कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान : तालाबन्दीका क्रममा तनाव

दुर्गालाल केसी

दाङ — घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको तालाबन्दी खोलिएको छ । प्रतिष्ठान बचाऔं अभियानले उपकुलपति डा. संगीता भण्डारीको राजीनामा माग गर्दै प्रशासनिक भवनका सबै कक्षका साथै मूल गेटमा बुधबार ताला लगाएको थियो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान : तालाबन्दीका क्रममा तनाव

अभियानका संयोजक विकिरण गौतम नेतृत्वको टोलीले कर्मचारीलाई बाहिर निकालेर ताला लगाएको हो ।


मूल गेटमा ताला लगाउने क्रममा प्रहरी र अभियानको टोलीबीच झडप भएको थियो । उपकुलपति भण्डारीले प्रतिष्ठानको हितमा काम गर्न नसकेको, चिकित्सकलाई काम गर्ने वातावरण नदिएको र स्वास्थ्य सेवा महँगो बनाएको भन्दै अभियानले आन्दोलन गरिरहेको छ । अभियानले आइतबार भण्डारीको राजीनामा माग गर्दै ज्ञापनपत्र पेस गरेको थियो । तालाबन्दीका क्रममा प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि हातपात भएको र ढोकाको सिसा फुटाइएको एसपी बेलबहादुर पाण्डेले बताए । प्रहरीले सबै ताला फुटाएर बुधबार नै प्रशासनिक भवन सञ्चालनमा ल्याइसकेको उनले जानकारी दिए ।

प्रतिष्ठानमा कार्यरत २३ चिकित्सकले काम गर्ने वातावरण बनाइदिन या राजीनामा स्वीकृत गर्न उपकुलपतिलाई आइतबार २४ घण्टे अल्टिमेटम दिएका थिए । आठ बुँदा पेस गर्दै उनीहरूले माग पूरा नहुँदासम्म इमर्जेन्सीबाहेकका स्वास्थ्य सेवा दिन नसक्ने बताएका थिए । आइतबार उपकुलपति भण्डारीले ९ चिकित्सकको करार भंग गरेकी थिइन् । त्यसमध्ये इन्टर्नसिपमा आएका पाँच जना काममा फर्किएका छन् । अन्य चिकित्सक काममा आएका छैनन् । त्यसले स्वास्थ्य सेवा प्रभावित भएको छ ।


नागरिक समाज, मानवअधिकार सन्जाल, पत्रकार महासंघलगायत संघसंस्थाले प्रेस विज्ञप्ती जारी गरी प्रतिष्ठानमा उत्पन्न समस्याप्रति गम्भीर भई नागरिकको सर्वसुलभ र सहज रूपमा स्वास्थ्य सेवा पाउने अधिकार सुरक्षित गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । उपकुलपति भण्डारीले भने गलत काम गर्ने चिकित्सकलाई कारबाही गर्न खोज्दा विरोध भएको बताएकी छन् ।


प्रकाशित : भाद्र ११, २०७६ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?