२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

गढीमाईमा मेला व्यवस्थापनबारे स्थानीय तह र ट्रस्टबीच विवाद

नगरपालिकाले अगुवाइ गर्न खोज्दा विवाद
ट्रस्ट चुनाव गरेर समिति बनाउने तयारीमा
गढीमाईको पाँच वर्षको आम्दानी करिब ३ करोड
मेला लाग्ने वर्ष १ करोड आम्दानी हुने

बारा — यहाँको प्रसिद्ध गढीमाईको मेलाका लागि यसपटक तयारी नै सुरु भएको छैन । व्यवस्थापनका विषयमा स्थानीय तह र गढीमाई ट्रस्ट गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिबीच विवाद छ । हरेक पाँच वर्षमा लाग्ने मेला यो पटक आगामी मंसिरमा हुँदै छ । विवादकै कारण तयारीका काम सुरु हुन सकेका छैनन् । 

स्थानीय तहले आफैं मेलाको व्यवस्थापन गर्ने अडान लिँदै मूल समिति बनाएको छ । ट्रस्टले पनि आफैं मेला व्यवस्थापन गर्ने बताउँदै आएको छ । राजनीतिक दलका नेताहरू भने ट्रस्टको समिति आफ्नो पक्षमा पार्न लबिइङ गरिरहेका छन् । यसमा प्रदेशका मन्त्री, सांसद र प्रदेशसभा सदस्यलगायतको चासो छ । विगतमा ट्रस्टले आफ्नै व्यवस्थापनमा मेला लगाउँदै आएको थियो । विधानअनुसार मेला लाग्ने वर्ष ट्रस्टको साधारणसभाबाट नौ सदस्यीय समिति चयन गरिन्थ्यो । त्यही समितिले मेलाको सबै तयारी गर्थ्यो ।

यो वर्ष पहिलो पटक चुनावी प्रक्रियाबाट समिति गठन गर्ने तयारी ट्रस्टले गरेको थियो । समिति चयनका लागि चुनावी प्रक्रियामा जाने तयारीपछि ट्रस्टमा राजनीति सुरु भएको स्थानीयको भनाइ छ । ‘राजनीतिले प्रवेश पाएपछि मेला व्यवस्थापन कार्य भद्रगोल छ,’ गढीमाई मन्दिरका मूल पुजारी ६५ वर्षीय मंगल चौधरीले भने, ‘पहिलेजस्तो तयारी यस पटक सुरु हुनै पाएको छैन । दलीय प्रतिस्पर्धा हुन थालेपछि स्वतन्त्र संस्थाको के अर्थ ?’

महागढीमाई नगरपालिकाले भने आफ्नो क्षेत्रभित्र रहेका मन्दिर, पाटी, पौवाको संरक्षण र व्यवस्थापन आफूले गर्ने भन्दै मेला व्यवस्थापन र ट्रस्टलाई क्षेत्राधिकारभित्र पार्न खोजिरहेको छ । ‘ट्रस्ट र नगरपालिकाबीच तँछाडमछाड छ,’ ट्रस्टका पूर्वसचिव विजय स्वर्णकारले भने, ‘पहिले यस्ता क्रियाकलाप हुँदैनथे । ट्रस्टको आम्दानी जति बढ्दै गयो, अरूको आँखा पर्दै गएको छ ।’ उनका अनुसार जनप्रतिनिधिविहीन अवस्थामा ट्रस्टले नै काम गरेको हो । ‘अहिले स्थानीय सरकार भएपछि आफ्नो स्वामित्व खोज्नु स्वाभाविक हो,’ उनले भने, ‘झगडा नगरी समाधान खोज्नु आवश्यक छ ।’

ट्रस्ट अध्यक्ष रामचन्द्र साह वर्षौंदेखि मेला लगाउँदै आएकाले यस पटक पनि मेला व्यवस्थापन ट्रस्टले नै गर्न पाउनुपर्ने बताउँछन् । ‘कुनै हालतमा स्थानीय तहलाई मेलाको व्यवस्थापन गर्न दिन्नौं,’ उनले भने, ‘ट्रस्टको चुनावले जसलाई नेतृत्व दिन्छ, त्यही नेतृत्वले मेलाको व्यवस्थापन गर्छ ।’

गढीमाई मन्दिरको पाँच वर्षको आम्दानी अढाईदेखि ३ करोड रुपैयाँ हाराहारी छ । मेला लाग्ने वर्ष मात्र सबै खर्च कटाएर झन्डै १ करोड आम्दानी हुने गरेको छ । यस पटक ट्रस्टको सदस्यता वितरणबाट मात्र १ करोड ९१ लाख आम्दानी भएको छ । ६० लाख अहिले पनि बैंक मौज्दात छ । भेटीबाहेक पार्किङ र सदस्यता लगायतबाट आम्दानी हुने गरेको छ । धर्मशाला भवन निर्माणका लागि ट्रस्टले जग्गा खरिदमा ६० लाख खर्चेको छ । ७० लाख गढीमाई नमुना प्राविधिक विद्यालयमा खर्च गरिएको छ ।

ट्रस्टका सचिव मोतीलाल कुशवाहाले आम्दानीले मात्र नभएर सेवाको भावना र विकास गर्ने उद्देश्यले गढीमाईमा नेतृत्वका लागि लडाइँ भएको बताए । ‘१५ वर्षदेखिको एकल नेतृत्व परिवर्तन र गढीमाईमा विकासको पूर्वाधार तयारीका लागि नेतृत्व परिवर्तन आवश्यक छ,’ उनले भने, ‘गढीमाई ट्रस्टमा यत्रो आम्दानी छ तर विकास गर्ने सोच, इच्छाशक्ति र योजना बनाउने नेतृत्वको अभाव छ ।’

गढीमाईलाई सरकारले पर्यटन क्षेत्रको सूचीमा राखेको छ । त्यसअनुसार पर्यटकलाई तान्न सक्ने पूर्वाधार विकास हुन नसकेकोप्रति स्थानीय चिन्तित छन् । ‘ट्रस्टले विकास गर्न सकेन । अब हामी गर्छौं । त्यसैले मेलाको तयारीको जिम्मा लिँदै नगरपालिका अगाडि बढेको छ,’ नगरप्रमुख उपेन्द्रप्रसाद यादवले भने ।

प्रकाशित : भाद्र ११, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?