कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

प्रदेशमा खटिँदै वरिष्ठ सचिव

प्रदेश–संघबीच समन्वय बढ्ने मात्र होइन, कामको परिणाममै परिवर्तन आउँछ: पूर्वप्रशासक

काठमाडौँ — प्रदेशमा खटाइएका वरिष्ठ सहसचिव अर्को सातादेखि प्रदेशअन्तर्गतका मन्त्रालयमा खटिने भएका छन् । भदौ ४ मा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारलाई बलियो, प्रभावकारी एवं परिणाममुखी बनाउने भन्दै सबै मन्त्रालयमा वरिष्ठ सहसचिवलाई सचिव बनाउने निर्णय गरेको थियो । कर्मचारी समायोजन ऐनमा प्रदेशमा सम्भव भएसम्म वरिष्ठतम सहसचिव खटाइने उल्लेख छ । तर यसअघि केन्द्र सरकारले कनिष्ठलाई सचिव बनाई पठाउँदै आएको थियो । 

प्रदेशमा खटिँदै वरिष्ठ सचिव

सरुवा गरिएका सहसचिवको पत्र सेवा सञ्चालन गर्ने सम्बन्धित मन्त्रालयमा पठाइसकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव भूपाल बरालले जानकारी दिए । मन्त्रिपरिषद्ले प्रशासन, कृषि, वन, शिक्षा, इन्जिनियरिङलगायत सेवाका वरिष्ठतम ७६ जना सहसचिवलाई प्रदेशमा सरुवा गरेको थियो ।


यसअघि प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्सहित सबै मन्त्रालयमा कनिष्ठ सहसचिवलाई सचिवको जिम्मेवारी दिइएको थियो । त्यसप्रति मुख्यमन्त्री र मन्त्रीहरूले केन्द्र सरकारको आलोचना गर्दै आएका थिए । कनिष्ठलाई सचिव बनाइँदा प्रदेश सरकार र प्रमुख जिल्ला अधिकारीबीच समन्वयमा समेत समस्या देखिएको थियो । मुख्यमन्त्री र मन्त्रीहरूले पटकपटक गुनासो गरेपछि मन्त्रिपरिषद्ले सचिवको लाइनमा रहेका वरिष्ठतम सहसचिवलाई नै प्रदेशमा खटाएको हो ।


सबै सेवा समूहमा वरिष्ठतम सहसचिव (१ देखि ९ नम्बरसम्मका) सहसचिवलाई प्रदेशमा खटाइएको प्रवक्ता बरालले जानकारी दिए । त्यसो हुँदा प्रदेश–केन्द्रबीच समन्वय गर्नसमेत सहज हुने अपेक्षा गरिएको उनी बताउँछन् । कतिपय मन्त्रीले कनिष्ठ सचिवका कारण परिणाम दिन नसकिएको गुनासोसमेत गरेका थिए ।


प्रदेशमा कनिष्ठ सचिव हुँदा प्रमुख जिल्ला अधिकारीसँग द्वन्द्वसमेत निम्तिएको थियो । आफूभन्दा कनिष्ठलाई सचिव बनाइँदा प्रमुख जिल्ला अधिकारीहरू असन्तुष्ट हुनुका साथै समन्वयसमेत हुन सकेको थिएन । वरिष्ठलाई सचिव बनाइँदा मुख्यमन्त्री कार्यालय र मन्त्रालयबाट सम्पादन हुने काममा समेत परिवर्तन आउने र प्रदेश–संघबीच समन्वय पनि बढ्ने पूर्वप्रशासकहरूको अपेक्षा छ । ढिलै भए पनि वरिष्ठतम सहसचिवलाई प्रदेशमा सचिव बनाउने निर्णय सकारात्मक एवं महत्त्वपूर्ण भएको पूर्वसचिव पूर्णचन्द्र भट्टराईले व्याख्या गरे ।


‘यसले प्रदेश र संघबीच उत्पन्न समस्या सम्बोधन गर्न समन्वयकारी भूमिका खेल्छ,’ उनले कान्तिपुरसित भने, ‘प्रदेश र स्थानीय तहबीचको उदासीनतालाई पनि जोड्न सहयोग पुग्नेछ ।’ वरिष्ठले गरेका कामकुराले प्रभाव पार्ने विगतदेखिकै परम्परा भएकाले समग्र प्रशासनिक कार्यसम्पादनमै असर पर्न सक्ने भट्टराईको विश्लेषण छ । ‘त्यसैले यसलाई पद्धतिकै रूपमा विकास गर्नुपर्छ,’ उनले भने । प्रदेशमा पठाउन लागिएका सचिवलाई संघका सचिव जस्तै पीए र भान्सेसहितको सुविधा थपिएको छ ।

प्रकाशित : भाद्र १०, २०७६ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?