तिब्बतीलाई नागरिकता प्रकरण : पाँच कर्मचारी फरार
कास्की — तिब्बतीलाई नेपाली नागरिकता दिएको प्रकरणका आरोपीमध्ये ५ कर्मचारी फरार भएका छन् । फरार हुनेमा कास्की जिल्ला प्रशासनका ४ र एकजना पोखरा–१८ वडा कार्यालयका कर्मचारी छन् ।
उनीहरूविरुद्ध प्रशासनले आन्तरिक छानबिनपछि विभागीय कारबाहीको सिफारिस गरेको थियो । कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनीहरू फरार भएका हुन् । बिदा मिलाएर मोबाइल ‘स्वीच अफ’ गरी बसेका उनीहरूको खोजी भइरहेको डीएसपी राजकुमार केसीले बताए ।
फरार हुनेमा जिल्ला प्रशासनका अधिकृत ऋषिराम आचार्य, नासु डाँसीराम लामिछाने, खरिदारद्वय परशुराम पौडेल, रामचन्द्र थापा र वडाका विष्णुप्रसाद पौडेल छन् । आचार्य भदौ १५, पौडेल १२ र थापा ६ गते कार्यालयमा उपस्थित हुने गरी बिदा बसेका हुन् । तर, थापा मंगलबारसम्म कार्यालय आएका छैनन् ।
लामिछाने लमजुङ सरुवा भइसकेका छन् । साउन ३१ मा पक्राउ परेका पोखरा–१८ का वडाध्यक्ष कर्णबहादुर थापा, वडासदस्य ज्ञानबहादुर थापा र कर्मचारी राजेन्द्र पौडेल भने गत बुधबार छुटेका छन् । झूटो विवरण बुझाएर नागरिकता लिने दुई युवतीसहित ८ जना यसअघि नै पक्राउ परेका छन् । छोरी भनेर सनाखत गर्ने लेखबहादुर थापा, नागरिकता लिने सरु थापामगर, तासी आङ्मो थापामगर र साक्षी ज्ञानबहादुर थापा क्षत्री, सन्तोष थापामगर, कमल थापामगर र इमा थापामगर पक्राउ परेका हुन् ।
लेखबहादुरलेले तिब्बती शरणार्थीसँग बिहे गरेकी छोरीतर्फका दुई नातिनीलाई आफ्नै छोरी बनाएर सनाखत गरी प्रशासनबाट नागरिकता दिलाएका थिए । सरु र तासीले गत वर्षको जेठ २६ र असार ६ मा नागरिकता लिएका हुन् । सरुको उमेर २७ र तासीको २६ वर्ष छ । उनीहरू ७ महिनाले मात्र फरक देखिएका छन् ।
नागरिकता ऐन, ०६३ अनुसार कुनै विदेशीले झूटो विवरण दिएर नेपाली नागरिकता लिए १ देखि ५ वर्षसम्म कैद वा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ ।
प्रकाशित : भाद्र ११, २०७६ १०:०६