तिब्बत नाका मनाङबाट सहज

आश गुरुङ

फू, मनाङ — भारतले गरेको नाकाबन्दीपछि करु र आलुबाली मात्रै हुने विकट नार र फू गाउँमा खाद्यान्न संकट पर्‍यो । वनस्पति नभएका गाउँमा दाउराको विकल्पमा स्थानीयले खच्चडमार्फत ग्यास ल्याई प्रयोग गर्थे । नाकाबन्दीपछि स्थानीयको चुलामा आगो बल्न छाड्यो ।

तिब्बत नाका मनाङबाट सहज

३ देखि ४ दिनमै पुगिने तिब्बतका गाउँ तथा सहर छन् । त्यहाँबाट ग्यास वा खाद्यान्न ल्याउन कुनै अनुमति छैन । ‘तिब्बतको नाका खुलाएको भए हामी सहज तरिकाले खानेकुरा पाउँथ्यौं । कसरी जीवन गुजार्‍यौं भन्ने हामीलाई मात्रै थाहा छ,’ फू गाउँकी टसी नम्ग्याल लामाले भनिन्, ‘यस्तै हुन्छ भनेर हामीले पटकपटक तिब्बतको नाका खोल्नुपर्छ भन्दै आएका छौं ।’ स्थानीयले तिब्बततर्फको क्याङछिमी नाका खुलाउन सरकारसँग माग गरेका छन् ।

तिब्बतबाट आवश्यक वस्तु तथा पदार्थ आपूर्तिका लागि मनाङको नाका सहज हुने देखिए पनि सञ्चालनमा छैन । मनाङबाट तिब्बत जाने नाका प्रतिबन्धित छ । फू गाउँबाट क्याङछिमी नाका र नार गाउँबाट टेरिला (मुस्ताङ) नाका हुँदै तिब्बत जाने बाटा छन् । सन् २००३ बाट मात्रै पर्यटकका लागि खुला गरिएको नार र फू क्षेत्र तिब्बतसँग जोडिएका छन् ।

राजा महेन्द्रका पालामा २०२८ सालतिर पत्ता लागेको भनिएको नार र फू गाउँबाट तिब्बतका गाउँ करिब दुई दिनमा पुग्न सकिने स्थानीय बताउँछन् । हिँड्न सक्ने एक दिन र एक बिहान लगाएर तिब्बतको सिमाना क्याङछिमी पुग्न सक्छ । टेरिला नाका भने पूरै दुई दिन लाग्छ । नार र फू पत्ता लाग्नुअघि स्थानीयले तिब्बतबाट घोडा–खच्चड, याक, चौंरीबाट खाद्यान्न आपूर्ति गर्दै आएको नार्पाभूमि गाउँपालिका ५ फूका अध्यक्ष सोनामतेजे लामाले जानकारी दिए ।

चीन र नेपाल सरकारले चाहे यो नाका खोल्न सकिने र अहिले पनि खाद्यान्न सामग्री ल्याउन सकिने उनको भनाइ छ । ‘यो नाका खुलेमा घोडा, खच्चड तथा याक, चौंरीबाट सामान ल्याउन सकिन्छ । यसका लागि बाटो भने बनाउनुपर्छ,’ उनले भने, ‘दीर्घकालका लागि भने सुरुङ वा सडकमार्ग निर्माण गर्नुपर्छ ।’ क्याङछिमी नाका खुलेमा सिंगो मनाङ मात्रै नभई लमजुङ, गोरखा, धादिङ, कास्कीलगायत जिल्ला प्रत्यक्ष लाभान्वित हुने उनले बताए ।

नेपाल र तिब्बत सिमाना क्याङछिमी बोर्डर पुग्न करिब दुई दिन लाग्ने तत्कालीन फू गाविसका म्हिथेव (अध्यक्ष) एवं हाल नार्पाभूमि ४ का अध्यक्ष छिरिङडेन्डो घलेले जानकारी दिए । बोर्डरबाट तिब्बतको स्युँटुकु पुग्न पनि त्यति नै समय लाग्छ । ‘फू गाउँबाट तिब्बतका बजार पुग्न त्यति टाढा छैन,’ उनले भने ।

सिमानाको पूर्वमा नेपालकै रन्नचुली हिमाल र पश्चिमतर्फ चुलिस हिमाल रहेको उनले बताए । नेपालतर्फबाट उकालो १ दिनको बाटो खोङग्युर भीर भन्ने ठाउँसम्म गोरेटो र घोडेटो बाटो बनेको छ । यसका लागि तत्कालीन दुर्गम क्षेत्र विकास कार्यक्रम र तत्कालीन जिविस मनाङले सघाएको थियो । तिब्बततर्फ ठूल्ठूला २/३ वटा खोला रहेको उनले बताए । त्यहाँबाट बजार क्षेत्रसम्म मैदानजस्तै छ । तल्लो बाटो बन्नुअघि स्थानीयले नुनतेललगायत खाद्यान्न तिब्बतबाटै ल्याउने उनको भनाइ छ ।

२०२८ सालमा तल्लो सडक खुलेपछि बिस्तारै लमजुङबाट खाद्यान्नलगायत सामग्री फू गाउँमा भित्रिन थालेका हुन् । नार र फू गाउँलाई नयाँ मुलुक भनेर पनि चिनिन्छ । ‘पहिले–पहिले नुनतेललगायत खाद्यान्न सामग्री स्युँटुकुबाट ल्याउने हो । पहिले गाउँ जस्तो ठाउँ अहिले त्यो राम्रो सहर भएको छ भन्ने सुन्छु,’ उनले भने, ‘तिनै ठाउँबाट ल्याएका नुनतेल मनाङबाट लमजुङ, गोरखा र कास्कीसम्म पुग्थे ।’

त्यतिबेला स्थानीयले तिब्बतका गोठालासँग ‘मीत’ नाता लगाएर तिब्बतको स्युँटुकुबाट खाद्यान्न झिकाएर उपभोग गर्ने गरेको स्थानीय बताउँछन् । तत्कालीन राजा महेन्द्रका पालामा नार र फूको बस्ती पत्ता लागेपछि तलबाट बाटो खुलाई खाद्यान्न ल्याउन थालिएको उनीहरूको भनाइ छ । पहिले याक, चौंरी, घोडा र खच्चडमा बोकाएर उपभोग्य वस्तु ल्याउनुपर्ने बाध्यता थियो । ‘नार र फूतर्फको दुवै नाका खुल्ने हो भने हामीलाई निकै सजिलो हुन्थ्यो,’ उनले भने । हिमालमा हिउँ जम्ने गाउँ भएकाले नाकाका ती ठाउँका चट्टान कडा रहेको उनी बताउँछन् । केही भिरालो ठाउँमा हिमपहिरो पनि खस्ने गर्छ । अन्य ठाउँमा बाटो सजिलै छ ।

नार र फू गाउँबाट तिब्बत जान सकिने बाटा रहेको भन्ने जानकारी रहेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए । नार र फू क्षेत्र विदेशी नागरिकका लागि प्रतिबन्धित ठाउँ हो । यहाँ पुग्न अनुमति चाहिन्छ ।

प्रकाशित : भाद्र ११, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?