कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ओसाकासँगै निगमका ९ रुट

सुरज कुँवर

काठमाडौँ — नेपाल वायुसेवा निगमको वाइडबडी विमान जापानको ओसाका उडेसँगै सातवटा मुलुकमा निगमका नौ वटा अन्तर्राष्ट्रिय रुट पुगेका छन् । जहाज अभाव लगायतका व्यवस्थापकीय कमजोरीका कारण निगमले ०६३ चैत २९ पछि ओसाका उडान स्थगन गरेको थियो ।

ओसाकासँगै निगमका ९ रुट

यसअघि निगमले ०५१ कात्तिक १३ गते काठमाडौंबाट चीनको सांघाईमा अवतरण गर्दै जापानका लागि (इन–डाइरेक्ट) उडान गरेको थियो ।


निगमको वाणिज्य विभागका निर्देशक टंकनिधि दाहालका अनुसार, पहिलो उडानमा टिकट खरिद गरेर जाने यात्रुको संख्या बुधबार साँझसम्म ९५ थियो । २० जना ट्राभल तथा सेल्स एजेन्टलाई सित्तैमा टिकट दिइएको छ । अन्य ३६ जनालाई निगमले निम्तो दिएकाले होटल लगायतको खर्च निगमको हुने निर्देशक दाहालले बताए ।


२ सय ७४ सिट क्षमता भएको वाइडबडी विमान काठमाडौंबाट उडेको करिब साढे ७ घण्टामा ओसाका पुग्ने समय हो । निगमले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान तालिका राखेको छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पहिलो उडान सकिएपछि अन्य उडानको यात्रु बुकिङ वृद्धि हुने बताए । उनले भने, ‘दसैं आसपासमा टिकट बुकिङ अत्यधिक देखिएको छ ।’

निगमले एकतर्फी भाडा ३६ हजार ९ सय ९९ रुपैयाँ कायम गरेको छ । दसैंअघिसम्मका लागि यो प्रवर्द्धनात्मक भाडादर हो । निगमका एक निर्देशकका अनुसार, वाइडबडी विमानमार्फत हुने काठमाडौं–ओसाका उडानमा प्रतिघण्टा कम्तीमा १६ लाख रुपैयाँ सञ्चालन खर्च लाग्नेछ । यसमा कम्तीमा ३५ प्रतिशत खर्च इन्धनको छ ।


'ज्येष्ठ नागरिकलाई छुट दिन सकिँदैन’

वायुसेवा सञ्चालक संघले ७० वर्षमाथिका नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिन नसकिने जनाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोमबार एकवर्षे कार्ययोजना सार्वजनिक गर्दै आन्तरिक उडानमा ज्येष्ठ नागरिकलाई छुट दिइने घोषणा गरेका थिए । यसबारे धारणासहित संघले मंगलबार मन्त्रालयमा जवाफीपत्र पठाएको अध्यक्ष पवित्र कार्कीले कान्तिपुरसँग बताए ।


‘पर्यटनमन्त्रीले हामीसँग सल्लाह नै नगरी यो कार्यक्रम ल्याउनुभएछ,’ यसबारे हामीले गरेको सदस्यहरूसँगको बैठकपछि ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिन सक्दैनौं भनेर लिखित विवरण पठाएका छौं,’ कार्कीले भने ।


संघले मंगलबारै पत्र मन्त्रालयमा दर्ता गराएको छ । भट्टराईले निजी वायुसेवा सञ्चालकहरूसँग समन्वय गर्दै तीन महिनाभित्र अध्ययन गरी यो लागू गर्ने घोषणा गरेका थिए । संघका १५ सदस्य वायुसेवा कम्पनीले पछिल्लो आर्थिक अवस्थासहित वायुसेवा कम्पनीको विस्तृत विवरण मन्त्रीलाई पठाएका हुन् ।

प्रकाशित : भाद्र १२, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?