२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

पर्यटन उद्योग दर्ता प्रदेशबाट

काठमाडौँ — होमस्टे दर्ता गर्न मोफसलबाट काठमाडौंस्थित पर्यटन विभाग धाउनुपर्ने बाध्यता मंगलबारदेखि अन्त्य भएको छ । होमस्टे दर्ता, नवीकरणलगायत सेवा सम्बद्ध प्रदेशकै उद्योग मन्त्रालय र त्यसअन्तर्गतका निकायबाटै वितरण हुने भएको छ । 

पर्यटन विभागले पर्यटन उद्योग, सेवा, व्यवसायसम्बन्धी कार्य केन्द्रीकृत रूपमा गराउँदा भौगोलिक कारणले समान पहुँच पुग्न नसकेकाले प्रदेशमा हस्तान्तरण गरिएको जनाएको छ । विभागले मंगलबार राजधानीमा रहेका प्रदेशका पर्यटन–व्यवसायीलाई अब प्रदेशबाटै सेवा लिन बाटो खुला भएको घोषणा गरेको हो ।


विभाग महानिर्देशक डन्डुराज घिमिरेका अनुसार सातै प्रदेशलाई विभागले २२ हजार ३ सय ६४ वटा अभिलेख हस्तान्तरण गरेको छ । यसअनुसार ३ सय ६१ पर्यटकस्तरीय होटल, ९२ वटा होमस्टे, ८५ वटा राफ्टिङ एजेन्सी, ३२ सय ६२ वटा ट्राभल एजेन्सी, २४ सय १७ ट्रेकिङ एजेन्सी, २ सय १४ रिभर गाइड, १ सय ७२ ट्रेकिङ पोर्टर गाइड, ७९ पर्यटन यातायात सेवा, १२ हजार ९ सय ८१ ट्रेकिङ गाइड र २७ सय १ टुरिस्ट गाइडका अभिलेख छन् । सम्बन्धित प्रदेशले यी सेवामा असोज १ देखि कामकारबाही गर्नेछन् ।


प्रदेश सरकारले होमस्टेबाहेक थप ट्राभल एजेन्सी इजाजतपत्र, ट्रेकिङ एजेन्सी इजाजतपत्र, पर्यटक यातायात सेवा व्यवस्था इजाजतपत्र जारी तथा नवीकरणलगायत सेवा व्यवसायीहरूलाई दिनेछ । त्यस्तै र्‍याफ्टिङ एजेन्सी, पर्यटक स्तरीय होटल इजाजतपत्र जारी तथा नवीकरणको सेवा पनि प्रदेशलाई हस्तान्तरण गरिएको छ ।


प्रदेश सरकारले टुर, रिभरगाइड तथा ट्रेकिङ पोटर गाइडको इजाजतपत्र जारी तथा नवीकरणलगायत सेवा प्रवाह पनि गर्न पाउनेछ । विभागले हिमाल आरोहण, स्टार होटल अनुमति, क्यासिनो आदिको काम भने केन्द्रमै राखेको छ । संघीयता लागू भएलगत्तै विभाग मातहत काँकडभिट्टा, झापा, नाम्चे, जनकपुर, वीरगन्ज, भैरहवा, पोखरा र कोहलपुरमा रहेका ७ वटा पर्यटन कार्यालय प्रदेशलाई हस्तान्तरण गरिएको थियो ।

प्रकाशित : भाद्र ११, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?