'फ्लोरा अफ नेपाल’ २० वर्षमा एउटा अंक

वनस्पतिहरुको 'संविधान’ मानिने पुस्तक प्रकाशन ढिलाइ हुनुमा सरोकारवाला संस्थाहरुले एकअर्कालाई दोष दिने गरेका छन् ।
गोविन्द पोखरेल

काठमाडौँ — उन्युँ र फूल फुल्ने/नफुल्ने वनस्पतिहरूको विवरण ‘फ्लोरा अफ नेपाल’ १० वर्षमा १० वटा प्रकाशन गर्ने समझदारीअनुरूप काम सुरु गरिए पनि २० वर्षमा एक अंक मात्र छापिएको छ । अन्य अंक कहिले प्रकाशन हुने, टुंगो पनि छैन । 

'फ्लोरा अफ नेपाल’ २० वर्षमा एउटा अंक

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), टोकियो विश्वविद्यालय, बेलायतको प्राकृतिक विज्ञान संग्रहालय र रोयल बोटानिकल गार्डेन इडिनवर्गबीच सन् १९९९ मा १० वर्षभित्रमा फ्लोरा अफ नेपाल प्रकाशन गर्ने समझदारी भएको थियो । सन् २०११ मा अंक ३ मात्रै प्रकाशित भएको छ ।


बोटबिरुवाहरूको विवरण समावेश गरेर तयार गरिने यस्तो पुस्तकलाई वनस्पतिहरूको ‘इन्साइक्लोपोडिया’ अथवा वनस्पतिहरूको ‘संविधान’ का रूपमा व्याख्या गर्ने गरिन्छ । अन्य देशले पनि आफ्ना वनस्पतिको विवरण संग्रह गरेर किताब निकालेका छन् । नेपालले भने यस्तो किताब प्रकाशन गरेको छैन । फ्लोरा अफ नेपालले जैविक विविधता संरक्षणका लागि महत्त्वपूर्ण भूमिका खेल्ने वनस्पतिविद् प्रमोदकुमार झा बताउँछन् । प्रकाशन ढिलाइका विषयमा संस्थाहरू अर्कोलाई औंल्याउँदै पन्छिने गरेका छन् ।


वनस्पति विभागका महानिर्देशक सञ्जीवकुमार राईले समझदारीपत्रमा हस्ताक्षार भएको १० वर्षभित्र फ्लोरा अफ नेपाल तयार हुनुपर्ने भए पनि मुख्य जिम्मेवार नास्टले समन्वय नगर्दा ढिलाइ भएको दाबी गरे । प्रकाशनमा विभागले प्राविधिक सहयोग गरिरहेको उनले जानकारी दिए ।


नास्टले वनस्पति विभाग, त्रिवि केन्द्रीय वनस्पति विज्ञान क्याम्पस र गोदावरीस्थित राष्ट्रिय हरबेरियम तथा वनस्पति प्रयोगशालासँग प्रकाशनका लागि सहकार्य गरेको जनाएको छ । वनस्पति विभागले हरबेरियम उपलब्ध गराउने र त्रिवि केन्द्रीय वनस्पति क्याम्पसले दक्ष जनशक्ति उपलब्ध गराउने समझदारी भएको थियो ।


फ्लोरा अफ नेपालका लागि भनेर राष्ट्रिय हरबेरियम तथा वनस्पति प्रयोगशलामा एक लाख ६० हजार वटा वनस्पतिको नमुना संकलन गरिसकिएको छ । अंक (भोलुम) ७ को जिम्मेवारी जापान, ४ को बेलायत र ३ र १० को जिम्मा नेपाललाई दिइएको छ । अंक ७ र ४ प्रकाशन गर्ने जिम्मेवारी पाएका जापान र युकेका संस्थाले प्रगति नेपाललाई नबुझाए पनि अनलाइनमा केही जानकारी तथा कामको विवरण राखिएका छन् ।


२०११ मा प्रकाशित अंक ३ मा फूल फुल्ने ६ सय प्रजातिका वनस्पतिको विवरण समावेश छ । अंक १० मा मोनोकोट्सलाई राखिएको छ, जसमा दुइटा भाग रहेको लेखन समूहका सम्पादक केशवराज भण्डारीले जानकारी दिए । उनका अनुसार एउटा भागमा मोनोकट र अन्य परिवारका वनस्पतिलाई समावेश गरिएको छ र अर्को भागमा सुनाखरी परिवारका वनस्पतिलाई समावेश गरिएको छ । भोलुम १० को काम चाँडै सुरु हुने उनले जानकारी दिए ।


यसमा ५ सय देखि ६ सय प्रजातिका वनस्पति रहनेछन् । नेपालका वनस्पति प्रकाशनमा भएको ढिलाइबारे आफू गम्भीर रहेको नास्टका उपकुलपति सुनीलबाबु श्रेष्ठले बताए । ‘म नास्ट आएको ६ महिना मात्र भयो । फ्लोरा अफ नेपाल चाँडै प्रकाशन गर्नुपर्छ भनेर नयाँ कार्ययोजना बनाउन लागेका छौँ,’ उनले भने । उनले सन् २०२२ सम्म फ्लोरा अफ नेपालका ४ वटा अंक प्रकाशन गरिसक्ने तयारी भइरहेको जानकारी दिए ।


नेपालले भने सन् १९९२ मा भएको अन्तर्राष्ट्रिय जैविक विविधता सन्धिमा सन् २०२० भित्र जैविक विविधताअन्तर्गत वनस्पतिको विवरण तयार गरिसक्ने प्रतिबद्धता जनाएको थियो । सरकारको ‘राष्ट्रिय जैविक विविधता रणनीति एवं कार्ययोजना २०१४–०२०’ मा पनि २०२० सम्म वनस्पतिको विवरण प्रकाशन गर्ने उल्लेख छ ।


फ्लोरा अफ नेपालसम्बन्धी कार्यशाला गोष्ठी २००० अक्टोबर २५ मा गरिएको थियो । गोष्ठीले वनस्पति विभागलाई ‘फ्लोरा अफ नेपाल’ तयारी र त्रिभुवन विश्वविद्यालय केन्द्रीय वनस्पति विभागलाई मानव संसाधन विकास र तथ्यांकधार व्यवस्थापनको जिम्मेवारी दिएको थियो । नास्टले परियोजना कार्यान्वयनमा समन्वय र सहजकर्ताका साथै अन्तर्राष्ट्रिय सहभागिता तथा प्राविधिक एवं आर्थिक सहयोग जुटाउन र परिचालन गर्न प्रमुख भूमिका निर्वाह गर्ने भनिएको थियो ।


सम्पादकहरूको मनोनयन, फ्लोराको तयारी र प्रकाशनसम्बन्धी सम्पूर्ण नीतिगत तथा प्राविधिक विषय परामर्श लिन फ्लोरा अफ नेपाल राष्ट्रिय कार्यालय नास्टमा हुने उल्लेख छ । यसका लागि सबै किसिमका वानस्पतिक सर्वेक्षण, बिरुवा संकलन तथा हर्बेरियम संग्रहको काम भने भइसकेको छ ।

प्रकाशित : भाद्र १०, २०७६ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?