सिलिगुडी–काठमाडौं बस सेवा 

व्यवसाय प्रभावित हुने भन्दै झापाका स्थानीय व्यवसायीद्वारा निर्णय फिर्ता लिन माग 

(काँकडभिट्टा) — सरकारले पर्यटन वर्षलाई लक्षित गरी काठमाडौं–सिलिगुडी बस सेवा सुरु गरेको छ । पूर्वी नाकाका व्यवसायीले भने सोझो बस सेवाको विरोध गरेका छन् । उनीहरूले स्थानीय व्यवसाय प्रभावित हुने भन्दै निर्णय फिर्ता लिन माग गरेका छन् । 

सोझो बस सेवाले स्थानीय यातायात, पर्यटन, होटललगायत व्यवसायमा प्रत्यक्ष असर पर्ने उनीहरूको तर्क छ । पूर्वोत्तर भारत र दार्जिलिङ भेगमा बसोवास गर्ने नेपालीभाषी पूर्वी नाका हुँदै नेपाल भित्रन्छन् । यहाँको व्यवसायमा थोरै भए पनि त्यसले टेवा पुगेको छ । सोझो बस सेवापछि सिलिगुडीबाटै उनीहरू बस चढ्नेछन् ।


झापा जिल्ला ट्राभल एजेन्ट संघका अध्यक्ष नीरबहादुर कार्कीका अनुसार वार्षिक हजारौं भारतीय पर्यटक नेपाल घुम्न आउँछन् । उनीहरूका कारण यातायात, पर्यटन, होटल तथा हवाई सेवा प्रदायक संस्थाले प्रत्यक्ष लाभ उठाइरहेका छन् । कार्की गुनासो पोख्छन््, ‘सिलिगुडीबाट सोझै बस चल्दा न होटल चल्छ, न हवाई न त अन्य व्यवसाय नै ।’


पाँच वर्षअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा भएको नेपाल–भारत मोटर भेइकल सञ्चालन सम्झौताबमोजिम सिलिगुडी–काठमाडौं बस सेवा सुरु भएको हो । यातायातमन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतका राजदूत मन्जिवसिंह पुरीले सोमबार साँझ काठमाडौंबाट संयुक्त रूपमा बस सेवा शुभारम्भ गरेका थिए ।


स्थानीय व्यवसायी डिल्लीराम घिमिरेले यो बस सेवा स्थानीय व्यवसायीको हितविपरीत रहेको बताए । उनले काठमाडौं–दिल्ली सोझो बस सेवा सञ्चालन भए पनि काठमाडौंले भारतका साना सहरसँग बस सेवा सञ्चालन गर्न नहुने तर्क राखे ।


सिलिगुडीबाट सञ्चालन हुने बस नेपाली बसको तुलनामा गुणस्तरीय हुनेछन् । एयरकन्डिसन हुनेछ । बसले १८ घण्टामा काठमाडौं पुर्‍याउने दाबी गरिएको छ । नेपाली २ हजार तिर्दा ६५० किमि लामो यात्रा तय गर्न सकिनेछ । निःशुल्क वाइफाई सुविधासमेत भएको र टिकट अनलाइनबाट काट्न सकिने जनाइएको छ ।

प्रकाशित : भाद्र १२, २०७६ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?