बायोमेडिकल प्रणालीमा स्वास्थ्य संस्था थप्न मलेसिया सहमत 

मलेसिया सुचारु गर्न बाटो खुल्यो : म्यानपावर 
होम कार्की

काठमाडौँ — मलेसिया सरकारले मापदण्ड पुगेका सुचीकृत स्वास्थ्य संस्थालाई अनुगमन तथा निरिक्षण गरी बायोमेडिकल प्रणालीमा समावेश गर्ने जनाउदै नेपाल सरकारलाई श्रम समझदारी पत्र अनुसार कामदार पठाउने प्रक्रियालाई सुचारु गर्न अनुरोध गरेको छ । 

बायोमेडिकल प्रणालीमा स्वास्थ्य संस्था थप्न मलेसिया सहमत 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ सय २२ स्वास्थ्य संस्थालाई सुचीकृत गरी गत साउन २१ गते पठाएको पत्रको जवाफ दिदै मलेसियाले निर्धारित मापदण्ड पुर्‍याउने संस्थाहरु थपिदैं लगिने वताएको हो । उसले नयाँ स्वास्थ्य संस्था छनोटको लागि सेवाप्रदायक संस्थामार्फत निर्धारित कार्यतालिकाअनुसार अनुगमन गर्ने जनाएको छ ।


मलेसियाले नेपालसहित श्रोत मुलुक देशहरुमा बायोमेडिकल प्रणाली सञ्चालन गर्न वेस्टिनेट बिएचडीलाई जिम्मा दिएको छ । यसअघि, सरकारले मलेसियाबाट प्राप्त स्वास्थ्य मापदण्ड र स्वास्थ्य परिक्षण निर्देशिका (एसओपी) पुरा गरेका ३६ सहित एकसय २२ वटा स्वास्थ्य संस्थाको प्रस्तावित सुची पठाएको थियो । ३६ वटा स्वास्थ्य संस्था भने यसअघि नै बायोमेडिकल प्रणालीमा जडित भएका थिए ।


मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियाको जवाफ ‘सकारात्मक’ भएको वताए । ‘यसले कामदार आपुर्ति प्रक्रियामा भएको गतिरोधलाई फुकाउन सहयोग पुर्‍याउने देखिन्छ,’ पाण्डेले कान्तिपुरसँग भने । गत कात्तिक १२ गते दुई देशवीचको संयुक्त प्राबिधिक समिति बैठकमा नेपालद्वारा तयार गरिएको प्रस्तावित स्वास्थ्य संस्थालाई निरिक्षण तथा अनुगमन गरी मलेसियाले छनोट गर्ने उल्लेख छ ।


राजदूत पाण्डेले भदौ २४ र २५ गते तय गरिएको संयुक्त कार्यदल समुहको बैठकमा थप छलफल हुने बताए । ‘बैठकअघि नै स्वास्थ्य संस्थाका बिषयमा मलेसियाको धारणा आएको छ । अब यो विवाद टुंगिनेतर्फ अगाडि बढेको देखिन्छ,’ उनले भने ।


सन् २०१५ मा मलेसियाले आफ्नो प्रक्रिया अनुसार छनोट गरेका ३७ वटा स्वास्थ्य संस्थामध्ये श्रम मन्त्रालयको बिशेषज्ञ टोली निरिक्षणमा पुग्दा एउटा स्वास्थ्य संस्था वन्द भएको थियो । त्यसलाई प्रस्तावित सुचीमा समावेश नगरी पठाएको थियो । यसलाई मलेसियाले स्वीकार गरेको छ ।


मलेसियाले ती ३७ स्वास्थ्य संस्था पनि काठमाडौंस्थित मलेसियन दूतावास र वेस्निेट एसडिएन. विएचडी कम्पनी कडा अनुगमनबाट छानिएको स्मरण गराउदै नयाँ संस्था पनि सोही प्रक्रिया अनुसार निरिक्षण तथा अनुगमन हुने जनाएको छ । ३६ वटा स्वास्थ्य संस्थाले गरेको कामदारको स्वास्थ्य परिक्षण प्रतिवेदनलाई मलेसिया सरकारको अध्यागमन विभागले स्वीकृति गर्दै आएको छ ।


बायोमेडिकल प्रणाली अनुसार उर्तिण भएको स्वास्थ्य परिक्षण प्रतिवेदन आएपछि मात्रै अध्यागमन बिभागले मलेसिया आउने कामदारको प्रवेश भिसा (कलिङ भिसा) जारी गर्छ ।


वैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष रोहन गुरुङले सरकारलाई मलेसिया सुचारु गर्नको लागि बाटो खुलेको वताए । ‘मलेसियाले मापदण्ड पुग्ने स्वास्थ्य संस्थालाई स्वीकार गर्ने भनेपछि अब सरकारले मलेसिया खोलेर विश्वासको बाताबरण वनाउनुपर्छ,’ संघका अध्यक्ष गुरुङले भने,‘नयाँ संस्था छनोट गरी प्रणालीमा जोड्न अझै समय लाग्छ । यता अनुगमन र निरिक्षण हुदै जान्छ । यी बिषयमा अल्झन नगरी कामदार पठाउने प्रक्रिया शुरु गर्दा हुन्छ ।’


उनले सुचीकृत नयाँ सस्थाको अनुगमन गराउनको लागि संघ र नेपाल स्वास्थ्य ब्यवसायी महासंघले सामुहिक पहल खेल्नुपर्ने वताए । ‘सरकारले नीतिगत ब्यबस्था गरेपछि बाँकी जिम्मेवारी सम्बन्धीत संस्थाहरुले पनि खेल्नुपर्छ,’ उनले भने ।


प्रकाशित : भाद्र १२, २०७६ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?