भाइरल ज्वरोले शिक्षक–विद्यार्थी बिरामी, विद्यालय बन्द

भाइरल ज्वरोका बिरामी बढेपछि पर्वतमा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थालाई उपचार गर्न हम्मे पर्न थालेको छ
दिप्ती सिलवाल

पर्वत — मौसम परिवर्तनसँगै केही दिनयता जिल्लामा भाइरल ज्वरोको प्रकोप बढेको छ । जिल्ला अस्पतालसहित सबैजसो स्वास्थ्य संस्थामा भाइरलका बिरामी थपिइरहेका छन् । डेढ सयभन्दा बढी विद्यार्थी र शिक्षक एकैपटक बिरामी भएपछि बिहादी गाउँपालिका–१ बाच्छाको जनकल्याण मावि केही दिनलाई बन्द गरिएको छ । 

भाइरल ज्वरोले शिक्षक–विद्यार्थी बिरामी, विद्यालय बन्द

स्थानीय बाच्छा स्वास्थ्यचौकीमा ठाउँ नपुगेपछि चौरमा राखेर उपचार गराइएको छ । चौकीका इन्चार्ज खेम कोइरालाका अनुसार अरू समयभन्दा दोब्बर बिरामी आइरहेका छन् । सबै विद्यार्थी र शिक्षक बिरामी परेपछि स्वास्थ्यचौकीमा ठाउँ अभाव भएको हो । बिरामीमध्ये बढी समस्या भएकालाई पोखरा र जिल्ला अस्पतालमा पठाइएको कोइरालाले बताए ।


‘गाउँभरि बिरामी छन् । कुनै घर खाली छैन,’ शिक्षक झलक चापागाईंले भने, ‘विद्यालयमा समेत फैलन सक्ने भएकाले बिदा गरिएको हो ।’ निमित्त प्रधानाध्यापक शिवप्रसाद श्रेष्ठका अनुसार बिरामीनजिक बस्ने अरूलाई पनि संक्रमण फैलन सक्ने भएकाले तत्काललाई २ दिन विद्यालय बन्द गरिएको हो । ‘अहिले मंगलबार र बुधबार बिदा गरिएको छ,’ श्रेष्ठले भने, ‘बिरामीको अवस्थामा सुधार नभए थप केही दिन बिदा गर्ने निर्णय गरेका छौं ।’


ग्रामीण क्षेत्रका स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्रलगायतमा बिरामीको चाप थेग्न स्वास्थ्यकर्मीलाई हम्मे परेको छ । स्वास्थ्यकर्मीका अनुसार बिरामीमा एक्कासि अधिक ज्वरो आउने, घाँटी, टाउको दुख्ने, आँखा सुन्निने, जिब्रोमा इन्फेक्सनजस्ता लक्षण देखिएको छ ।


जिल्ला अस्पतालका सिनियर अहेब एवं सूचना अधिकारी जानकीकुमारी रिजालका अनुसार ओपीडीमा आउनेमध्ये ७० प्रतिशतभन्दा बढी बिरामी भाइरल ज्वरोका छन् । सामान्य अवस्थामा ६०–७० जना हाराहारी बिरामी आउने गरेकामा अहिले डेढ सयभन्दा बढी छन् । ‘हिजोआज बिरामीको भीड थामिसक्नु छैन,’ डा. शेषकान्त लामिछानेले भने, ‘सामान्य अवस्थामा १ बजेभित्रै नाम लेखाइसकिने ओपीडीमा अहिले दिउँसो ४ बजेसम्म पनि उस्तै भीड छ ।’


तीन दिन बिदा

भोजपुरमा पनि ज्वरोले विद्यार्थी बिरामी परेपछि षडानन्द नगरको अरुण मावि मंगलबारदेखि तीन दिनका लागि बन्द गरिएको छ । १ देखि १२ कक्षासम्मका २ सय २ जना विद्यार्थी बिरामी परेपछि विद्यालय बन्द गर्नुपरेको निमित्त प्रधानाध्यापक श्रीकृष्ण बोगटीले बताए । दिङला बजारका अन्य तीन विद्यालयका धेरैजना विद्यार्थी बिरामी परेका छन् ।


स्थानीय षडानन्द मावि, न्यु समिट र सनराइज बोर्डिङ स्कुलका विद्यार्थीमा पनि ज्वरोको असर देखिएको छ । दैनिकजसो प्राथमिक स्वास्थ्य केन्द्रमा ६० जना र अन्य स्वास्थ्यचौकीहरूमा ३० देखि ४० जना बिरामी उपचारका लागि आइरहेको नगरपालिकाका स्वास्थ्य संयोजक सुन्दर श्रेष्ठले बताए । गम्भीर बिरामीलाई यहाँका स्वास्थ्यकर्मीले तुम्लिङटार, धरान र विराटनगर रिफर गरिरहेका छन् ।

प्रकाशित : भाद्र ११, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?