२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

समाजवादी–राजपा एकता : आन्तरिक किचलोले ढिलाइ

कुलचन्द्र न्यौपाने

काठमाडौँ — वैचारिक र सांगठनिक मुद्दाबारे टुंगो लागे पनि राजपाले निर्णय लिन नसक्दा एकतामा ढिलाइ भएको निष्कर्ष समाजवादी पार्टीले निकालेको छ । बुधबार बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

समाजवादी–राजपा एकता : आन्तरिक किचलोले ढिलाइ

राजपाले भने निरन्तर छलफल जारी रहेको र कुनै पनि विषय टुंगो नलागेको दाबी गरेको छ । समाजवादीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले राजनीतिक र सांगठिनक सवालमा टुंगो लगाउनुपर्ने विषय बाँकी नरहेको धारणा बैठकमा राखेका थिए । ‘सबै कुरामा धेरै अघिदेखि निरन्तर छलफल चल्दै आएको हो, टुंगो लगाउनुपर्ने विषय बाँकी छैन,’ उनको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘राजपाले निर्णय लिनासाथ एकीकरण हुन्छ ।’

राजपा नेतृत्वमा ६ जना रहेकाले पनि निर्णय लिन समस्या परेको बुझाइ समाजवादीका नेताहरूको छ । महाधिवेशनअघि एकीकरण गर्ने/नगर्ने भन्ने विषयमा राजपाभित्र विवाद छ । अध्यक्षमण्डलका ६ नेतामा वर्तमान संयोजक राजकिशोर यादव र अनिल झा महाधिवेशनपछि मात्रै एकीकरण गर्ने पक्षमा छन् । महाधिवेशन आगामी कात्तिक अन्तिम साताका लागि तोकिएको छ ।

एकताको विषयमा छलफल गराउन संयोजक यादवले अध्यक्षमण्डलसँग परामर्श नगरी शुक्रबारका लागि राजनीतिक समितिको बैठक बोलाएपछि राजपाभित्र विवाद चुलिएको छ । तत्काल एकीकरणको पक्षमा नरहेका यादव र झालाई वार्ता प्रक्रियामा समेत सहभागी गराइएको छैन । गत शुक्रबार समाजवादी अध्यक्ष यादवको निवासमा भएको वार्तामा पनि उनीहरूलाई बोलाइन ।

एकीकरणका लागि राजपाले १५ बुँदे आधार प्रस्ताव राख्दासमेत उनीहरूलाई जानकारी दिइएको छैन । राजपाको आधार प्रस्तावमा सांगठनिक संरचनामा समान हैसियत हुनुपर्ने र केन्द्रीय समितिको पहिलो मर्यादामा महन्थ ठाकुरलाई राख्नुपर्ने उल्लेछ । संरचनामा बराबरी हैसियत दिन समाजवादी तयार देखिएको छ । नेतृत्वको सवाल भने टुंगो लगाउन बाँकी रहेको स्रोतले बतायो ।

ठाकुरलाई वरिष्ठ नेता मान्न तयार भए पनि कार्यकारिणी नेतृत्व दिन समाजवादीले मानिसकेको छैन । राजनीतिक मुद्दाको टुंगो महाधिवेशनबाट लगाउन दुवै पार्टी सहमत देखिएका छन् । समाजवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको राजनीतिक एजेन्डामा अडान लिएको छ ।

राजपा अहिलेकै संसदीय प्रणाली र मिश्रित निर्वाचन प्रणालीको पक्षमा छ । संघीयताका सवालमा दुवैको समान धारणा छ । राजनीतिक मुद्दालाई कार्यकारिणी तहको बैठकबाट समेत टुंगो लगाउन सकिने विकल्प समाजवादीले दिएको छ ।

राजपाले पार्टीको नाम राष्ट्रिय समाजवादी जनता पार्टी या समाजवादी जनता पार्टी नेपाल राख्नुपर्ने प्रस्ताव गरेको थियो । समाजवादीले ‘समाजवादी पार्टी’ मै सहमति खोज्ने नभए ‘राष्ट्रिय समाजवादी पार्टी’ मा लचिलो बन्ने संकेत दिएको छ । राजपाको चुनाव चिह्न र समाजवादीको झन्डामा सहमतिजस्तै छ ।

सरकारबाट बाहिरिने या नबाहिरिने भन्ने विषयमा पेचिलो छ । राजपाले एकीकरणअघि समाजवादीले सरकार छाड्नुपर्ने सर्त राखेको छ । सरकारको विषयमा समाजवादीभित्रै पनि दुई धार छन् । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सरकारबाट बाहिरिन जोड दिँदै आएका छन्, अध्यक्ष यादव तत्काल बाहिरिने पक्षमा छैनन् । समाजवादी सरकारमा रहँदा दुई तिहाइ पुग्ने र संविधान संशोधनमा सहज हुने बुझाइ उनको छ ।

राजपा अध्यक्षमण्डलका सदस्य शरदसिंह भण्डारीले महाधिवेशनअघि एकीकरण गर्नुपर्छ भन्नेमा दुवै पक्ष तयार भए पनि राजनीतिक र सांगठनिक विषय टुंगो नलागेको बताए । ‘अहिले कुनै पनि डकुमेन्ट आदानप्रदान र मुद्दाहरूमा औपचारिक छलफल भएको छैन,’ उनले भने, ‘एकता गर्नुपर्छ र वैकल्पिक शक्ति बनाउनुपर्छ भन्नेमा दुवै पक्ष सहमत छौं ।’

प्रकाशित : भाद्र १२, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?