कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नेपाल–भारत सीमा कार्यदल बैठक सुरु

घनश्याम खड्का

काठमाडौँ — नेपाल–भारत संयुक्त सीमा कार्यदलको छैटौं बैठक बुधबार भारतको देहरादूनमा सुरु भएको छ । बैठकमा दुवै देशका प्रतिनिधिले चालीस वर्षअघि सुरु भएको सीमांकनको कामलाई टुंगोमा पुर्‍याउनेबारे छलफल गर्नेछन् भने हालसम्म भएका कामको समीक्षा गर्नेछन् । 

नेपाल–भारत सीमा कार्यदल बैठक सुरु

नापी विभागका महानिर्देशक प्रकाश जोशीले नेतृत्व गरेको नेपाली टोलीमा परराष्ट्र मन्त्रालय र सशस्त्र प्रहरीका अधिकारी संलग्न रहेको खगोल तथा भूमापन महाशाखा प्रमुख निर्मल आचार्यले बताए । भारतीय पक्षको नेतृत्व भने सर्भे अफ इन्डियाका महानिर्देशक लेफ्टिनेन्ट जनरल गिरीश कुमारले गरेका छन् ।


नापी विभागका अनुसार तीन दिन चल्ने बैठकमा दशगजा क्षेत्रमा हालसम्म राखिएका ८ हजारभन्दा बढी जंगे पिलर र नापनक्सासम्बन्धी कामको मूल्यांकन हुनेछ भने बाँकी सीमांकनको काम कसरी अघि बढाउने भन्नेबारे सहमति खोजिनेछ ।


दशगजामा गाडिएका अधिकांश जंगे पिलर हराएको र नेपालको भूभाग अतिक्रमणमा परेको गुनासो उठेपछि दुवै देश पुनः सीमांकन गर्न सन् १९८० मै तयार भएका थिए । नापी विभागका निमित्त प्रमुखसमेत रहेका जोशीका अनुसार त्यसै बेलादेखि सुरु भएको सीमांकनको काम बीचमा आएर रोकिएको थियो ।


भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि सीमांकनको बाँकी काम सुचारु भएको हो । नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त आयोगको तेस्रो बैठकमा भारतीय टोलीको नेतृत्व गरेर काठमाडौं आएकी तत्कालीन विदेशमन्त्री सुषमा स्वराज सीमांकनको काम अघि बढाउन सहमत भएपछि संयुक्त सीमा कार्यदल गठन भएको थियो । कार्यदल बैठक हरेक वर्ष पालैपालो दुवै देशमा बस्दै आएको छ ।


नेपालका २२ जिल्ला भारतीय सीमासँग जोडिएका छन् । यी सबै जिल्लाका दशगजामा पाँच वर्षदेखि दुवै पक्षले मंसिरदेखि वर्षा नलागुन्जेल संयुक्त टोली खटाएर सीमास्तम्भ कायम गर्दै आएका छन् । सुनसरीदेखि झापासम्म एउटा टोली, चितवनदेखि सुनसरीसम्म अर्को टोली र नवलपरासीदेखि पश्चिमका जिल्लामा तेस्रो टोलीले संयुक्त रूपमा सीमास्तम्भ कायम गर्दै आएको छ ।


गत वर्ष काठमाडौंमा बसेको सीमा कार्यदलको पाँचौं बैठकले सीमास्तम्भमा जीपीएस संयन्त्र जडान गरी स्याटलाइटमार्फत निरीक्षण गर्न मिल्ने प्रविधिका बारेमा अनुसन्धान गर्ने सहमति गरेको थियो । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गत साता सरकारलाई सीमा सुरक्षा गर्न दिएको निर्देशनमा पनि स्याटलाइटमार्फत सीमा निरीक्षण गर्ने प्रबन्ध मिलाउन भनिएको थियो ।


सीमा कार्यदलको बैठक बस्नुअघि संसदीय समितिबाट पाएको निर्देशनलाई नेपाली पक्षले छलफलको एजेन्डामा समावेश गरेको परराष्ट्र स्रोतले बतायो । नदी सिमाना भएका ठाउँमा यसअघिका सहमतिअनुसार सीमा स्तम्भ कायम गर्नेबारे छैटौं बैठकले निर्णय लिनेछ ।

प्रकाशित : भाद्र १२, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?