लमजुङ — त्रिपालको छाप्रोभित्र तीनवटा ससाना ढुंगा राखेर बनाइएको अँगेनो । कालोमैलो सानो डेक्ची र ताप्केछेउ सेतै फुलेका कपाल र दारीले ढपक्क वृद्ध बसेका छन् ।
यी ७३ वर्षीय शमशेर तामाङ हुन् । कालोमैलो हाफपेन्ट, धर्के गन्जी, घाँटीमा लामाको माला र कम्मरमा पछ्यौरी बेरेका उनी एक्लै जंगलमा बस्छन् । ओढ्ने–ओछ्याउने बोरा छ । ३० वर्षको छँदा पत्नी बिलुको मृत्यु भयो । डेढ वर्षका छोरा पनि बिते । पारिवारिक पीडा खेप्न नसकेर गाउँघर छाडेका उनी पछिल्लो एक दशकयता गाउँ वरपर देखिएको स्थानीय बताउँछन् । उनलाई गाउँले मेमे लामा भनेर चिन्छन् ।
दोर्दी गाउँपालिका–४ बाँसकोट गाउँनजिकै बजिनीपाखामा उनको बसाइँ छ । उनी आफ्नो बासस्थान फेरिहन्छन् तर जता गए पनि जंगलमै बस्छन् । उनको गाउँ बाँसकोट नै हो । आफ्नै गाउँ र छिमेकी गाउँलेसँग मागेर गुजारा चलाउने उनी एकैपटक अलि धेरै खानेकुरा बोकेर जंगल पसे भने धेरै दिनपछिमात्रै बाहिर निस्कन्छन् ।
स्थानीय तुलमाया तामाङका अनुसार शमशेर ३० वर्षको छँदा हराएका थिए । धेरै दिन गाउँमा देखिएका थिएनन् । ९/१० वर्षयता उनी पुनः गाउँ वरपर देखिन थालेका हुन् । जंगल, ओडार, पाखोबारी, खोला किनारमा शमशेरको बास हुन्छ । उनले ४० वर्ष बढी समय जंगल, खोलानाला किनार, ओडारलगायतमा बितेको बताए । ‘म यतै कतै थिएँ । जंगल, खोलानाला किनार, ओडारमा थिएँ । मलाई मान्छेले देख्ने ठाउँमा बस्न मन लाग्दैन । एक्लै बस्न मन छ,’ गुरुङ र तामाङ भाषा बोल्ने उनले भने, ‘पीरले घर छाडेको हुँ ।’
विगत सम्झन मन नभएको उनले बताए । ‘मलाई यहीँ ठीक छ । कसैलाई केही भन्नु छैन,’ उनले भने । वडाध्यक्ष सुकबहादुर गुरुङका अनुसार पत्नी र छोराको निधन भएपछि विरक्तिएर तामाङले घर–समाज छाडेका हुन् । गाउँ नजिकै पाखो बारीमा देखिएका उनी कहिले मर्स्याङदी, कहिले दोर्दीकिनार, ओडार तथा जंगलमा बस्दै आएका छन् ।
‘हामी बसोबासको व्यवस्था मिलाउँछौं, आउनोस्, जंगलमा नबस्नोस् भन्दा पनि उहाँ मान्नुहुन्न । आफ्नै सुरको, हुनुहुन्छ । सम्झाउनै सकिन्न,’ वडाअध्यक्ष गुरुङले भने । उनका अनुसार शमशेरको ७३ वर्षको उमेरमा नागरिकता बनेको छ । ‘नागरिकता बनाउनुस् । पैसा (भत्ता) पाइन्छ भन्दा पनि कहाँ मान्ने र ? फकाएर ल्याएर नागरिकता बनाइदियौं,’ उनले भने । वडा कार्यालय, प्रहरीको समन्वयमा कानुनी प्रक्रिया पूरा गरेर गत साउन २० मा उनलाई नागरिकता दिलाइएको हो ।
प्रकाशित : भाद्र १०, २०७६ ०९:४१