विद्यालयमा हडताल गरे ५० हजार जरिवाना

रासस

काठमाडौँ — कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब पचास हजारसम्म जरिवाना हुने भएको छ । बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द गराउने व्यक्ति वा संस्थालाई कानूनी कारबाहीको व्यवस्था गरेको छ ।

ZenTravel

ऐन जारीपछि पनि विभिन्न समयमा विद्यालयमा बन्द हड्ताल भएपनि हालसम्म कुनै उजुरी नपरेकाले कारबाही हुन सकेको छैन । उक्त उपदफामा “कसैले सशस्त्र द्वन्द्व वा जस्तो सुकै प्रतिकूल अवस्थामा कुनै पनि प्रयोग हुने विद्यालयलगायत स्थान, सेवा वा सुविधालाई आक्रमण वा सोको सञ्चालन एवं व्यवस्थापनमा अवरोध गर्न वा गराउन हुँदैन” भन्ने उल्लेख छ । दफा ७२ मा कारबाहीको व्यवस्था गरिएको छ ।

Meroghar

सरकारले २०६८ जेठ ११ मा मन्त्रिपरिषद्‌बाट विद्यालय शान्ति क्षेत्रको अवधारणा पारित गरी ‘विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८’ जारी गरेको थियो । निर्देशिकाले प्रवर्द्धनात्मक प्रभाव पारेपनि कानूनी बाध्यता नपाएको अवस्थामा बालबालिका ऐनको व्यवस्था उपयुक्त कानूनी हतियार भएको बाल अधिकारकर्मी तारक धितालले बताए ।

निर्देशिकाको परिच्छेद ३ को कार्यनीतिमा शान्ति संस्कारलाई विकास गर्दै बालबालिकाको अधिकार हनन् भएको, भइरहेको वा हुन सक्ने थाहा पाएमा अभिभावक, शिक्षकलगायत अन्य कसैले तुरुन्त नजिकको प्रहरी कार्यालय र सम्बन्धित निकायमा सूचना दिने नयाँ व्यवस्था प्रस्ताव गरिएको छ ।

यसैगरी टेलिफोन, इन्टरनेट, अनलाइनलगायत विद्युतीय सञ्चार माध्यम वा अन्य कुनै माध्यमबाट बालबालिकालाई हैरानी गर्ने, तर्साउने, धम्क्याउने, गलत सूचना प्रवाह गर्नेजस्ता कार्य हुन नहुने प्रस्ताव गरिएको छ ।

विद्यालयभन्दा धेरै टाढा टाढाका विद्यार्थीलाई दुःख हैरानी हुने गरी लामो समय लगाएर विद्यालय ल्याउने प्रचलन नियन्त्रण गर्दै सेवाक्षेत्र (जोनिङ) निर्धारण गर्ने परिपाटी विकास गर्ने र बालबालिका आवतजावतमा तथा बालबालिका चढ्ने विद्यालयको सवारीसाधनलाई अवरोध, नोक्सान गर्ने जस्ता क्रियाकलाप हुन नहुने विषय पनि मस्यौदामा थप गरिएको छ ।

एक दिन विद्यालय बन्द हुँदा सामुदायिक र निजी गरी करीब ३५ हजार विद्यालयका ७८ लाख विद्यार्थी प्रत्यक्ष रुपमा प्रभावित हुन्छन् । पछिल्लो समयमा नेत्रविक्रम चन्द समूह र अन्य समूहले विभिन्न मागमा आयोजना गरेका बन्द, हडतालले पढाइ प्रभावित हुँदै आएको छ ।

प्रकाशित : भाद्र १०, २०७६ १५:५८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सुन तोलाको ९०० ले घट्यो, प्रतितोला ७२ हजार ६०० कायम

रासस

काठमाडौँ — पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाला सुनको मूल्यमा ९०० ले गिरावट आई प्रतितोला ७२ हजार ६०० कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला ७३ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो । उक्त मूल्य नेपालको इतिहासमा अहिलेसम्मकै उच्च हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ९०० का दरले घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ७२ हजार ३०० कायम भएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार २०० पुगेको थियो । सुनको मूल्य केही घटे पनि चाँदीको मूल्य भने यथावत छ । स्थानीय बजारमा चाँदी प्रतितोला ८६० मा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।

गत साउनको सुरुआतदेखि नै सुनको मूल्य तीव्र गतिमा उकालो लाग्न थालेको हो । साउन महिनामा सुनको मूल्य प्रतितोला ७ हजार र चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले वृद्धि भएको थियो । भदौ लागेपछि पनि लगातार सुनको मूल्यमा उच्च वृद्धि भइरहेको छ । भदौमा छापावाल र तेजाबी सुन प्रतितोला २ हजार ५०० ले वृद्धि भएको छ । तीव्र वृद्धिका बीचमा सुनको मूल्य मंगलबार प्रतितोला ९०० रुपैयाँले घटेको हो ।

साउन १ गते छापावाला सुन प्रतितोला ६४ हजार ५००, तेजाबी सुन ६४ हजार २०० र चाँदी प्रतितोला ७४५ कारोवार भएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढ्ने क्रम रोकिएको छैन । विश्व बजारमा मंगलबार सुनको मूल्य सोमबारको तुलनामा केही घटेको छ । मङ्गलबार सुनको मूल्य प्रतिऔँस एक हजार ५३०.३५ अमेरिकी डलर कायम भएको छ । सोमबार सुनको मूल्य प्रतिऔँस एक हजार ५३२.७५ अमेरिकी डलर पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा बढ्दो क्रममा रहेको सुनको मूल्यले स्थानीय बजारलाई दबाबमा राखेको हो । अमेरिकी डलरको सटही दर बढेसँगै सुनको मूल्य पनि प्रभावित भएको हो । चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ ।

सुनको मूल्यमा उतारचढाव देखिएपछि सुनको खपत भने ह्वात्तै घटेको छ । दैनिक २०/२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय बिक्री ह्वात्तै खुम्चिएको महासङ्घले जनाएको छ ।

प्रकाशित : भाद्र १०, २०७६ १५:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×