१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

टीकापुरमा थरुहट/थारुवान सम्मेलन सकियो

गणेश चौधरी

टीकापुर — १५ बुँदे घोषणापत्र जारी गर्दै टीकापुरमा थरुहट/थारुवान सम्मेलन सकिएको छ । थरुहट/थारुवान प्रदर्शनका क्रममा भएको टीकापुर घटनापछि थरुहट आन्दोलन सेलाएको थियो । सम्मेलनबाट आन्दोलनलाई थारु अगुवाहरुले चार वर्षपछि फेरि निरन्तरता दिने भएका छन् ।

टीकापुरमा थरुहट/थारुवान सम्मेलन सकियो

उनीहरुले थरुहट प्रदेशको माग पूरा गराउन आन्दोलनलाई निरन्तरता दिने भएका हुन् ।


थारु नेता लक्ष्मण थारुको संयोजकत्वमा एकसय एक सदस्यीय थरुहट/थारुवान राष्टिय मोर्चा गठन गरिएको छ ।


मोर्चाले सम्मेलनको घोषणापत्रमार्फत शान्तिपूर्ण एवं अहिंसात्मक थरुहट आन्दोलनका क्रममा टीकापुर घटना पश्चात षड्यन्त्रपूर्वक विभिन्न अभियोगमा झुठा मुद्दा लगाइ फसााइएका थरुहट राजबन्दीहरु कैलाली क्षेत्रं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मा. रेशमलाल चौधरी, विरबहादुर चौधरी, हरिनारायण चौधरी, लगायत थरुहट आन्दोलनकारी सबैको झुठा मुद्दालाई सरकारले राजनीतिक घटनाकोरुपमा लिँदै राजनीतिक संवाद, सहमती र निर्णयको आधारमा मुद्दा फिर्ता, खारेजी तथा आममाफी गरी बन्दीहरुलाई निःसर्त रिहाइ गर्नुपर्ने, टीकापुर घटना बारे सत्य तथ्य छानबिन गर्नका लागि तत्कालिन नेपाल सरकारले पूर्व न्यायाधीश गिरिश चन्द्र लाल नेतृत्वको न्यायीक समिति, गृहमन्त्रालयद्वारा अनुसन्धानका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलिय संसदीय समितिको प्रतिवेदनहरु सार्वजनिक गर्नुपर्ने माग गरेको छ ।


थरुहट आन्दोलनको क्रममा टीकापुर घटना पश्चात २०७२ भदौ ८ गते निशेधाज्ञा कर्फ्यू लागेकै समय थारुहरुको घर पसल तथा व्यवसायीक केन्द्रहरुमा गरिएको आगजनी,लुटपात, डाँकाचोरी गर्ने तथा संलग्न अपराधीहरुलाई तुरुन्त पक्राउ गरी कानुन बमोजिम कडाभन्दा कडा कारबाही गर्नुपर्ने लगायतका छन् ।


घटना भएको ०७२ भदौ ७ गतेकै दिन मुलुकभरीका थारु अगुवाहरुको टीकापुरमा भएको राष्ट्रिय सम्मेलनमा आन्दोलन गर्ने प्रस्ताव गरिएको थियो ।


सम्मेलनले तीन चरणमा आन्दोलन गर्ने घोषणा गरेको छ । पहिलो चरणमा प्रचारात्मक कार्यक्रमहरु रहने, दोस्रो चरणमा सभा सम्मेलन र तेस्रो चरणमा सशक्त कार्यक्रमहरु रहने जनाइएको छ ।


वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र डेढ वर्षीय बालक टेकबहादुर साउदको मृत्युपछि आन्दोलन तुहिएको थियो । त्यही क्रममै संविधान जारी भयो । टीकापुर घटनामा संलग्न थारु आन्दोलनकारीहरुलाई जेल सजाय सुनाएपछि आन्दोलन हाँक्न कोही तयार देखिएनन् । थरुहट प्रदेशको माग पूरा नभएको भन्दै केही स्थानमा विरोध भए । तर माग अपुरो भएपछि लामो समयको अन्तरालपछि टीकापुरमा थरुहट/थारुवन राष्ट्रिय सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनले लामो समयको मौनता तोडेको थारु अगुवाले बताए ।



प्रकाशित : भाद्र ९, २०७६ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?