कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

कामदार भिसामा विद्यार्थी 

दुर्गालाल केसी

दाङ — घोराहीस्थित ब्राइट फ्युचर स्कुल अफ होटल म्यानेजमेन्ट नामक संस्थाले इन्टर्नसिप भन्दै विद्यार्थीलाई कामदारका रूपमा विदेश पठाउने गरेको पाइएको छ । स्कुलले विद्यार्थीसँग म्यानपावर कम्पनीले जस्तै महँगो शुल्क असुलिरहेको छ । 

कामदार भिसामा विद्यार्थी 

प्रतिविद्यार्थी ३ लाख १० हजार रुपैयाँका दरले उठाइएको छ । तर स्कुलले एक पैसा पनि नतिरेको र केही भए सबै जिम्मेवारी आफैंले लिने भन्दै विद्यार्थीलाई कागज गराई भिडियोसमेत बनाएको छ । भिडियो हेर्दा विद्यार्थी निकै डराएर रेकर्ड गराएजस्तो देखिन्छ ।

संस्थाले हाल रिम इभेन्ट म्यानेजमेन्ट कम्पनीमार्फत सात विद्यार्थीलाई बहराइन पठाउने तयारी थालेको छ । सुरुमा इन्टर्नसिप भनिएकामा कामदारको भिसा आएपछि सशंकित भएको घोराहीका सिजनराज गिरीले बताए । ‘कलेजलाई ३ लाख १० हजार रुपैयाँ तिरेका छौं तर केही पैसा नतिरेको कागज र भिडियो बनाइएको छ,’ उनले भने, ‘वर्किङ भिसा भन्ने थाहा थिएन । पछि मात्रै थाहा भयो ।’

संस्थाले बहराइनमा दुई वर्ष बस्न मिल्ने भने पनि भिसामा १२ महिना मात्रै लेखिएको गिरीले बताए । ‘कलेजले नै त्यत्रो पैसा बुझ्यो । केही परे आफैं बेहोर्ने कागज र भिडियो बनाएको छ । हाम्रो जिम्मेवारी कसले लिने भन्ने केही निश्चित छैन,’ उनले भने, ‘यस्तो अवस्थामा कसरी विदेश जाने ? इन्टर्नसिपमा जान खोजेको हो, कामदारका रूपमा होइन ।’

नौमहिने डिप्लोमा भनिएको उक्त कोर्सका लागि संस्थामै प्रतिविद्यार्थी १ लाख ४० हजार रुपैयाँ खर्चिइएको छ । इन्टर्नसिपका लागि स्कुललाई पैसा तिरेर बहराइन जान लागेका रुकुम त्रिवेणीका विद्यार्थी भूपेन्द्र ओलीले बताए । ‘स्कुललाई रकम तिरेर जान लागेको हो । पैसा नतिरेको भनी कागज गराइएको छ,’ उनले भने, ‘हामीले कुरा उठाएपछि केही फरक पर्दैन, त्यो कागज फाल्छौं भनेका छन् ।’

४० जना विद्यार्थीमध्ये पहिलो चरणमा बहराइन जानेमा गिरी र ओलीसहित रोल्पाका अर्जुन घर्ती मगर, भरतसिंह पुन, घोराहीका जंग रावत, आशिष चौधरी र सुशील डाँगी छन् । उनीहरू लामो समयदेखि काठमाडौंमा कोठा लिएर बसेका छन् ।

अब केही दिनमा उड्ने जानकारी पाएको उनीहरूले बताए । स्कुलले झुक्याएर कामदारका रूपमा पठाउन लागेको विद्यार्थी सिजनराज गिरीकी आमा ईश्वरी गिरीले बताइन् । ‘हामीले पढ्न पठाउने भनेको हो । कामदार होइन । अहिले त काम गर्न जाने भनेको छ,’ उनले भनिन्, ‘त्यति धेरै पैसा पनि लाग्दैन रे, स्कुलले धेरै पैसा लियो । दुःख पनि दिने भयो ।’ उनले पैसा फिर्ता माग्ने बताइन् ।

बहराइन जान स्कुललाई रकम तिराएर पनि 'नतिरेको र सबै जिम्मेवारी आफैंले लिने’ भनी विद्यार्थीलाई गराइएको कबुलियतनामा ।

उक्त स्कुलको वैधानिकतामा पनि प्रश्न उठेको छ । स्कुल कहाँ, कसरी दर्ता भएर सञ्चालन भएको छ भन्नेबारे केही थाहा नभएको घोराही उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख विनोद गौतमले बताए । ‘स्कुल खुलेको हामीलाई थाहा छैन । अब यसको वैधानिकताबारे खोजी हुन्छ,’ उनले भने, ‘यसरी विद्यार्थीबाट पैसा लिएर विदेश पठाउन पाइँदैन ।’

स्कुलका प्रिन्सिपल श्याम थापालाई धेरै पटक फोन गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । सुरुमा फोन उठाएनन् । पछि स्विच अफ गरिदिए । ल्यान्डलाइन नम्बरमा फोन गर्दा महिला कर्मचारीले ‘थापा सर व्यस्त भएकाले फोनमा आउन नसक्ने’ जानकारी दिइन् ।

स्कुलको साइनबोर्डमा राखिएका तीनवटा मोबाइल नम्बरमध्ये एउटा हाललाई बन्द गरिएको छ भन्छ भने अरू दुईवटा स्विच अफ छन् । काठमाडौंमा विद्यार्थी विदेश पठाउन कम्पनीका तर्फबाट सहजीकरण गरिरहेका सुमन धितालले धेरै पटक फोन गर्दा पनि उठाएनन् ।

प्रकाशित : भाद्र १३, २०७६ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?