१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

डेंगुबाट चितवनमा एकको मृत्यु

पोखरामा ३ सय ५ जनामा संक्रमण

चितवन र कास्की — डेंगुले चितवनमा एक जनाको मृत्यु भएको छ भने पोखरा र चितवनमा संक्रमितको संख्या बढिरहेको छ । स्याङ्जामा
पनि एक व्यक्तिमा डेंगु फेला परेको छ । भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत ७१ वर्षीय पुरुषको डेंगुले मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

डेंगुबाट चितवनमा एकको मृत्यु

कार्यालयका अनुसार साउनयता चितवनमा २ सय ६६ जनामा संक्रमण भेटिएको छ, भरतपुर अस्पतालमा डेंगुका बिरामी थपिइरहेका छन् । पोखरामा सोमबारसम्म डेंगुका बिरामी ३ सय ५ जना पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यले जानकारी दिए । सोमबार मात्रै २५ नयाँ बिरामी भेटिएका छन् ।


स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार नारायणगढ गंगोत्री मार्गमा बस्दै आएका नवलपरासीका पुरुषको साउन ३१ गते मृत्यु भए पनि भदौ ६ गते मात्रै त्यसबारे जानकारी आएको थियो । ज्वरो आएपछि साउन २९ गते उनी उपचारका लागि भरतपुर सामुदायिक अस्पताल गएका थिए ।


त्यसै दिन थप उपचारका लागि चितवन मेडिकल कलेज भर्ना भएका थिए । नारायणगढको गंगोत्री मार्ग, कमलनगर र भरतपुरको बजार क्षेत्रमा डेंगुका बिरामी बढ्न थालेको केसीले जानकारी दिए । ‘समस्या देखिएका ठाउँमा डेंगु नियन्त्रणका लागि चेतनामूलक अभियान चलायौं,’ केसीले भने ।


भरतपुर अस्पतालका सूचना अधिकारी लीला पौडेलका अनुसार आइतबारसम्म डेंगुका ९१ जना बिरामी भेटिएका छन् । २५ जना अटाउने अस्पतालको मेडिकल वार्डको महिला कक्षमा सातजना डेंगु बिरामी छन् । पुरुष वार्डमा दुई जना भर्ना भएका छन् । डेंगु संक्रमण देखिएपछि पूर्वी नेपाल घर भई नारायणगढ क्षेत्रपुर बस्दै आएका राजकुमार र आशा रसाइली भरतपुर अस्पताल भर्ना भएर उपचार गराइरहेका छन् ।


सन् २०१० मा चितवनमा यो रोगले धेरैलाई सताएको थियो । निरीक्षक केसीका अनुसार त्यतिबेला ७ सय ३९ जनामा डेंगु भेटिएको थियो । जसमध्ये पाँच जनाको मृत्यु भएको उनले जानकारी दिए ।


भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिन्टेन्डेन्ट (मेसु) डा. श्रीराम तिवारीका अनुसार डेंगु हुँदैमा कसैको ज्यान गइहाल्दैन तर उपचारमा तदारुकता नदेखाए अन्य समस्या आएर मृत्यु हुन सक्छ । तीन दिनभन्दा बढी ज्वरो आउनु, असाध्यै टाउको दुख्नु, आँखाको गेडी र पछिल्लो भाग दुख्नु, ढाड, जोर्नी तथा मांसपेशी दुख्नु, शरीरमा बिमिरा आउनु डेंगुको लक्षण हो ।


०७४ सालको दसैंमा पनि रत्ननगरमा डेंगुले महामारीको रूप लिएको थियो । पोखरामा डेंगु बिरामी बढ्न थालेपछि त्यसको परीक्षणका लागि बल्ल किट मगाउने तयारी भएको छ । प्रदेशकै ठूलो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले सोमबार किट माग्ने प्रक्रिया थालिएको जनाएको हो ।


किट अभावमा परीक्षण हुन नसकेकाले प्रदेश स्वास्थ्य निर्देशनालयसँग माग्न लागिएको अस्पतालका निर्देशक अर्जुन आचार्यले बताए । अस्पतालले बिरामीलाई निजीमा रिफर गर्दै आएको छ । अस्पतालमा हालसम्म ३ जनाको मात्र उपचार भएको थियो । निजी अस्पतालमा किटको खर्च बिरामीले तिर्दै आएका छन् ।


गण्डकी मेडिकल कलेजका डेंगु फोकल पर्सन महेश बन्जराका अनुसार किटको खपत धेरै छ । ‘डेंगु बढ्न थालेपछि किटको अभाव भएको छ,’ उनले भने, ‘अहिलेको अवस्थामा दैनिक सय किट खपत हुन्छ ।’ अस्पतालमा सोमबारसम्म आएका ६ सय ७७ जनामध्ये १ सय २८ जनामा डेंगु देखिएको छ । यस्तै फेवासिटी अस्पतालमा ४ सय ५३ किट प्रयोग भएको र १ सय २३ जनामा डेंगु देखिएको अस्पतालका प्रबन्धक त्रिभुवन पराजुलीले बताए ।


उनका अनुसार बिरामीलाई सिधै किट प्रयोग नगरी रगत जाँच गरेर हेरेपछि मात्रै लक्षणको आधारमा किट प्रयोग गरिने पराजुलीले बताए । प्रदेशको स्वास्थ्य निर्देशनालयमा ५ वटा मात्रै किट छन् । सरकारले निःशुल्क दिने घोषणा नभएकाले कुनै अस्पताललाई नदिएको अधिकृत आचार्यले बताए । उनका अनुसार निःशुल्क घोषणा गरिए प्रदेशका सरकारी अस्पताललाई मागअनुसार किट दिन सकिन्छ ।


बिरामीको फेवासिटी, गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र पश्चिमाञ्चल सामुदायिक अस्पताललगायतमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार सेतो र कालो धर्का हुने एडिज, एजिप्टाई र एडिज एलबोपिक्टस नाम पोथी लामखुट्टेले टोकेपछि डेंगु सर्छ । यो लामखुट्टे सामान्यतया एक महिनासम्म बाँच्छ । यो लामखुट्टेले जमेको सफा पानीमा अन्डा पार्छ ।


यसैबीच जिल्ला अस्पताल स्याङ्जामा उपचार गराउन आएका पुतलीबजार नगरपालिका–२ का ३२ वर्षीय पुरुषमा डेंगु देखिएको मेडिकल रेकर्डर सुपरभाइजर बुद्धिसागर अधिकारीले बताए । बिहीबार भर्ना भएर उपचार गरिरहेका उनको ल्याब परीक्षणपछि आइतबार डेंगु पत्ता लागेको हो । उनको स्याङ्जामै उपचार भइरहेको छ । यसअघि गण्डकी प्रदेश राजधानी पोखरालगायत विभिन्न जिल्लामा डेंगु संक्रमित भेटिएका थिए ।

प्रकाशित : भाद्र १०, २०७६ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?