बलात्कारपीडितलाई घर छाड्न दबाब

पर्वत पोर्तेल

धुलाबारी, झापा — झापा मेचीनगर–९ को वडा कार्यालयले घर छाड्न दबाबसहितको पत्र पठाएपछि बलात्कारमा परेकी किशोरी र उनका परिवार चिन्तामा छन् । किशोरीकी आमाले भनिन्, ‘घर मात्रै हैन, गाउँबाटै लखेट्ने योजना बनिरहेको छ ।’

भूमिहीन डोम परिवार मजदुरी गरेर जीविका चलाउँछन् । गाउँबाटै विस्थापित हुनुपर्ने डरले उनीहरू त्रस्त छन् । आमाले भनिन्, ‘घर छैन, हामीलाई डेरा पाउनै मुस्किल हुन्छ ।’ वडाध्यक्ष गोपाल खड्काले किशोरीका पिताको नाममा भदौ ४ मा चिठी काटेका थिए । घरधनी स्थानीय पुष्पा खडकाको निवेदनका आधारमा उनीहरूलाई चिठी काटिएको वडाध्यक्ष खड्काको भनाइ छ । घरधनीले लामो समयदेखि घरभाडा नबुझाएको जनाउँदै वडा कार्यालयमा निवेदन दिएकी थिइन् । ‘घरधनीकै निवेदनका आधारमा सत्यतथ्य बुझ्न चिठी काटेका हौं,’ वडाध्यक्ष खडकाले भने ।


पीडित परिवारका अनुसार भाडा नतिरेर डेराबाट निकाल्न लागिएको भने होइन । करिब तीन महिनाअघि एउटा बलात्कारको घटना सार्वजनिक भयो । १७ वर्षीया किशोरीलाई घरमा कोही नभएको मौकामा पुष्पाका पति विष्णुले ब्ल्याकमेलिङ गर्दै बलात्कार गर्दै आएका रहेछन् । पहिला खड्काले किशोरीको परिवार बस्ने घरको भुइँतलामा भट्टी पसलसमेत सञ्चालन गरेका थिए । त्यही समयमा उनीमाथि उनले बलात्कार गर्ने गरेको तथ्य बाहिर आएको थियो ।


गत असार २ मा धुलाबारीका स्थानीयले आपत्तिजनक अवस्थामा फेला पारेपछि घटना बाहिर आएको थियो । आरोपी विष्णु खड्का त्यही बेलादेखि फरार छन् । किशोरीमाथिको बलात्कार घटना बाहिर आएपछि स्थानीय अगुवाहरू नै पैसा दिएर मिलाउने पक्षमा अग्रसर देखिएका थिए । तर पीडितकी आमाले छोरीमाथिको जघन्य अपराधविरुद्ध आफू अदालतसम्म पुग्ने बताइन् । ‘पैसा लिएर मिल्नु भन्ने धेरै आइसके तर म कुनै हालतमा मिल्ने पक्षमा छैन । मेरी छोरीले न्याय पाउनुपर्छ ।’


केही दिनअघि स्थानीय महिला जुटाएर विष्णुकी पत्नी पुष्पा पीडित परिवारलाई घरबाट निकाल्न तयार भएकी थिइन् । तर किशोरीकी आमाले आफूले २ वर्षसम्मको भाडा तिरिसकेका कारण निकाल्ने अधिकार कसैलाई नभएको बताएपछि आएको भीड त्यसै फिरेको थियो ।


बारम्बार धम्क्याउँदा पनि डोम परिवारले घरबाट जान नमानेपछि पुष्पाले वडा कार्यालयको सहारा लिएकी हुन् । दलित अधिकारकर्मी तथा मेचीनगरका कार्यपालिका सदस्य टीकाराम मंग्रातीले आरोपी विष्णु खड्कालाई पुनःस्थापित गर्न समाज मिलेर डोम परिवारलाई विस्थापित गर्न लागेको बताए । उनले भने, ‘घर भाडा नतिरेको विषय मूल होइन । मूल कुरा त बलात्कार घटनाका कारण उनीलाई लखेट्न लागिएको हो ।’


केही समययता छिमेकीहरूबाट समेत दुर्व्यवहार सहनुपरेको किशोरीकी आमाले बताइन् । ‘नजिकैका पसलमा किनमेल गर्न पनि दिँदैनन्,’ उनले भनिन्, ‘नजिकैको होटलमा चिया खान माग्दा दिएनन् ।’


वडाध्यक्षले पीडितलाई न्याय दिनुको साटो नातेदार भएकाले पीडकलाई सजाय हुन नदिन भगाएको आरोप पीडित परिवारको छ । पीडितकी आमाका अनुसार घटनाको भोलिपल्ट बिहान वडाध्यक्ष खड्का विष्णुको घरमा आएका थिए । त्यही दिन उनलाई भगाइएको अनुमान छ । किशोरीका अनुसार पीडकले घटनाबारे हल्ला नगर्न परिवारलाई बारम्बार धम्की दिइरहेका छन् । उनले भनिन्, ‘बाहिर हल्लाखल्ला गरे घरबाट निकालिदिने, परिवारै सखाप पारिदिने भन्दै बारम्बार धम्की आइरहेको छ ।’


किशोरीले आफूलाई बलात्कार गरेको भन्दै गत असार ३ मा इलाका प्रहरी कार्यालय धुलाबारीमा घरधनी खडकाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । घटना पुष्टि भइसक्दा पनि खड्कालाई पक्राउ गर्न प्रहरीले तदारुकता देखाएको छैन । प्रहरी निरीक्षक टीकाबहादुर कार्की भने फरार अभियुक्तको खोजी तीव्र पारिएको दाबी गर्छन् । अभियुक्त खड्का भारतको असमतिर गएर बसेको प्रहरीको अनुमान छ ।

प्रकाशित : भाद्र ११, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?