टिपर आतंक रोकिएन

सिनामंगलमा आइतबार एकको मृत्यु
दीपेन्द्र विष्ट

काठमाडौँ — तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको टिपरले आइतबार राति सिनामंगलमा मोटरसाइकललाई ठक्कर दिँदा पासाङ भोटेको मृत्यु भएको छ ।

तीव्र गतिमा आएको टिपरले कार्गो कार्यालयनेर बा८५प ५६९, बा३८प २३९३ र ना४३प ८७३५ नम्बरका तीनवटा मोटरसाइकललाई ठक्कर दिएको थियो । बा८५प ५६९ नम्बरका चालक छाङबुङ भोटे, ना४३प ८७३५ नम्बरका चालक प्रमोद धिताल घाइते भए भने बा३८प २३९३ नम्बर मोटरसाइकलका चालक भोटेको मृत्यु भयो । मोटरसाइकलमा सवार सिसम वाग्ले र प्रवीन धिताल पनि घाइते भएका छन् ।

टिपर र ट्रकको ठक्करबाट मानिसको मृत्यु भएको यो नौलो घटना होइन । एक वर्षअघि स्कुटरमा यात्रारत २४ वर्षीया अस्मिता भण्डारीलाई काठमाडौंको जडीबुटी चोकमा बा४ख ३५५० नम्बरको टिपरले किचेर मृत्यु भयो । गत वर्ष असारमा भक्तपुरकै सानोठिमीमा टिपरको ठक्करबाट चेतबहादुर थापाको ज्यान गयो । गत वर्ष जेठमा भक्तपुर साँगामा टिपरकै कारण हरि कटुवाल, सविता घिमिरे र अविन्द्र घिमिरेको ज्यान गएको थियो ।

मुलुकभर सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने गरेको तथ्यांक छ । आर्थिक वर्ष २०७५/७६ मा मात्र २ हजार ७ सय ६२ जनाको दुर्घटनामा मृत्यु भएको प्रहरी प्रधान कार्यालयअन्तर्गतको ट्राफिक प्रहरी निर्देशनालयको तथ्यांक छ । मुलुकभर २१ हजार ६ सय ५४ सवारी दुर्घटना भएका थिए । निर्देशनालयका अनुसार टिपर र ट्रकसँग जोडिएका ८० प्रतिशत दुर्घटनामा चालकको लापरबाही देखिएको छ ।

सवारी दुर्घटना र त्यसबाट घाइते र मृत्यु हुनेको संख्या प्रत्येक वर्ष बढ्दै गएको देखिन्छ । आव २०७३/७४ मा १६ हजार ५ सय १५ वटा दुर्घटना भएका थिए । त्यसमा टिपर र ट्रकका कारण मात्र भएका दुर्घटना २ हजार २ सय ३० वटा थिए । दुर्घटनामा २ हजार ३ सय ८४ जनाको मृत्यु भएको थियो । यस आर्थिक वर्षमा चालकको लापरबाहीले गर्दा भएका दुर्घटना संख्या ७ हजार ४ सय ८७ थिए । आव ०७४/७५ मा १८ हजार ३४ वटा दुर्घटना भएका छन्, जसमा टिपर र ट्रकका कारणले मात्र २ हजार ४ सय ३० दुर्घटना भएका थिए ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख वसन्त पन्त टिपर दिउँसो चलाउन बन्द गरे पनि दुर्घटना भइरहेको बताए । सडक लेन अनुशासन उल्लंघन गर्ने, तीव्र गतिमा गाडी कुदाउने, जथाभाबी ओभरटेक गर्ने, गाडी चलाउँदा मोबाइलमा कुरा गर्ने, गीत सुन्नेजस्ता कारणले पनि दुर्घटना बढिरहेको उनले बताए । ‘गन्तव्यमा पुग्न तँछाडमछाड गर्छन्,’ उनले भने, ‘ट्रिप गरेर बढी कमाउन तीव्र गतिमा चलाउँछन् ।’ टिपर अन्य गाडीको तुलनामा बलियो हुने भएकाले चालकले सामान्य ठोक्किँदा फरक पर्दैन भन्ने मनोविज्ञानबाट तीव्र गतिमा चलाउने गरेको उनले बताए ।

उपत्यकामा मात्र पछिल्लो एक वर्षमा टिपरले ठक्कर दिएर मृत्यु भएकाको संख्या १२ पुगेको छ । महाशाखाको तथ्यांकअनुसार आव २०७५/७६ मा २७ सय ९ दुर्घटना टिपर र ट्रकबाट भएका थिए । यीसमेतका सडक दुर्घटनामा परी उपत्यकामा २ सय ५४ जनाको मृत्यु भएको थियो । यी दुर्घटनामध्ये अधिकांशमा चालकको लापरबाही नै मुख्य कारण देखिएको छ ।

नेपाल प्रहरीका पूर्वएआईजी जयबहादुर चन्द दण्ड जरिवानाको व्यवस्थै संशोधन गर्नुपर्ने बताउँछन् । ‘अनुगमन फितलो हुन भएन, चालक शिक्षाको पनि कमी छ,’ उनले भने । सडकको नाजुक अवस्था पनि दुर्घटनाको कारक रहेको उनले बताए ।

‘बिनाइन्जिनियरिङ सडक निर्माण गरिएको छ,’ उनले भने । टिपर दुर्घटनाको जिम्मेवार चालक नै भएको यातायात व्यवस्था विभागका महानिर्देशक गगन हमालले बताए । ‘टिपर चालक निकै अराजक छन्,’ उनले भने ।

प्रकाशित : भाद्र १०, २०७६ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्

नयांँ सहर निर्माणमा प्रगति भएन

दीपेन्द्र विष्ट

काठमाडौँ — सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले नयाँ सहर निर्माणमा अनियमितता गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा आइतबार सांसदहरूले सघन सहरी विकास कार्यक्रममा अनियमितता भएको भन्दै प्रश्न उठाएपछि उनले कसैलाई छुट नदिने बताए । 

मन्त्री राईले तत्काल अनुगमन गरी दोषीमाथि कारबाही गर्न सचिव मधुसूदन अधिकारीलाई निर्देशनसमेत दिए । ‘गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइए ठेकेदार र कर्मचारीलाई छोडिँदैन,’ उनले भने, ‘एक इन्च पनि कमसल काम भए मन्त्रालयले कानुनअनुसार कारबाही अघि बढाउँछ ।’ स्थानीयको अवरोध तथा स्थान अभावमा नयाँ सहरमा ल्यान्डफिल साइट निर्माणको काम ठप्प भएको मन्त्रीले बताए ।

समिति सभापति कल्याणी खडकाले नयाँ सहर निर्माण गर्दै जाने नीतिअनुसार प्रगति हुन नसकेको भन्दै कारण पहिचान गरी काम अघि बढाउन सरकारलाई निर्देशन दिएकी छन् । समितिले नयाँ सहर व्यवस्थापनमा भएका प्रगति तथा काठमाडौं उपत्यकाको फोहोर संकलन र व्यवस्थापनका सम्बन्धमा समेत जानकारी लिएको छ ।

सरकारले मध्यपहाडी लोकमार्गमा १० नयाँ सहर निर्माण गरिरहेको छ । २० वर्षमा प्रत्येक सहरमा एक लाख जनसंख्या बसाउने महत्त्वाकांक्षी योजनासाथ पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी–गल्छी, तनहुँको डुम्रे, बागलुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम, अछामको साँफेबगर र बैतडीको पाटनलाई नयाँ सहर घोषणा गरिएको हो ।

झन्डै एक दशकदेखि सरकारले प्रत्येक वर्ष एक अर्बभन्दा बढी रकम नयांँ सहरको भौतिक पूर्वाधार विकासका लागि विनियोजन गर्दै आएको छ । सहरमा शिक्षा, सडक, बिजुली, मनोरञ्जनलगायत व्यवस्था, भौतिक संरचनाको विकास गर्ने योजना छ । पहाडबाट तराईमा तीव्र बसाइँसराइ हुन थालेपछि सरकारले त्यसलाई रोक्न महत्त्वाकांक्षी योजना अघि सारेको हो ।

जमिनको उपलब्धता, आर्थिक विकासको सम्भाव्यता, बस्तीको स्थिति, जनसंख्या, यातायात सुगमतालगायत आधारमा ५ वर्षअघि सरकारले २० वर्षे गुरुयोजना प्रतिवेदन तयार गरी चरणबद्ध रूपमा सहर विकास गर्ने लक्ष्य राखेको हो । विभागका अनुसार अछामको साँफेबगर र रुकुमको चौरजहारीमा केही भौतिक संरचना निर्माण भइसकेका छन् । वसन्तपुर र धादिङको बैरेनीमा पनि निर्माणबारे अध्ययन भइरहेको छ ।

फिदिम, वसन्तपुर, चौरजहारी र पाटनमा बसपार्क निर्माण जारी छ । मन्त्रालयका अनुसार १० वटै सहरमा ६२ किमि सडक निर्माण गर्ने लक्ष्य रहे पनि ४८ किमि निर्माण भइरहेको छ । एकीकृत सरकारी अवधारणाअनुसार ८ वटा कार्यालय भवन निर्माण भइसकेका छन् । सहरको पूर्ण विकासका लागि करिब ५० अर्ब रुपैयाँ लाग्ने विभागको अनुमान छ । त्यसअनुसार प्रत्येक सहर विकासका
लागि ५ अर्ब रुपैयाँ लाग्नेछ ।

ती स्थानमा खानेपानी, सडक, बत्तीलगायत पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिइएको विभागले जनायो । ती ठाउँमा भौतिक पूर्वाधार तयार भएपछि नजिकका क्षेत्रबाट बसाइँसराइको क्रम बढ्ने र बसोबासको चापसमेत बढ्ने अनुमान गरिएको छ ।

प्रकाशित : भाद्र ९, २०७६ ०८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्