कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यालय जोगाउनै सकस

अर्जुन राजवंशी

बिर्तामोड — बस्ती बाक्लै छ । बालबालिका पनि पर्याप्त छन् तर शिवसताक्षी नगरपालिकास्थित झरना प्राथमिक विद्यालय दुई वर्षदेखि बन्द छ । कारण हो– विद्यार्थी अभाव । तर नगरपालिका विद्यालय बन्द भएको स्वीकार गर्दैन ।

विद्यालय जोगाउनै सकस

विद्यालयमा कक्षा स्थगित मात्र गरिएको नगर शिक्षा अधिकृत सुरेन्द्र दाहालले बताए । विद्यालयमा अहिले ८–१० जना बालबालिका भेला पारेर बालविकास कक्षा सञ्चालन गर्ने गरिएको छ ।


‘विद्यार्थी अभाव भएपछि विद्यालय बन्द भएको हो,’ पूर्वप्रधानाध्यापक मणिप्रसाद दाहालले भने । उनले विद्यालयको अवस्था राम्रो नभएकाले विद्यार्थी संख्या बढ्न नसकेको बताए । विद्यालय बन्द भएपछि त्यहाँका शिक्षक अन्यत्र गएका छन् । यस्तै समस्या शिवसताक्षी ९ स्थित सतासी प्राथमिक विद्यालयले पनि झेल्दै आएको छ । केही वर्षयता विद्यालयमा विद्यार्थी संख्या लगातार घटदो छ । गत वर्ष ५२ जना अध्ययनरत विद्यालयमा यस वर्ष ४३ जना मात्र छन् । उनीहरू पनि नियमित छैनन् । अधिकांश गरिब, विपन्न वर्गका छन् ।


कुन विद्यार्थीले कहिले विद्यालय छाड्ने हुन्, पत्तो नहुने प्रधानाध्यापक ज्ञानेन्द्रकुमार विकले बताए । ‘भरपर्दा विद्यार्थी नै छैनन् । बुबाआमा नभएका, अर्काको घरमा काम गर्न बसेका, कसैको सहयोगमा विद्यालय आउँदै गरेका विद्यार्थी मात्र यहाँ पढ्छन्,’ उनले भने, ‘स्थायी विद्यार्थी भर्ना हुन आउँदैनन् । त्यसकारण सधैं अभाव झेल्नुपरेको हो ।’


विद्यालय ०२१ सालमा स्थापित विद्यालयसँग १७ कट्ठा जमिन छ । खेलमैदान, भवन, कक्षाकोठा र शिक्षक पनि पर्याप्त छ । आसपास धेरै विद्यालय भएकाले त्यहाँ अभाव भएको विकको दाबी छ । ‘३ सय मिटरभित्र दुईवटा बोर्डिङ र एउटा सामुदायिक स्कुल छ । हुने खानेले नानीहरूलाई बोर्डिङ पठाउँछन् । बोर्डिङ पठाउन नसक्नेले हाईस्कुलमा पठाउँछन्,’ उनले भने । दिवा खाजाको व्यवस्था नभएकाले पनि विद्यार्थी आकर्षित गर्न नसकेको विकको भनाइ छ ।


‘०५२ सालतिर यो स्कुलमा ८ सय विद्यार्थी थिए । भर्ना लिन परीक्षा लिनुपर्थ्यो,’ शिक्षक रामदेव साहले भने, ‘यही स्कुल अहिले विद्यार्थी नभएर जबर्जस्ती चलिरहेको छ ।’ उनले विद्यालय टिकाइराख्न नगरपालिकाले विशेष सहयोग गर्नुपर्ने माग गरे । ‘नगरपालिकाले जिम्मेवारी लिएर केही परिवर्तन गरे अझै पनि विद्यार्थी संख्या बढाउन सकिन्छ,’ उनले भने ।


नगरपालिकाले वास्ता नगरेकै कारण विद्यालयप्रति आकर्षण बढाउन नसकिएको प्रअ विकले बताए । विद्यार्थी अभाव झेल्दै आएका विद्यालयका लागि ठोस निर्णय लिन नसकिएको नगर शिक्षा अधिकृत दाहालले बताए । उनले भने, ‘हामी अहिले नगरको

स्वीकृत दरबन्दी कति हो भनेर पर्खिरहेका छौं ।


माथिबाट स्पष्ट भएर आएपछि समस्या झेल्दै गरेका विद्यालयको हकमा कस्तो निर्णय गर्ने भन्ने निष्कर्षमा पुग्छौं ।’ उनले समस्यामा परेका विद्यालय जोगाउन स्थानीय जुट्नुपर्ने धारणा राखे ।

प्रकाशित : भाद्र १३, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?