१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

मन्दिरको जग्गा हडप्नेलाई कारबाही माग

जग्गा भाडामा दिने निर्णय र सिफारिस गर्ने तत्कालीन मालपोत र विराटनगर उपमहानगरका कर्मचारीलाई पनि सजाय हुनुपर्ने आवाज उठेको छ
देवनारायण साह

मोरङ — प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले विराटनगर ३ कञ्चनबारीस्थित सत्यनारायण मन्दिरको जग्गा हडप्नेलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । संसद् बैठकमा बिहीबार उनले प्रदेश सरकारसँग यस्तो माग गरेका हुन् ।

मन्दिरको जग्गा हडप्नेलाई कारबाही माग

स्थानीय शितलु मडर राजवंशीले कञ्चनबारीस्थित उक्त मन्दिरको नाममा कसैले बेचबिखन गर्न नमिल्ने गरी दानपत्र गरेको दुई अर्बभन्दा बढी मूल्यबराबरको ७ बिघा १० कट्ठा १७ धुर जग्गा भूमाफियाले भाडाको नाममा हडपेर बिक्री गरिरहेकालाई तत्काल छानबिन गर्न उनले माग गरे ।

‘सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व भएको विराटनगर महानगरपालिकाकै मन्दिरको जग्गा भाडामा दिने खेलमा संलग्न भएको अवस्था छ,’ उनले भने, ‘मालपोत र महानगरपालिकाको सिफारिसमा विराटनगर बल्लभप्रसाद अधिकारीले सरकारका तत्कालीन उच्च पदस्थ कर्मचारीको साथ लिएर मन्दिरको जग्गा हडप्ने खेल खेलेका हुन् ।’

जग्गा भाडामा दिन निर्णय र सिफारिस गर्ने तत्कालीन मालपोत र विराटनगर उपमहानगरका कर्मचारीलाई समेत छानबिन गरी कारबाहीको दायरामा ल्याउन कार्कीले माग गरे । यी यस्ता खेल भइरहँदा पनि जिल्ला प्रशासन कार्यालय मोरङ मूकदर्शक भएर बसेकोप्रति उनले आपत्ति जनाए ।

मन्दिरलाई जग्गा दानपत्र गर्ने शितलु मडरका धर्मपुत्र गणेशी राजवंशीसँग विराटनगरका बल्लभप्रसादले पहिले मन्दिरका सम्पूर्ण चल, अचल सम्पत्ति ९९ वर्षका लागि भाडामा लिएको र पछि आफैं मन्दिरको अध्यक्ष भएर जग्गा हडप्ने खेल खेलेको उनले संसद्मा बताए ।

कञ्चनबारीस्थित कोसी राजमार्गसँगै जोडिएको आयल निगम क्षेत्रीय कार्यालयको दक्षिणपट्टिको कित्ता नम्बर ४ को ४३ को २ बिघा १७ कट्ठा, कित्ता नम्बर ३ (ख) २२६ को २ बिघा ३ कट्ठा ४ धुर, ३(ख) २१८३ को १ बिघा ५ कट्ठा १३ धुर, मन्दिर भएको कित्ता नम्बर २७ को ५ कट्ठा जग्गा बल्लभप्रसादले ९९ वर्षका लागि भाडामा लिई प्लटिङ गरेर पुनः भाडामा लगाएको कार्कीले बताए ।

‘उक्त जग्गा यहाँका उद्योगी व्यवसायी, उद्योग संगठन मोरङ, विराटनगर महानगरले समेत ९९ वर्षका लागि भाडामा लिएकोले तत्काल छानबिन गर्नुपर्छ,’ उनले भने, ‘जुन निकायले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्ने हो त्यही निकायले गलत कार्यमा सहभागी भएको अवस्था छ ।’

उद्योग संगठन मोरङलाई औद्योगिक प्रदर्शनी स्थल निर्माण गर्न ९५ वर्षका मन्दिरको जग्गा भाडा दिने प्रक्रियामा सामान्य प्रशासन तथा संघीय मामिलामन्त्री लालबाबु पण्डित र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले समेत हस्ताक्षर गरेर सहमति जनाएका छन् ।

राजमार्गसँगै जोडिएको औषधि व्यवस्था विभाग जाने सडकभन्दा दक्षिणपट्टिको खाली जग्गा कित्ता नम्बर ३(ख) २२६ को २ बिघा ३ कट्ठा ४ धुरमध्ये १ बिघा ७ कट्ठा ९५ वर्षका लागि भाडामा लिएर महानगरपालिकाले भ्यु टावर बनाउन शिलान्यास गरेको छ । उक्त जग्गामध्ये पूर्वबाट र औषधि व्यवस्था विभागको पश्चिमपट्टिको कित्ता नम्बर ३(ख) २१८३ को १ बिघा ५ कट्ठा १३ धुरमा गरी दुई बिघा जग्गामा उद्योग संगठन मोरङले औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि शिलान्यास गरेको छ ।

मन्दिरको नाममा रहेको ३(ख)को २२४ नम्बरको कित्ताको १ बिघा जग्गा बाल सुधारगृह सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई दिएको छ । २०६३ भदौ १७ गते सत्यनारायण मन्दिरका संरक्षक तथा अध्यक्ष गणेशी राजवंशी र जिल्ला प्रशासन कार्यालय मोरङका तत्कालीन प्रमुख मोदराज डोटेलबीच उक्त जग्गा बाल सुधारगृह स्थापनाका लागि हकभोग गर्न दिने सम्झौता भएको थियो ।

बाल सुधारगृह सञ्चालनका लागि मन्दिरसँग लिएको जग्गामध्ये केही जग्गामा महिला तथा बालबालिका कार्यालयको भवन निर्माण गरेर सञ्चालन गर्दै आएको थियो तर उक्त कार्यालय अहिले खारेज भइसकेको छ । कार्यालय खारेज भएसँगै घर र जग्गासमेत मन्दिरका नाममा आउनुपर्नेमा प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले निवास राखिएको छ ।

२०३० मंसिर १३ गते तत्कालीन कञ्चनबारी गाउँ पञ्चायत वडा ३ का निःसन्तान ६१ वर्षीय शितलु मडर राजवंशीले खरिद, बिक्री नहुने गरी उक्त जग्गा सत्यनारायण मन्दिरको नाममा रजिस्ट्रेसन पास गरिदिएका थिए ।

राजवंशी उत्थान समिति मोरङका अध्यक्ष प्रदीप विश्वासले राजवंशी समुदायको धार्मिक स्थल हडप्ने खेल गर्नेलाई तत्काल छानबिनको दायरामा ल्याई मन्दिर समिति खारेज गर्न माग गरे । उनले मन्दिरको बहुमूल्य सम्पत्ति कौडीको मूल्यमा लिएर हडप्ने खेल गर्ने र त्यसमा सहमति जनाउने सबैलाई कारबाहीको दायरामा ल्याउन माग गरे ।

प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले मन्दिरको जग्गामा खेल भएकोबारे जानकारी प्राप्त भएको बताए । ‘जिल्ला प्रशासन मोरङमा मन्दिर सञ्चालक समिति दर्ता हुनु अगाडि नै मन्दिरको जग्गा भाडामा लिइएको छ,’ उनले भने, ‘मन्दिर समितिमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारी रहेकाले हामीले पटकपटक पत्राचार गरेर बोलाए पनि आएका छैनन् ।’

प्रकाशित : भाद्र १३, २०७६ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?