सुर्खेतमा बस दुर्घटना : तीनको मृत्यु, २७ घाइते

रासस

सुर्खेत — जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस आज बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगंगा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना४ख ९३१७ नंको बस अन्दाजी बिहान साढे ३ः०० बजे दुर्घटना हुँदा एकको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा कोहल्पुर मेडिकल कलेजमा मृत्यु भएको हो। मृतकमध्ये दुई महिला र एक पुरुष छन्।

त्यस्तै २७ यात्रु घाइते छन्। घाइतेहरुको भेरीगङ्गा नगरपालिकास्थित मेडिकल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले मृतकको सनाखत हुन बाँकी रहेको बताए। दुर्घटनाको कारण खुल्न नसके पनि तीव्रगतिका कारण हुनसक्ने प्रहरीको अनुमान छ।

प्रकाशित : भाद्र ११, २०७६ ०९:४८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कृषि कर्ममा रमाउँदै पूर्वसैनिक

सुम्निमा चाम्लिङ

धरान — मिहिनेत गर्न सके माटोमा सुन फलाउन सकिन्छ भन्ने भनाइ धरानका पूर्वब्रिटिस सैनिक ६५ वर्षीय पुण्यबहादुर राईको कर्मलाई हेर्दा प्रस्ट हुन्छ । उनले धरान–२० विष्णुपादुका जाने बाटोमा बायिङ बंगुरपालन तथा कृषि फार्म सञ्चालन गर्दै आएका छन् । 

उनले चाहेको भए पेन्सन खाँदैआफ्नो परिवारसँग जीवन बिताउन सक्थे । जीवनमा बाँचुन्जेल केही गर्नुपर्छ भन्ने सोचका उनलाई यसै बस्न दिएन । धरान– ८ सिद्धार्थ मार्गमा रहेको घरबाट बिहानै फार्म पुग्नु र साँझ काम सकाएपछि घर फर्कनु उनको दैनिकी हो । यही फार्मबाट हाल उनले मासिक लाखौं रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।

पेन्सनपश्चात् उनी कामको सिलसिलामा ब्रुनाई, अफगानिस्तानलगायत विभिन्न देशमा समेत पुगे । नेपालमा कृषि क्षेत्रमा लगानी गर्ने उनको सोच थियो ।त्यसैले हङकङमा कार्यरत हुँदाकृषि तालिम लिएका थिए । यस्तै, ब्रुनाईमा रहँदासमेत उनले माछासम्बन्धी ६
हप्ता विज्ञबाट तालिम लिने मौकापाए ।

पल्टनमा रहँदा पाँच वर्षइन्जिनियर सल्लाहकारका रूपमा काम गरेको समेत अनुभव रहेको छ । ब्रिटिस सेनामा कार्यरत भएकाले उनी अंग्रेजी भाषामा समेत राम्रो दख्खल राख्छन् । विदेशमा रहँदासमेत पुस्तक तथा इन्टरनेटको माध्यमबाट कृषि क्षेत्रसम्बन्धी जानकारी लिइरहन्थे ।

अन्ततः विदेशमा सिकेको कुरा आफ्नो ठाउँमा आएर व्यवहारमा उतार्ने लक्ष्यअनुसार सन् २००८ मा उनी स्वदेश फर्किए । सुरुमा उनले आफ्नै घरबाट १५ बंगुरबाट व्यवसाय सुरु गरेका थिए । व्यवसाय गर्ने क्रममा उनको ११ कट्ठा जमिनमा पाँच जनाको समूह मिलेर बंगुर फार्म सञ्चालन गर्ने योजना बन्यो । बंगुरको पाठा र खोर बनाउँदा ८ लाख रुपैयाँ बढी खर्च भएको थियो ।

लगानी गर्न नसक्ने भन्दै साथीहरूले सो व्यवसाय केही समयमा छाडिदिए । ४२ वटा बंगुरहरू नोक्सानीमा बेच्न परेको थियो । फार्ममा रहेको १ वटा बंगुर माउबाट पुनः व्यक्तिगत व्यवसाय सुरु गरे । हाल सोही बंगुरबाट १ सयभन्दा बढी माउ बंगुर रहेको छ । सो फार्ममा प्रत्येक महिना २ सयवटा बंगुरका बच्चा उत्पादन हुने गर्छन् । दैनिक १० देखि १५ वटा पाठा बिक्री गर्ने गरेको राईले बताए ।

स्थानीयहरूलाई प्रतिपाठा ५ हजार ५ सयमा बेच्ने गरेका छन् । थोक बंगुर व्यावसायीलाई २ हजार ५ सयदेखि ३ हजार ५ सयमा बिक्री गर्छन् । फार्ममा धरानदेखि बाहिरका व्यवसायीहरू बंगुर लिनका आउने गरेका छन् । ‘भारतले लगाएको नाकाबन्दी र दार्जिलिङ आन्दोलनका बेला अढाई करोड घाटा भयो ।’ राईले भने, ‘नोक्सान हुँदैमा व्यवसाय छाड्न हुँदैन । विस्तार अघि बढाउनुपर्छ ।’ नेपाल भारतसँग परनिर्भर हुँदा बंगुर निर्यातमा निकै कठिनाइ हुने गरेको उनले बताए । उनलेभने, ‘पर्याप्त मात्रामा उत्पादन गर्न सक्छौं । तर बिक्रीका लागि भने भारतसँग निर्भर हुनुपर्दछ ।’

भारतमा हुने सामान्य असरले समेत नेपालको व्यापार घाटा हुने गरेकोमा उनले दुःख व्यक्त गरे । एउटा माउ बनाउनलाई ३० हजार रुपैयाँको चारो खपत हुने गरेको छ । उनले माउ उत्पादनबाट मात्र वार्षिक २५ देखि ३० लाख रुपैयाँ नाफा गर्ने गर्छन् । बंगुरमा मात्र सीमित नभएर उनले कृषि क्षेत्रअन्तर्गत तरकारी खेती, गाई फार्म, बोटबिरुवामा समेत लगानी गरेका छन् ।

हाल उनको फार्ममा १३ वाट जर्सी गाईसमेत रहेको छ । ३ वटा लैना गाईबाट दैनिक १२ देखि २२ लिटर दूध उत्पादन हुने गर्दछ । दूधबाट मासिक ५० देखि ६० हजार बराबरको कारोबार हुने गरेको छ । कृषि कार्यालयबाट अनुदान स्वरूप १० लाख पाएपछि थप हौसिएका छन् । उनी अनुदान पाएपछि अझ हौसिएका छन् ।

यस्तै, आँप र लिचीको बोट ३००/३०० बिरुवा र केही लप्सीका बिरुवासमेत लगाएका छन् । उनको व्यक्तिगत लगानीमा ११ कट्ठा ६ धुरमा निजी वनसमेत रहेको छ । सो वनमा रुद्राक्ष, तेजपात, खयर, तथा बाँसकाझ्याङहरू लगाइएको छ । उनका अनुसार कृषि क्षेत्रमा उत्पादनसँगै मार्केटिङगर्न सक्नुपर्छ ।

प्रकाशित : भाद्र ११, २०७६ ०९:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT