म्यानपावर कम्पनीले २ करोड धरौटी राख्न थाले 

कान्तिपुर संवाददाता

काठमाडौँ — वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी)ले सरकारले निर्धारण गरेमध्ये तत्कालको लागि सबैभन्दा कम धरौटी २ करोड रुपैयाँ धरौटी राख्न थालेका छन् । सोमबारसम्म एकसय ९ वटा म्यानपावरले ५० लाख रुपैयाँ नगद र एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी राखिसकेका छन् । ७६ वटा म्यानपावरले एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी राखेका छन् । 


सरकारले म्यानपावरको संख्यालाई नियन्त्रण गर्न र पीडित कामदारले पाउने क्षतिपूर्तिलाई ग्यारेन्टी राख्नका लागि बैंक धरौटी बढाएको थियो। जसमा भदौ १६ गतेभित्र नयाँ धरौटी रकम जम्मा गर्न समय तोकेको थियो। ‘सरकारले कामदार पठाउने संख्याको आधारमा फरक फरक धरौटी रकम निर्धारण गरेको छ,’ विभागका महानिर्देशक भीष्मकुमार भुसालले कान्तिपुरलाई भने,‘अहिलेको अवस्थामा हेर्दा म्यानपावरको रोजाईमा निर्धारित मध्ये कम धरौटी रोजाइमा परेको छ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदार पठाउने संख्याको आधारमा ३ तहको धरौटी रकम निर्धारण गरेको थियो। जसमा वर्षमा ३ हजार कामदार पठाउने म्यानपावरले ५० लाख नगद र एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी, वार्षिक ५ हजार सम्म कामदार पठाउने म्यानपावरले एक करोड नगद र २ करोड बैंक धरौटी र वार्षिक ५ हजार भन्दा बढी कामदार पठाउने म्यानपावरले दुई करोड रुपैयाँ नगद र चार करोड बैंक ग्यारेन्टी राख्नुपर्नेछ।

म्यानपावर व्यवसायीले आवश्यक परेमा पछि थप्ने योजना बनाएका छन्। ‘अहिलेको अवस्था व्यवसायीको लागि कठिन छ। प्रमुख गन्तव्य मलेसिया बन्द छ। खाडीमा पहिलेजस्तो अवसर छैन,’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले भने,‘अवस्थामा सुधार आएमा थप रकम थप्दै जानेछौँ।’

भदौ १६ गतेभित्र धरौटी नबुझाउने म्यानपावरको कारोबार रोक्का हुने विभागले जनाएको छ। ‘भदौ १६ भित्र धरौटी नबुझाउने म्यानपावरको कारोबार रोकिनेछ,’ भुसालले भने,‘यो मिति थपिने स्थिति छैन।’ उनले म्यानपावर कम्पनीलाई मर्जरको सुविधा समेत दिइएको बताए। ‘एउटै घरका सदस्यले एकभन्दा बढी म्यानपावर सञ्चालन गर्न पाइने अनुमति छैन। उनीहरुलाई मर्जरको सुविधा दिइएको छ,’ उनले भने।

वर्षमा १० हजारभन्दा बढी कामदार पठाउने म्यानपावरले समेत धरौटी कम राखेको छ। विभागले कामदारको संख्या बढेमा पछि धरौटीपनि बढी राख्ने व्यवस्थाबारे कानुनी विषय स्पष्ट नभएको जनाएको छ। ‘जति धरौटी राखिएको छ। त्यो अनुसार कामदार पठाउन मिल्छ। आफ्नो सिमा भन्दा बढी कामदार जाने अवस्थाले थप धरौटी राख्नुपरेमा लिने कि नलिने भन्ने विषयमा स्पष्ट छैन,’ उनले भने,‘त्यस्तो अवस्था आएमा थप व्याख्या हुनुपर्छ।’ विभागमा १२ सय ३५ म्यानपावर दर्ता भएकोमा ११ सय ४२ ले कामदार पठाउन पाएका छन्। ९३ वटा म्यानपावरको कारोवार रोक्का गरिएको छ।

प्रकाशित : भाद्र ९, २०७६ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्

पुडासैनी आत्महत्या प्रकरण : रवि र युवराजसँग धरौटी माग, अस्मितालाई साधारण तारेख

रमेशकुमार पौडेल

चितवन — पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टिभी कार्यक्रम सञ्चालक रवि लामिछाने, पत्रकार युवराज कँडेललाई धरौटीमा र अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।

जिल्ला अदालतले रविलाई ५ लाख रुपैयाँ, युवराज कँडेललाई ३ लाख रुपैयाँ र अस्मिता कार्कीलाई सामान्य तारेखमा छोड्न आदेश दिएको श्रेस्तेदार रुद्रमणी गिरीले जानकारी दिएका छन्।

आइतबार तीनजना विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो। आइतबार ढिला गरी अभियोग पत्र दर्ता भएपछि अस्मिता कार्कीको मात्रै बयान गरेर तीनैजनालाई अदालतले न्यायीक हिरासतमा राखेको थियो। सोमबार बिहानै सुरुमा युवराज कँडेल र त्यसपछि रविको बयान भएसँगै थुनछेक बहस प्रारम्भ भएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनले हिजै सम्पूर्ण अनुशन्धान पुरा गरी फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको थियो।

रवि लगायत तीनैजना विगत ११ दिनदेखि प्रहरी हिरासत थिए।

आत्महत्या दुरुत्साहनका आरोपी रवि लामिछानेको रिहाइको माग गर्दै चितवन जिल्ला प्रहरी कार्यालय परिसरमा हुलदंगा मच्चाउनेमाथि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो।

प्रकाशित : भाद्र ९, २०७६ १८:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्