चीनसँग बैठक निष्कर्षविहीन

छपाल लामा

हुम्ला — हुम्लासँग सीमा जोडिएको चीनको बुराङ काउन्टीमा बसेको दुई देशका सुरक्षा अधिकारीको सीमा सुरक्षा बैठक बिनानिष्कर्ष टुंगिएको छ । सुरक्षासम्बन्धी बैठकका विषयलाई लिपिबद्ध गर्नुपर्ने चिनियाँ पक्षको प्रस्ताव नेपाली पक्षले अस्वीकार गरेपछि बैठक निष्कर्षविहीन भएको हो ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईको नेतृत्वमा मंगलबार सिमकोटबाट नेपाली टोली हिल्सा नाका हुँदै बैठकस्थल पुगेको थियो । बुराङ काउन्टीको सेरास्थित सीमा प्रहरीचौकीमा मंगलबार २ घण्टा बैठक बसेको थियो ।


‘चिनियाँ टोलीले बैठकका विषयलाई लिपिबद्ध गर्ने प्रस्ताव राखे पनि नेपाल सरकारले हामीलाई त्यस्तो अधिकार नदिँदा समस्या भएको हो,’ प्रजिअ भट्टराईले भनिन्, ‘सीमा क्षेत्रमा सुरक्षासँग सम्बन्धित विषयमा छलफल गरी समस्या समाधान गर्ने हाम्रो योजना थियो । सबै कुरा लिखित रूपमा गरौं भनेपछि कुरा मिलेन ।’


करिब २ घण्टाको अनौपचारिक बसाइपछि दुवै टोली आआफ्नो बाटो लागेका थिए । चिनियाँ टोलीको नेतृत्व पुराङ काउन्टीका प्रशासनिक प्रमुख काउसीले गरेका थिए ।


हुम्लाको सीमा क्षेत्रमा हिल्सा मात्र औपचारिक रूपमा खोलिएको नाका हो । परम्परागत रूपमा ताँते, चुवाखोला, लिमी लाक्चालगायत नाका स्थानीयले प्रयोग गर्दै आएका छन् । यी नाका अवैध रूपमा मदिरा, जडीबुटी, काठ तस्करी हुने गरेको छ । यसको नियन्त्रणलाई दुवै देशका सुरक्षा अधिकारीले प्रमुख चुनौती ठान्दै आएका छन् ।


चिनियाँ पक्षले परम्परागत नाकामा मान्छेको आवतजावत रोक्न संयुक्त सुरक्षापोस्ट राख्नुपर्ने, तिब्बती नागरिकलाई निर्बाध रूपमा नेपाल हुँदै भारत जान रोक लगाउनुपर्ने, सीमामा हुने अनैतिक कार्य बन्द गर्नुपर्ने, हिल्सा नाकाबाट हुने सुन तस्करी नियन्त्रण गर्नुपर्नेलगायत एजेन्डामा लिखित सहमति खोजेको थियो । प्रजिअ भट्टराईले कुनै पनि विषयमा हस्ताक्षर गर्न मानिनन् ।


त्यसपछि नेपाली टोलीले आफ्नो तर्फबाट अघि सार्न खोजेका एजेन्डा पनि त्यत्तिकै थाती रहे । नेपाली टोलीले हुम्लावासीलाई सीमापासबिनै मानसरोवर जान दिइनुपर्ने, सीमा क्षेत्रका बासिन्दालाई निर्बाध रूपमा आवतजावत गर्न दिइनुपर्ने, अबैध मदिरा प्रवेशमा कडाइ गरिनुपर्नेलगायत विषयमा छलफल गर्न खोजेको थियो । विगतमा बैठक सौहार्दपूर्ण रूपमा सम्पन्न हुने गरेका थिए । बैठक सकिएपछि चिनियाँ टोलीले नेपाली टोलीलाई मानसरोवर भ्रमण गराउँथ्यो ।


बैठकपछि आफ्नो समस्या सम्बोधन होला भन्ने आशमा बसेका स्थानीय बैठक निष्कर्षविहीन भएपछि निराश भएका छन् । उनीहरूले सीमा समस्या समाधानका लागि सरकारले उच्चस्तरीय रूपमै पहल गर्नुपर्ने बताए । हिल्साका स्थानीय कार्मा तुडुप लामाले विशेष गरी हुम्लावासीलाई बिनारोकतोक मानसरोवर र तिब्बत जान दिइनुपर्ने बताए । उनका अनुसार पहिले निर्बाध रूपमा आवतजावत हुने गरे पनि १५ वर्षयता चीन सरकारले कडाइ गरेको छ । यसबाट भौगोलिक तथा सांस्कृतिक सम्बन्ध जोडिएका दुवै देशका जनता मर्कामा परेको उनले बताए ।


भेटिएन स्तम्भ

विगतका सीमा बैठकमा नेपाली पक्षले लिमी क्षेत्रमा हराएको ११ नम्बर स्तम्भलाई खोजी गरिनुपर्ने माग गर्दै आएको थियो । हुम्लाको सीमारेखामा मात्र १२ वटा स्तम्भ छन् । तीमध्ये नाम्खा गाउँपालिका वडा नं. ६ लिमिस्थित ११ नम्बर स्तम्भ हराएको वा भत्केको नेपालको भनाइ छ ।


२०७२ सालमा हुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सीमा बैठकमा उक्त स्तम्भको विषय उठाएका थिए । बैठकमा दुवै पक्ष मिलेर स्तम्भ खोजी गर्ने निर्णय भएको थियो । नाम्खा गाउँपालिका ६ का वडाध्यक्ष पाल्जोर तामाङले बैठकमा निर्णय भए पनि कुनै पहल नभएको बताए । ‘बैठकमा कुरा उठ्छ, खोजी गर्ने सहमति पनि हुन्छ,’ उनले भने, ‘बैठक सकिएपछि भने दुवै पक्षले बिर्सिन्छन् ।’

प्रकाशित : भाद्र १२, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?