नेकपा बैठक : नेतृत्वको टिप्पणी गरे अनुशासन कारबाही

पार्टीको नीति वा नेतृत्वविरुद्ध लेख्ने, बोल्ने वा गतिविधि गर्नेलाई स्पष्टीकरण सोधिने 

काठमाडौँ — नेकपाले पार्टीको नेतृत्वमाथि सार्वजनिक रूपमा टिप्पणी गर्न रोक लगाएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबाट बैठक सञ्चालन अनुमति पाएपछि पहिलो पटक अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । अब पार्टीले सार्वजनिक टिप्पणी गर्नेलाई अनुशासनको कारबाही गर्नेछ । 

नेकपा बैठक : नेतृत्वको टिप्पणी गरे अनुशासन कारबाही

पछिल्लो समय नेता, कार्यकर्ताले नेतृत्वमा रहेकाहरूलाई सार्वजनिक रूपमा टिप्पणी गर्ने क्रम बढेको थियो । विशेषगरी सामाजिक सञ्जालमा नेताहरू लाञ्छित टीकाटिप्पणी तीव्र थिए । कुनै नेता विशेषसँगको निकटता देखाउन पनि सार्वजनिक टिप्पणी गर्नेक्रम बढेकाले त्यसलाई नियन्त्रण गर्न पार्टीले अनुशासनको कारबाही गर्ने निर्णय गरेको हो ।


‘कुनै पनि विषयमा नेताहरूमाथि चित्त नबुझे पार्टीका सम्बन्धित कमिटीमा छलफलको विषय बनाउन सकिन्छ,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘तर पार्टीमा छलफल नगरे अनुशासनको कारबाही हुन्छ ।’


बैठकले विधानको व्यवस्थाअनुसार प्रस्तुत हुन निर्देशनसमेत दिएको छ । ‘बैठकले पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा सदस्यलाई पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा असहमति, आलोचना वा विरोध भए पार्टी विधानको व्यवस्थाबमोजिम प्रस्तुत हुन र अन्तरपार्टी जनवादको भरपुर उपभोग गर्न निर्देशित गरेको छ,’ बैठकपछि महासचिव विष्णु पौडेलद्वारा जारी सर्कुलरमा भनिएको छ, ‘पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा सार्वजनिक रूपमा विरोध वा आलोचना नगर्न निर्देशित गरेको छ ।’


पार्टीको नीति वा नेतृत्वविरुद्ध लेख्ने, बोल्ने वा गतिविधि गर्नेहरूप्रति पार्टी विधानबमोजिम स्पष्टीकरण सोधिने र कारबाही अघि बढाइने पनि निर्णय भएको महासचिव पौडेलले बताए । पार्टीका बैठकमा नेताहरूबीच पनि व्यक्तिगत लाञ्छना लगाउने गरी टिप्पणी हुने गरेका थिए । यसअघिको सचिवालय बैठकमा व्यक्तिगत टिकाटिप्पणीका कारण शीर्ष नेताबीच भनाभनसमेत भएको थियो । अब यी विषय पार्टी अनुशासन उल्लंघनका विषय बन्नेछन् ।


चार केन्द्रीय सदस्य मनोनीत

नेकपाले पछिल्लो समय पार्टी प्रवेश गरेका चार जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । तत्कालीन नयाँशक्ति पार्टीबाट प्रवेश गरेका कल्पना धमला, देवेन्द्र पराजुली र नेत्रविक्रम चन्द समूह छाडेका पदम राई एवं किरण राईलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

बैठकले केही विभागमा उमप्रमुखको संख्या बढाएको छ । माधवकुमार नेपालले नेतृत्व गर्ने विदेश विभाग उपप्रमुखमा विष्णु रिजाललाई थपेको छ । यसअघि राम कार्कीलाई पनि उपप्रमुखको जिम्मेवारी दिइएको थियो । त्यस्तै प्रेस संगठनको सहइन्चार्जको जिम्मेवारी महेश्वर दाहाललाई दिइएको छ । स्कुल विभाग उपप्रमुखमा यसअघि वेदुराम भुसाललाई थपिसकेको छ ।

प्रकाशित : भाद्र ९, २०७६ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?