मानसिक रोगी ८ वर्षदेखि कोठामै

तृप्ति शाही

बैतडी — सडककै छेउमा एउटा सानो घर । पाँच जनाको परिवार । कमाउने उमेरका परिवारका दुई सदस्य वर्षौंदेखि कोठामा थुनिएर बसेका छन् ।

मानसिक रोगी ८ वर्षदेखि कोठामै

बैतडी सदरमुकाम शाही लेक बजारनजिकै दशरथचन्द–४ को तीरगाउँमा प्रेमराम तिरुवाका छोराहरू २२ वर्षीय रमेश र २६ वर्षीय प्रदीपलाई थुनेर राखिएको हो ।


दुवै थुनिएकै कोठामा खान्छन्, सुत्छन्, दिसापिसाब गर्छन् । मानसिक रोगी छोराहरूलाई तिरुवा परिवारले उपचारमा लैजान सकेको छैन । ‘मैले भारी बोकेर आउने ज्यालाले परिवार पालेको छु,’ ६० वर्षीय तिरुवा भन्छन्, ‘बिहान, बेलुका हातमुख जोर्न धौधौ छ । उपचार गर्ने पैसा छैन ।’ करिब आठ वर्षअघिबाट दुवैमा अनौठो समस्या आएको उनले बताए ।


‘जहाँ पायो त्यहाँ डुलिरहने, जे पायो त्यही खाने भएकाले थुनेर राखेको हो,’ उनले भने, ‘कहिलेकाहीँ भागेर बजारमा भौंतारिन्छन्, समातेर फर्काउन ठूलो सास्ती पर्छ ।’ बस्नलाई भएको झुप्रोबाहेक अरू सम्पत्ति नभएकाले उपचार गराउन आफ्नो क्षमता नभएको उनले बताए । ‘काम पाएका दिन चुलोमा आगो बल्छ, नपाएका दिन हामी सबै भोकै सुत्छौं,’ उनले भने, ‘उपचार गराउनेबारे सोचेर पनि सक्ने हैसियत भइदिएन ।’


तिरुवाका साइँला छोरा १८ वर्षीय सन्तोष काम गर्न भारत पसेका छन् । वृद्धवृद्धासँग अराउपराउ गर्न ८ वर्षीय कान्छा छोरा छन् । भोकै सुत्नुपर्दा मानसिक रोगी छोराहरूले केही नभने पनि कान्छा छोराले कुरा नबुझ्ने गुनासो उनले गरे ।

प्रकाशित : भाद्र ११, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?