जेष्ठ नागरिकको हवाई भाडा छुटमा आनाकानी गर्नेलाई पाप लाग्छ : पर्यटनमन्त्री भट्टराई

प्रमिता ढकाल

भरतपुर — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पाप र धर्मको ख्याल राखेर भए पनि आन्तरिक हवाई उडानमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको घोषणा कार्यान्वयन गर्नुपर्ने बताएका छन् । 

जेष्ठ नागरिकको हवाई भाडा छुटमा आनाकानी गर्नेलाई पाप लाग्छ : पर्यटनमन्त्री भट्टराई

नवलपुरको हुप्सीकोटमा पर्यटन प्रवर्द्धन कार्यक्रममा सहभागी हुन आइपुगेका मन्त्री भट्टराईले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । यसैसाता पर्यटनमन्त्री भट्टराईले ७० वर्ष उमेर पुगेकाहरुलाई हवाई उडानमा ५० प्रतिशत छुटको घोषणा गरेका थिए ।


उनको घोषणा कार्यान्वयनमा आउनु अगावै निजी एयरलायन्स सञ्चालकहरुले विभिन्न टिप्पणी गरेको प्रसंग जोड्दै उनले भने ,‘उहाँहरु आफैले आएर यस्तो घोषणा गरेका छौं भन्नुहोला भन्ने आशा थियो आउनुभएन । तर सरकारले गरेको निर्णयमा पनि विभिन्न टिप्पणी आएका छन्, त्यसको म स्वागत नै गर्छु । उहाँहरुले पनि पाप र धर्मको ख्याल त राख्नुहोला नि ।’


भट्टराईले आफ्नो १४१ बुँदे कार्ययोजना सार्वजनिक गर्दै ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय कार्यान्वयन गर्नको लागि सरोकारवाला निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ३ महिनाभित्र लागू गर्न निर्देशन दिएका थिए । मन्त्री भट्टराईले निर्णय कार्यान्वयन भइ छाड्ने उनले दाबी गरेका छन् ।


नेपालको आन्तरिक हवाई भाडादर निकै महंगो भएको टिकाटिप्पणी आइरहेका बेला उनले भाडादर समायोजन गर्ने जिकिर गरे ।‘ हो भाडादर महंगो छ, पर्यटकका लागि त झनै मंहगो छ, जसको मारमा पर्यटन व्यवसाय परेको छ,’ उनले भने, ‘भाडादर समायोजन गर्ने तयारीमा छौं ।’


नेपाल भ्रमण वर्ष २०२० लाई हाउगुजीका रुपमा हेर्नु नपर्ने उनले बताए । ‘भ्रमण वर्षमा भित्र्याउने भनिएको २० लाख पर्यटकको लक्ष्य धेरै महत्वकांक्षी छैन,’ उनले भने, ‘लक्ष्य पूरा गर्न हामीलाई केवल ४/५ लाख पर्यटक बढाउनुपर्ने त हो ।’


नेपालमा हाल १० देखि १५ लाख पर्यटक वार्षिक भित्रिएको अवस्था रहेको उनले जोडे । पर्यटन वर्षलाई सफल बनाउन मन्त्रालयले अन्तराष्ट्रिय स्तरमा नेपालको प्रचारप्रसार र विमानस्थल सुधारलाई प्राथमिकतामा राखेको पर्यटनमन्त्री भट्टराईले बताएका छन् । निर्माणधीन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रिय विमानस्थलको काम द्रुत गतिमा अघि बढेको उनले बताए ।


तेस्रो पर्यटकीय गन्तव्य चितवनमा पनि विमानस्थल नै मुख्य समस्या रहेको भन्दै धावन मार्ग विस्तार र रात्रीकालीन उडान अनिवार्य आवश्यकता रहेको बताए । मन्त्री भट्टराईले विमानस्थलको टर्मिनल भवनलाई आधुनिक र व्यवसायिक बनाउँदै काठमाडौं बाहिरको वैकल्पिक डोमेस्टिक विमानस्थल बनाउने लक्ष्यका साथ काम अघि बढाइने दावी गरे ।


पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहालसहितको सर्वदलीय सर्वपक्षीय बैठक जिल्लामा नै राखेर काम अगाडि बढाउने उनको भनाई छ ।‘ विमानस्थल विस्तार गर्दा आउने सबै अवरोध हटाउने विकल्प हामीले देखिसकेका छौं,’ उनले भने, ‘पहिलो पहल स्थानीय तहबाट होस् भन्ने चाहन्छाैं ।'

प्रकाशित : भाद्र १२, २०७६ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?