१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

राजपामा बैठक बोलाएको विषयमा तीव्र विवाद

संयोजक यादव भन्छन,‘महाधिवेशनको एजेण्डामा छलफल गर्न बैठक बोलाएको हो । 
कुलचन्द्र न्यौपाने

काठमाडौँ — राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले शुक्रबार बोलाएको राजनीतिक समितिको बैठकलाई लिएर पार्टीभित्र विवाद बढेको छ । अवैधानिक रुपमा बैठक बोलाएको भन्दै अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव र शरदसिंह भण्डारीले विरोध जनाएका छन् । उनीहरुले अध्यक्ष मण्डलको सहमति विपरीत बोलाइएको बैठक हुन नसक्ने बताएका छन् । 

राजपामा बैठक बोलाएको विषयमा तीव्र विवाद

यादवले बोलाएको बैठकलाई अध्यक्ष मण्डलका सदस्य अनिल झाको मात्रै समर्थन रहेको छ । समाजवादी पार्टीसँग एकीकरणको प्रकृया चलिरहेका बेला त्यसलाई बिथोल्ने नियतबाट राजनीतिक समितिको बैठक बोलाइएको चार अध्यक्षहरुको भनाई छ ।


यादव र झा पार्टीको महाधिवशेन अघि पार्टी एकीकरण गर्न नहुने पक्षमा छन् । अन्य नेताहरु तत्काल पार्टी एकीकरण गरेर एकता महाधिवेशन गर्नुपर्ने पक्षमा क्रियाशील छन् । ‘राजनीतिक समितिको बैठक आवश्यक पर्‍यो भने अध्यक्ष मण्डलमा रहेका ६ सदस्यको सहमतिबाट बोलाउने हो’ नेता भण्डारीले भने,‘तर उहाँलाई (राजकिशोर यादव) पार्टी अध्यक्ष नै हुँ भन्ने भ्रम भएछ क्यारे, उहाँको भूमिका निर्णय गर्ने होइन, संयोजन गर्ने मात्रै हो ।’


अवैधानिक रुपमा बोलाइएको बैठकको आवश्यकता र औचित्व समेत नभएकाले नबस्ने दाबी भण्डारीले गरे । ‘संयोजकलाई आफ्नो अधिकारको सीमानै थाहा भएनछ । उहाँलाई बैठकको संयोजन गर्ने मात्रै हो, निर्णय लिने अधिकार छैन, अनाधिकार रुपमा बोलाईएको बैठकको कुनै आवश्यकता र औचित्य समेत छैन’ भण्डारीले थपे,‘यो केटाकेटी काम भयो । अध्यक्षनै हुँ भन्ने भ्रम छ भने आजैबाट त्यस्तो भ्रम त्यागे हुन्छ ।’


तर, संयोजक यादवले भने पार्टीको संयोजकलाई बैठक बोलाउने अधिकार भएको बताए । अध्यक्ष मण्डलसँग सल्लाह नगरी बैठक बोलाउनु भएको हो भन्ने प्रश्नमा यादवको जवाफ थियो,‘छलफल बैठकमै हुने हो । पहिल्यै किन छलफल गर्नु ? जेमा छलफल गर्नुछ बैठकमा हुन्छ ।’


उनले समसामयिक राजनीतिक, पार्टीको महाधिवेशन, एकता प्रकृयालगायतका विषयमा छलफल गर्न बैठक डाकेको बताए । ‘बैठकमा मुख्य छलफल अधिवेशनसँगै केन्द्रित हुन्छ’ उनले थपे । पार्टीका महासचिव केशव झाले पार्टी एकीकरणको प्रकृयालाई विवादित बनाउन बैठक बोलाइएको भन्दै आपत्ति प्रकट गरे । ‘नियम र अधिकारविपरितको अभ्यास गरेर पार्टी संयोजकले तानशाह प्रवृति देखाउनु भएको छ’ झाले भने,‘पार्टीको मान्यता र प्रचलनलाई ख्याल नगरी बोलाईएको बैठक बस्न सक्दैन ।’

प्रकाशित : भाद्र ११, २०७६ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?