आत्महत्या अघि पुडासैनीले के-के गरे ?

जनकराज सापकोटा

काठमाडौँ — चितवनको कंगारु होटलको कोठा नम्बर २०२ मा साउन २० गते बेलुका ८ बजे मृत भेटिएका माउन्टेन टिभीका पत्रकार शालिकराम पुडासैनीले सो दिन के–के गरे भन्ने सबैका लागि कौतुहलताको विषय हो । प्रहरी अनुसन्धानका आधारमा मृतक पुडासैनीको त्यो दिनको गतिविधिलाई फेला परेका तथ्य अनुसार यहाँ चित्रण गरिएको छ ।

आत्महत्या अघि पुडासैनीले के-के गरे ?

मृतक पुडासैनीको मोबाइलको लोकेसनअनुसार उनी त्यसदिन बिहान ८ः०० बजेदेखि ८ः१५ सम्म गोगंबु बसन्तनगर क्षेत्रमा थिए । त्यसपछि उनको मोबाइल लोकेसनको आधारमा उनी बिहान ९ः४५ बजे कलंकी पुगेको देखिन्छ । यस्तै १ बजेर ३ मिनेटको समयमा उनको मोबाइलको लोकेसनमा उनी मलेखु रहेको देखाएको छ ।


चितवन पुगेपछि अन्दाजी ३ बजेर १० मिनेटमा उनी लमजुङ होटलमा कोठा खोज्नका लागि पुगेका थिए । यसको पुष्टि होटल संचालक आफैंले गरेका छन् । त्यहाँको कोठामा सिलिङ फ्यान नभएकै कारण उनी ३ बजेर १५ मिनेट जाँदा कंगारु होटलमा गएर कोठा लिएका थिए ।


त्यसपछि उनले श्रेष्ठ ब्रदर्सको पसलबाट डोरी किनेको पसलमा रहेको सीसीटिभी फुटेजमा कैद भएको छ । उनी त्यहाँ ३ बजेर ३२ मिनेटमा पुगेको र ८ मिनेट रहेको देखिएको छ ।


डोरी लिएर होटल कंगारुको कोठा नम्बर २०२ फर्किएका पुडासैनीले ३ बजेर ५४ मिनेट ४१ सेकेण्ड जाँदा ४ मिनेट ५८ सेकेण्डको पहिलो भिडियो रेकर्ड गरेको देखिन्छ । त्यसपछि सोही कोठामा ४ बजेर १ मिनेट १७ सेकेण्ड जाँदा उनले दोस्रोपटक भिडियो सुट गरेका थिए । उक्त भिडियो ८ मिनेट २७ सेकेन्ड लामो रहेको छ ।


त्यस लगत्तै उनकाे मोबाइलमा ४ बजेर २२ मिनेटको समयमा श्रीमती सम्झना घिमिरे पुडासैनीले फोन गरेकी थिइन् । सम्झनाले फोन गरेसँगै उनको मोबाइलमा १६ बजेर ३६ मिनेट जाँदा जीपीआरएस (इन्टरनेट) सेवा सूचारु भएको देखिन्छ । मृतक पुडासैनीले सो दिन १६ बजेर ३८ मिनेटमा पुजा भन्ने प्रमिला शर्मा भुसाललाई कल गरेका थिए ।


त्यसपछि कुनै पनि गतिविधि भएको प्रहरी अनुसन्धानमा देखिँदैन ।


यो पनि


प्रकाशित : भाद्र १०, २०७६ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?