व्यक्तिलाई बेचिएको जग्गा संस्थामै फर्काउन पहल

विनोद भण्डारी

विराटनगर — व्यक्तिका नाममा नामसारी गरिएको मोरङ बेलबारी–२ को सहारा बालग्रामको जमिन संस्थाकै नाममा फिर्ता गराउन बेलबारीका राजनीतिक दल र नागरिक अगुवाले पहल सुरु गरेका छन् ।

अनाथ बालबालिकाको संरक्षणका लागि चार अमेरिकी नागरिकले जमिन खरिद गरी भौतिक पूर्वाधार निर्माण गरेर दुई दशकअघि तत्कालीन प्रतिनिधिसभा सदस्य हर्कमान तामाङसहितको समुदायलाई हस्तान्तरण गरिएको थियो । उक्त सार्वजनिक संस्थाको जग्गा व्यक्तिको नाममा नामसारी भएको थाहा पाएपछि स्थानीय बासिन्दा आक्रोशित भएका हुन् ।


नेकपा बेलबारी नगर समितिले सोमबार सचिव रविन थापाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिले पाँच दिनमा आफ्नो प्रतिवेदन बुझाउने र संस्थाको जमिन बिक्रीमा संलग्न पार्टीका जुनसुकै तहका नेता भए पनि कारबाही गर्ने नगर अध्यक्ष पर्शुराम सुवेदीले बताए ।


‘कुनै पनि हालतमा जमिन संस्थाकै नाममा फर्काएरै छाडछौं,’ उनले भने । सहाराका संस्थापक अध्यक्ष पूर्वप्रतिनिधिसभा सदस्य हर्कमान तामाङ र हालका अध्यक्ष शिव बरालले उक्त संस्थाको नाममा रहेको जग्गामध्ये २८ कट्ठा ३ धुर जमिन स्थानीय व्यवसायी डम्बरबहादुर तामाङलाई बेचेर २०७५ मंसिर ११ गते नामसारी गरेको समाचार सार्वजनिक भएपछि स्थानीय राजनीतिक दल र नागरिक अगुवा फिर्ता गराउन एकजुट भएका हुन् ।


जग्गा बिक्री गर्ने कार्यमा संलग्न तामाङ र बराल नेकपाका पुराना कार्यकर्ता हुन् । तामाङ पूर्वसांसद र बराल तत्कालीन बेलबारी गाविसका दुई कार्यकालका अध्यक्ष हुन् । उनीहरू दुवै हाल नगर प्रमुख ज्ञानेन्द्र सुवेदीका सल्लाहकार छन् । तामाङ र सहाराका हालका अध्यक्ष बरालले डम्बरबहादुरसँग ३ करोड रुपैयाँ लिएर संस्थाको नाममा रहेको विभिन्न ८ वटा कित्ताका जग्गामध्ये तत्कालीन हरैंचा ५ ख हाल बेलबारी २ को कित्ता नं. १०७८ को ५ कट्ठा, ७८५ को ७ कट्ठा, १०८३ को ३ कट्ठा, १०८१ को ४ कट्ठा, १०९० को ५ कट्ठा र कित्ता नं. १०१९ को ४ कट्ठा ३ धुर जमिन गत मंसिरमा राजीनामा पास गरेको पुष्टि भएको छ ।


बेलबारी–२ को नेकपा वडा संयन्त्रले उक्त जमिन तत्काल संस्थाको नाममा नल्याइए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । वडा संयन्त्र समितिका संयोजक सीताराम न्यौपाने र उपसंयोजक रञ्जित गुरुङले विज्ञप्ति जारी गर्दै जग्गा संस्थाकै नाममा नल्याए जस्तोसुकै कदम चाल्न तयार भएको उल्लेख गरेका छन् । संस्थाको जमिन बेच्ने जुनसुकै तहका कार्यकर्ता भए पनि कारबाही गरिनुपर्ने संयन्त्रको विज्ञप्तिमा छ ।


व्यक्तिको नाममा गएको संस्थाको १ बिघा ८ कट्ठा ३ धुर जमिन फर्काउन सम्बन्धित संस्था, वडा समिति र बेलबारी नगरपालिकासमक्ष नेकपा संयन्त्रले माग गरेको छ । सामाजिक प्रयोजनका लागि स्थापित संस्थाको सम्पत्ति समाज र पार्टी नीतिविपरीत बेचिएको उल्लेख गर्दै संयन्त्रका संयोजक न्यौपानेले फिर्ता ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पनि ध्यानाकर्षण गरेका छन् ।


बेलबारी–२ का वडाध्यक्ष घनश्याम गौतमले सहाराका सञ्चालकले संस्थाको जग्गा बेचेर क्षमा गर्नै नसकिने गल्ती गरेको उल्लेख गर्दै संलग्नलाई हदैसम्मको कारबाही गरिनुपर्ने बताए । स्थानीय जमिनदारहरूले सस्तो मूल्यमा संस्थालाई जमिन उपलब्ध गराएर संस्था स्थापना भएको स्मरण गर्दै उनले संस्थामा रहेका कम्प्युटर र एउटा गाडी पनि सञ्चालकले हिनामिना गरेको दाबी गरे ।


यस्तै कांग्रेस नगर समितिले पनि विज्ञप्ति जारी गर्दै व्यक्तिको नाममा नामसारी गरिएको संस्थाको जमिन संस्थाकै नाममा फिर्ता नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । नगर सभापति शम्भु भट्टराईले विज्ञप्ति जारी गर्दै सहारा बालग्राममा हाल आश्रय लिइरहेका परिवारलाई कटेज नछाड्न सुझाव दिएका छन् । संस्थाका २८ वटा कटेजमा सुकुम्बासी बसेका छन् ।


तामाङ र बरालले पटक–पटक गरेर आफूबाट लिएको ३ करोड रुपैयाँ फिर्ता नगरेको भन्दै डम्बरबहादुरले जिल्ला अदालतमा मुद्दा हालेका थिए । उनीहरूले अदालती आदेशअनुसार कागजी प्रक्रिया मिलाएर संस्थाको २८ कट्ठा ३ धुर जमिन आफ्नो नाममा पास गरिदिएको डम्बरबहादुरको भनाइ छ । ‘मेरो पैसा फिर्ता दिन्छन् भने म अहिले पनि जग्गा फर्काउन तयार छु,’ उनले भने ।


अमेरिकाको भर्जेनिया राज्यका ड्यानी अनी, एलिसा हाम्फ्रिन, डा. वाल्ट ज्यामी हर्बर र टेनिसीले अनाथ बालबालिकाहरूको पालनपोषण र संरक्षण गर्ने उद्देश्यले दुई दशक पहिला मोरङको बेलबारी २ मा स्थापना गरेर सञ्चालनका लागि तत्कालीन प्रतिनिधिसभा सदस्य हर्कमान तामाङलाई २०५६ भदौ ४ गते हस्तान्तरण गरेका थिए ।

प्रकाशित : भाद्र ११, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?