कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नेपाल भ्रमण वर्ष–२०२० : रारामा बढ्दै चहलपहल

मुगु / सुर्खेत — कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारालाई लक्षित गरी नेपाल भ्रमण वर्ष २०२० को तयारी सुरु गरिएको छ । रारा राष्ट्रिय निकुञ्ज र कर्णाली क्षेत्र पर्यटन प्रवर्द्धन समितिले त्यसका लागि आवश्यक तयारी सुरु गरिएको जनाएका छन् । 

नेपाल भ्रमण वर्ष–२०२० : रारामा बढ्दै चहलपहल

भ्रमण वर्षलाई लक्षित गरी ताल वरिपरि बाटो सुधार गरिएको छ भने काठे पुलको मर्मतलाई तीव्रता दिइएको छ । त्यस्तै रारामा सूचना केन्द्र स्थापना गरिएको निकुञ्जले जनाएको छ ।


निकुञ्जका अनुसार सल्लेरी, मिलीचौर र ताल्चामा ५ शौचालय निर्माण गरिएको छ । ताल्चा, तली र मिलीचौरमा पर्यटक विश्रामस्थल र मचान निर्माण गरिएको निकुञ्जका अधिकृत लालबहादुर भण्डारीले बताए । ‘रारा वरिपरिको क्षेत्रलाई सफा बनाउन साप्ताहिक सरसफाइ अभियान सुरु गरिसकेका छौं,’ उनले भने, ‘ताल क्षेत्रमा ४ रबरको डुंगा थप गरिएको छ ।’ उनका अनुसार डुंगा थपिएपछि ८० जना पर्यटकले एकैसाथ रारा सयर गर्न पाउने भएका छन् ।


पर्यटकलाई लक्षित गर्दै सडक र हवाई यातायात सेवा प्रभावकारी बनाउन स्थानीय प्रशासनले पहल थालेको छ । भ्रमण वर्षकै लागि हवाई भाडा घटाउन पहल गर्ने र सडकको सुधारमा जोड दिइएको समितिका सदस्य देवीकृष्ण रोकायाले बताए । ‘पर्यटकलाई लक्षित गरी निकुञ्ज वरिपरि होटल र कटेज विस्तार गर्ने योजना बढाइएको छ,’ उनले भने, ‘पुराना होटलमा सुधार थालिएको छ ।’


१० लाख पर्यटक भित्र्याउने लक्ष्य

कर्णाली प्रदेश सरकारले भ्रमण वर्षका लागि विभिन्न तयारी सुरु गरेको छ । कर्णालीमा १० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित विभिन्न योजना अगाडि सारिएको प्रदेश सरकारले जनाएको छ ।


प्रदेश सरकारसँगै पर्यटन प्रवर्द्धनका समितिले प्रचारप्रसारलाई तीव्रता दिएको हो । उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका अनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संरक्षकत्वमा पर्यटन प्रवर्द्धन समिति गठन गरिएको हो । पर्यटनमन्त्री नन्दबहादुर बुढा ५ सदस्यीय समिति गठन गरिएको प्रदेश सरकारले जनाएको छ । समितिले विभिन्न जिल्लाका गन्तव्यको फोटो, पम्प्लेट, भिडियोलगायत सामग्री सार्वजनिक स्थानमा प्रदर्शन गर्न थालेको छ ।


उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले विभिन्न पर्यटकीय गन्तव्यमा भौतिक पूर्वाधारको निमाणको काममा तीव्रता दिइने बताए । उनले काठमाडौंमा सरोकारवालासँग छलफल थालिएको जनाए । उनका अनुसार प्रदेशभरिका ४० गन्तव्यको अवलोकनको काम थालिएको छ । जिल्ला र पालिकास्तरमा पनि समिति गठन गरी आवश्यक पूर्वाधार निर्माणलगायतको कामलाई तिव्रता दिइनेछ,’ मन्त्री बुढाले भने, ‘स्थानीय, प्रदेश र संघीय सरकारको बजेट एकद्वार प्रणालीबाट खर्च गरी आवश्यक पूर्वाधार विकासमा जोड दिइनेछ ।’ उनले संघीय सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेकाले ५० प्रतिशत पर्यटकलाई कर्णाली भित्र्याउने योजना बनाइएको जनाए ।


मन्त्रालयका सचिव धीरेन्द्रकुमार प्रधानले काठमाडौंको छलफलमा पर्यटन प्रवर्द्धन समितिले विभिन्न कार्ययोजना पारित गरेका बताए । उनका अनुसार जतिसक्दो छिटो पर्यटकीय गन्तव्यको विकास गर्ने प्रदेश सरकारको तयारी छ । उनका अनुसार भ्रमण वर्षका लागि प्रदेश सरकारले ४० वटा गन्तव्य छनोट छ ।


सुर्खेतको काँक्रेविहार, बुलबुले ताल, पञ्चपुरी सर्किट र विद्यापुर, दैलेखमा राकम कर्णाली, पञ्चकोसी सर्किट, जाजरकोटमा भेरी नदी, नादाइगढ, कुशे ठाकुरजीको गढलगायत क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा छनोट गरिएको उनले जानकारी दिए । त्यस्तै जुम्लामा चन्दननाथ, गुठीचौर पाटन, पातारासी हिमाल, सिंजा भ्याली, कालिकोटमा पचालझरना, चुलीमालिका, कोट दरबार र पञ्चा दरबार, हुम्लामा लिमी भ्याली, रेलिङ बाराडेउ, दुधेदह र खार्पुनाथलाई गन्तव्य घोषणा गरिएको हो ।


मुगुको रारा, छायानाथ, सल्यानको कुपिण्डे, छायाक्षेत्र, खैराबाङ, रुकुम पश्चिममा सिस्ने हिमाल, स्यार्पु ताल, डिग्रे मन्दिरलगायत गन्तव्यको सूचीमा परेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार डोल्पाको अप्पर डोल्पा, शे फोक्सुन्डो, भिजेर, धो ताराप, त्रिपुरासुन्दरी र छलामष्टालाई उत्कृष्ट गन्तव्यमा समेटिएको छ ।

प्रकाशित : भाद्र १३, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?