कामदार भिसामा विद्यार्थी 

दुर्गालाल केसी

दाङ — घोराहीस्थित ब्राइट फ्युचर स्कुल अफ होटल म्यानेजमेन्ट नामक संस्थाले इन्टर्नसिप भन्दै विद्यार्थीलाई कामदारका रूपमा विदेश पठाउने गरेको पाइएको छ । स्कुलले विद्यार्थीसँग म्यानपावर कम्पनीले जस्तै महँगो शुल्क असुलिरहेको छ । 

दाङको घोराहीस्थित ब्राइट फ्युचर स्कुल अफ होटल म्यानेजमेन्ट  । तस्बिर : दुर्गालाल/कान्तिपुर

प्रतिविद्यार्थी ३ लाख १० हजार रुपैयाँका दरले उठाइएको छ । तर स्कुलले एक पैसा पनि नतिरेको रकेही भए सबै जिम्मेवारी आफैंले लिने भन्दै विद्यार्थीलाई कागज गराई भिडियोसमेत बनाएको छ । भिडियो हेर्दा विद्यार्थी निकै डराएर रेकर्ड गराएजस्तो देखिन्छ ।

संस्थाले हाल रिम इभेन्ट म्यानेजमेन्ट कम्पनीमार्फत सात विद्यार्थीलाई बहराइन पठाउने तयारी थालेको छ ।सुरुमा इन्टर्नसिप भनिएकामा कामदारको भिसा आएपछि सशंकित भएको घोराहीका सिजनराज गिरीले बताए । ‘कलेजलाई ३ लाख १० हजार रुपैयाँ तिरेका छौं तर केही पैसा नतिरेको कागज र भिडियो बनाइएको छ,’ उनले भने, ‘वर्किङ भिसा भन्ने थाहा थिएन । पछि मात्रै थाहा भयो ।’

संस्थाले बहराइनमा दुई वर्ष बस्न मिल्ने भने पनि भिसामा १२ महिना मात्रै लेखिएको गिरीले बताए । ‘कलेजले नै त्यत्रो पैसा बुझ्यो । केही परे आफैं बेहोर्ने कागज र भिडियो बनाएको छ । हाम्रो जिम्मेवारी कसले लिने भन्ने केही निश्चित छैन,’ उनले भने, ‘यस्तो अवस्थामा कसरी विदेश जाने ? इन्टर्नसिपमा जान खोजेको हो, कामदारका रूपमा होइन ।’

नौमहिने डिप्लोमा भनिएको उक्त कोर्सका लागि संस्थामै प्रतिविद्यार्थी १ लाख ४० हजार रुपैयाँ खर्चिइएको छ । इन्टर्नसिपका लागि स्कुललाई पैसा तिरेर बहराइन जान लागेका रुकुम त्रिवेणीका विद्यार्थी भूपेन्द्र ओलीले बताए । ‘स्कुललाई रकम तिरेर जान लागेको हो । पैसा नतिरेको भनी कागज गराइएको छ,’ उनले भने, ‘हामीले कुरा उठाएपछि केही फरक पर्दैन, त्यो कागज फाल्छौं भनेका छन् ।’

४० जना विद्यार्थीमध्ये पहिलो चरणमा बहराइन जानेमा गिरी र ओलीसहित रोल्पाका अर्जुन घर्ती मगर, भरतसिंह पुन, घोराहीका जंग रावत, आशिष चौधरी र सुशील डाँगी छन् । उनीहरू लामो समयदेखि काठमाडौंमा कोठा लिएर बसेका छन् ।

अब केही दिनमा उड्ने जानकारी पाएकोउनीहरूले बताए । स्कुलले झुक्याएर कामदारका रूपमा पठाउन लागेको विद्यार्थी सिजनराज गिरीकी आमा ईश्वरी गिरीले बताइन् । ‘हामीले पढ्न पठाउने भनेको हो । कामदार होइन । अहिले त काम गर्न जाने भनेको छ,’ उनले भनिन्, ‘त्यति धेरै पैसा पनि लाग्दैन रे, स्कुलले धेरै पैसा लियो । दुःख पनि दिने भयो ।’ उनले पैसा फिर्ता माग्ने बताइन् ।
बहराइन जान स्कुललाई रकम तिराएर पनि 'नतिरेको र सबै जिम्मेवारी आफैंले लिने’ भनी विद्यार्थीलाई गराइएको कबुलियतनामा।

उक्त स्कुलको वैधानिकतामा पनि प्रश्न उठेको छ । स्कुल कहाँ, कसरी दर्ता भएर सञ्चालन भएको छ भन्नेबारे केही थाहा नभएको घोराही उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख विनोद गौतमले बताए । ‘स्कुल खुलेको हामीलाई थाहा छैन । अब यसको वैधानिकताबारे खोजी हुन्छ,’ उनले भने, ‘यसरी विद्यार्थीबाट पैसा लिएर विदेश पठाउन पाइँदैन ।’

स्कुलका प्रिन्सिपल श्याम थापालाई धेरै पटक फोन गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । सुरुमा फोन उठाएनन् । पछि स्विच अफ गरिदिए । ल्यान्डलाइन नम्बरमा फोन गर्दा महिला कर्मचारीले ‘थापा सर व्यस्त भएकाले फोनमा आउन नसक्ने’ जानकारी दिइन् ।

स्कुलको साइनबोर्डमा राखिएका तीनवटा मोबाइल नम्बरमध्ये एउटा हाललाई बन्द गरिएको छ भन्छ भने अरू दुईवटा स्विच अफ छन् । काठमाडौंमा विद्यार्थी विदेश पठाउन कम्पनीका तर्फबाट सहजीकरण गरिरहेकासुमन धितालले धेरै पटक फोन गर्दा पनि उठाएनन् ।

प्रकाशित : भाद्र १३, २०७६ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्

फेरिँदै इनरुवा अस्पताल

विज्ञ चिकित्सकको प्रतीक्षामा स्थानीय
जितेन्द्र साह

सुनसरी — समर्पणका साथ काम गरे के हुन्न ? यसको उदाहरण हो, सुधारपथमा अग्रसर ८५ वर्ष पुरानो सुनसरीको इनरुवा अस्पताल । ५० शय्याको अस्पतालमा प्रसूति एकाइ, बहिरङ्ग, आकस्मिक कक्ष र प्रयोगशालामा अचेल बिरामी भभिभराउ हुन्छन् ।

सुनसरीको सदरमुकाम इनरुवास्थित जिल्ला अस्पतालमा पूर्जी कटाउँदै सेवाग्राही । यहाँ औषत २ सयले दैनिक उपचार सेवा लिइरहेका छन् । तस्बिर : जितेन्द्र/कान्तिपुर

डेढ वर्ष अघिसम्म स्थानीयले आधारभूत उपचार सेवाका लागि समेत सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान वा विराटनगरका अस्पतालमा पुग्नु पर्थ्यो । सामान्य प्रसूति सेवा मात्र यहाँ उपलब्ध थियो । तीन महिनादेखि यहाँ प्रसूतिसम्बन्धी जटिल शल्यक्रिया हुन थालेको छ ।

‘एसी, शुद्ध पानी, पंखा, राम्रा चिकित्सक र राम्रो सेवा दिने नर्स हुनुहुन्छ,’ सुनसरीको कोसी गाउँपालिका ३ की २० वर्षीया ललिता मेहताले भनिन्, ‘अपरेसन गरेर शिशु जन्माउनुपर्दा पहिलेपहिले यहाँका दिदीबहिनी विराटनगर वा धरान जानुपर्थ्यो ।’ चिकित्सकले तोकेको मितिभन्दा एक साता नाघिसकेपछि पनि शिशु नजन्मिएपछि मेहताको शल्यक्रिया गरी आमा र शिशुलाई बचाएको बरिष्ठ प्रसूति रोग विशेषज्ञ डा.बालकृष्ण शाहले बताए ।

चार वर्ष अगाडि यो अस्पतालमा कायम कामु मेडिकल सुपरिन्टेन्डेन्ट हुँदा डा शाहले नै ९ लाख रुपैयाँ बजेट निकासा गरी प्रसूति एकाइ खडा गरेका थिए । उनले आफ्नै नेतृत्वमा चार जनाको दक्ष टोली बनाई इनरुवा अस्पतालमा प्रसूतिसम्बन्धी शल्यक्रिया सुरु गरेका हुन् ।

अस्पतालमा यो सेवा सुरु भए यता ११ भदौसम्म २४ आमाले शल्यक्रियामार्फत शिशु जन्माएको डा.शाहले जानकारी दिए । यहाँ मासिक औषत १ सय ४६ जनाले सामान्य ढंगले शिशुलाई जन्म दिन्छन् ।

प्रदेश १ सरकारको मातहतमा यो अस्पताल सञ्चालित छ । तर नगरपालिका कार्यालय एवं स्थानीयले यसको स्तरवृद्धिलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । ‘प्रदेश सरकारको मुख ताकेर बस्दैनौं, यो हाम्रो अस्पताल हो, हामीले नै बनाउनु पर्छ,’ इनरुवाका मेयर राजन मेहताले भने, ‘सेवाग्राहीले ठिकसँग उपचार पाए/नपाएको बेलाबेलामा आफैं गएर हेर्छु ।’

उनले अस्पतालको प्रसूति विभागको तीन कक्षमा तीन एसी, दुई पंखा, टायल र औषधि उपलब्ध गराएका छन् । मेहताले नगरपालिकाकै बजेटबाट अस्पताललाई डेंगु किट उपलब्ध गराए । ‘सबै नागरिकको स्वास्थ्य बिमा र सुलभ उपचार मेरो प्रमुख लक्ष्य हो,’ उनले भने ।

ज्वरो र वान्ताका कारण ८ महिने शिशुलाई आकस्मिक कक्षमा भर्ना गरेका इनरुवा नगरपालिका–४ का काठमिस्त्री ४४ वर्षीय प्रदीप शर्माले पहिलेको तुलनामा अस्पताल सुध्रिएको र चिकित्सकले तत्परता देखाएको बताए । ‘बिमा गरेकाले उपचार खर्च लागेन,’ शर्माले भने, ‘सोचेभन्दा राम्रो सेवा पाएँ ।’

इनरुवा–२ की ४५ वर्षीया झुमा पोखरेलले अस्पतालले सुरु गरेको सुधार प्रयासले निरन्तरता पाउनु पर्ने बताइन् । उनी रक्तचाप जचाउन महिनामा एक पटक यहाँ आउँछिन् । ‘दरबन्दी अनुरूपको विशेषज्ञ चिकित्सक नभएर अझैं पनि अधिकांश सामान्य उपचारका लागि मात्र यहाँ आउँछन्,’ उनले भनिन्, ‘स्वास्थ्य बिमा गराए पनि अति आवश्यक औषधि पाइन्न, किन्नु पर्छ, यतातिर पनि अस्पतालको ध्यान जानुपर्छ ।’

पेटकी बिरामी श्रीमतीलाई लिएर अस्पताल आएका इनरुवा–३ का सुमन राईले ओपीडी र इमरजेन्सी कक्षमा चिकित्सक एवं स्थास्थ्यकर्मीको बाक्लै उपस्थिति देखिएको बताए । ‘तर, हड्डी रोग विशेषज्ञ नहुँदा ठूला दुर्घटनामा हातखुट्टा भाँचिएकालाई अन्यत्र नै पठाउँछन्,’ उनले भने ।

अस्पतालमा दैनिक औषत २ सय बिरामी आउँछन् । तीमध्ये ६५ सेवाग्राहीले प्रयोगशालाको सेवा लिएका हुन्छन् । अस्पतालमा असारमा मात्रै कुकुर, बाँदर र बिरालोले टोकेर १ सय ६० जना उपचारका लागि आएका थिए । आकस्मिक कक्षमा कार्यरत स्वास्थ्य सहायक गुणानन्द झाले सबैभन्दा बढी कुकुरले टोकेर आउने गरेको बताए ।

‘यो अस्पताल रेबिज उपचारको केन्द्र नै हो,’ झाले भने, ‘दिनको ४/५ जना आउँछन् ।’ सर्पले टोकेर आएका ३४ जनालाई गत वर्ष र चार जनालाई यस वर्ष बचाइएको उनले जानकारी दिए ।

दरबन्दी अनुरूप विशेषज्ञ चिकित्सक आए बिरामीको संख्या निःसन्देह चार गुणाले बढ्ने अस्पतालका मेडिकल रेकर्ड अधिकृत लोकेन्द्र आचार्यले बताए । अस्पतालमा मेसुको दरबन्दी भए पनि निमित्तले काम चलाइएको छ । सरकारी दरबन्दी भए पनि बालरोग विशेषज्ञ करारमा कार्यरत छन् ।

अस्पतालमा शल्यक्रिया, हड्डी, मानसिक रोग, बरिष्ठ एनेस्थेसियालाजिस्ट, फिजिसियन, अल्ट्रासाउन्ड, मेडिकल अधिकृत, फिजियोथेरापी, बरिष्ठ नर्सिङ अधिकृत, दाँत रोग, बायो मेडिकल टेक्निसियन र एनेस्थेसिया सहायकको दरबन्दी खाली छ । ३० जनाको दरबन्दीमा १३ पद रिक्त छन् ।

अस्पतालले ६ एमबीबीएस चिकित्सक, दुई डेन्टल सर्जन र बरिष्ठ ल्याब प्राविधिक करारमा राखेको छ । अस्पताल विकास समितिले ५ स्वास्थ्यकर्मी, ८ प्रशासनिक कर्मचारी र २ कार्यालय सहायक नियुक्त गरेको छ । यो बाहेक उसले स्वास्थ्य प्राविधिकर कार्यालय सहयोगी गरी २४ जना स्वयंसेवी कर्मचारी छन् ।

प्रयोगशालमा आधुनिक उपकरण भए पनि दक्ष जनशक्ति नहुँदा हर्मोनसम्बन्धी परीक्षण हुन नसकिरहेको आचार्यले प्रष्टयाए । उनले भने, ‘जसरी भए पनि विज्ञहरू झिकाउने प्रयासमा प्रदेश र संघीय सरकारको सरोकारवाला मन्त्रालयमा धाइरहेका छौं ।’

निमित मेसु बिना शाक्यले प्रसूति विभागमा शल्यक्रिया र प्रयोगशालाको आधुनिकीकरणबाट अस्पतालमा स्तरोन्नतिको शुभारम्भ भइसकेको बताइन् । ‘सरकारसँग लिखित एवं मौखिक रूपमा दरबन्दी अनुसार विज्ञ चिकित्सक पठाउन निरन्तर तागेता गरिरहेका छौं,’ उनले भनिन्, ‘विशेषज्ञ चिकित्सकको आगमनसँगै अस्पतालले पुरैकाँचुली फेर्नेछ ।’

प्रकाशित : भाद्र १३, २०७६ १०:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्