बजेतिर इलाका प्रहरी कार्यालय झलारी पुर्‍याएको खबर पायौं,’ अस्तनीले भनिन्, ‘हामी त्यहाँ पुग्दा कसैलाई नल्याएको भन्दै उल्टै पिट्न आए ।’ त्यसपछि कहाँ लगे र के गरे भन्ने कतैबाट जानकारी नपाएको उनले बताइन् ।

सुन्दरका दाइ नरेन्द्र चौधरी माओवादीमै थिए ।

त्यतिबेला उनी कैलालीका विभिन्न गाउँमा संगठन निर्माणमा थिए । उनकै खोजीमा नरेन्द्रको घर तथा गाउँमा सुरक्षाकर्मी पटकपटक आइरहन्थे । मधु, सुन्दर र प्रकाश बसेको कोठामा माओवादीले गाउने गीत लेखेको कागज भेटेका कारण उनीहरूलाई नियन्त्रणमा लिइएको हुन सक्ने नरेन्द्र बताउँछन् ।

त्यतिबेला सुन्दर ७ मा, मधु ६ र प्रकाश ४ कक्षामा पढ्थे । सुन्दरका दाइ कलङ पनि माओवादी भएकै आरोपमा कारागारमा थिए । उनलाई १७ महिनापछि छाडिएको थियो । ‘त्यतिबेला छोरालाई मात्रै लगेनन्, पटक–पटक घरमा आएर विभिन्न बहानामा दुःख दिने गर्थे,’ सुन्दरकी आमा सीतापति चौधरी भन्छिन्, ‘एउटा छोरो माओवादीमै थियो, अर्को जेलमा । कान्छो पनि आर्मीले बेपत्ता पारेपछि घरवारै सकिएजस्तो लागेको थियो ।’

सुरक्षाकर्मीले पटक–पटक आएर दुःख दिने गरेका कारण उनी पनि घरमा बस्न छाडेकी थिइन् । कहिले माइती, कहिले आफन्तको घरमा गएर दिन काटेको उनले बिर्सेकी छैनन् । ‘अरू छोरा त सबै फर्के तर सुन्दर फर्केन,’ बेपत्ता छोराको तस्बिर देखाउँदै सीतापतिले भनिन्, ‘ऊसँगैका अरूका छोरा ठुल्ठूला भइसके, कोही नोकरी गरिरहेका छन् । मेरो छोरा जिउँदो छ कि छैन पनि थाहा छैन ।’

उनलाई अब छोरा फर्किने आस छैन । घरबाट लगेदेखि केही थाहा नपाएकाले त्यतिबेलै मारेको हुन सक्ने उनको अनुमान छ । माओवादीमै लागेका सीतापतिका जेठा छोरा नरेन्द्र अहिले वडाध्यक्ष भएका छन् । उनले पनि भाइको खोजीका लागि सक्दो प्रयास गरे । न्यायका लागि द्वन्द्वपीडित समाजबाट समेत विभिन्न तहमा दबाब सिर्जना गरे तर घरैबाट बेपत्ता भएका तीन भाइबहिनीको कुनै पत्तो नलागेको उनी बताउँछन् ।

सशस्त्र द्वन्द्व चरम उत्कर्षमा पुगेका बेला गाउँका ३ जनाको सुरक्षाकर्मीले हत्यासमेत गरेका थिए । कृष्णपुर नगरपालिका ६ बालुवाफाँटाका सनम चौधरीलाई बुवाको अनुहार पनि राम्ररी याद छैन । सनम १०/११ वर्षको हुँदा उनका बुवालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर बेपत्ता पारेको हो ।

छिमेकी गाउँ मौरीफाँटामा घर निर्माण गर्ने मिस्त्रीको काम गर्नेबेला उनका बुवा तारानाथ चौधरीलाई ०५८ मा सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । इलाका प्रहरी कार्यालय कृष्णपुरबाट गएको टोलीले माओवादीको आरोपमा उनलाई लगेको सनमले बताए ।

‘हामी स्कुल गएका थियौं, साँझ अबेरसम्म बुवा फर्केनन्, खोजी गर्दा प्रहरीले लिएर गएको रहेछ’, सनमले भने, ‘अहिलेसम्म सास वा लासको पत्तो छैन ।’ तीन भाइमध्ये सनम जेठा हुन् । सबै भाइको उमेरमा २/३ वर्ष अन्तर छ । आमा राम विदेशनी चौधरीले ज्याला मजदुरी गरेर तीनै छोराको पालनपोषण गरेकी हुन् ।

सशस्त्र द्वन्द्वका बेला जिल्लामा सबैभन्दा बढी व्यक्ति बेपत्ता भएका ठाउँमध्ये कृष्णपुर पनि एक हो । कृष्णपुरबाट त्यतिबेला ९ जना बेपत्ता भएका थिए । तीमध्ये पनि अधिकांश बालुवाफाँटाकै छन् । यसैगरी बेलौरी नगरपालिकाको श्रीपुर क्षेत्रबाट पनि ९ जना बेपत्ता भएका छन् ।

प्रकाशित : भाद्र १३, २०७६ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?