कान्तिपुर दैनिकको प्रधान सम्पादकमा सुधीर शर्मा

काठमाडौँ — कान्तिपुर दैनिकको प्रधान सम्पादकमा सुधीर शर्मा नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले सोमबार पब्लिकेसन्समा आयोजित एक समारोहबीच शर्मालाई प्रधान सम्पादक नियुक्त गरिएको घोषणा गरे । 

कान्तिपुर दैनिकको प्रधान सम्पादकमा सुधीर शर्मा

सिरोहियाले सोमबार नै प्रधान सम्पादक नारायण वाग्लेले दिएको राजीनामा स्वीकृत गरिएको समेत उनले जानकारी गराए ।


शर्माले यसअघि १० वर्षसम्म कान्तिपुर दैनिकको नेतृत्वमा रहेर १३ महिना अघि राजीनामा गरेका थिए ।


‘उहाँले व्यक्तिगत कारणबाट यो पब्लिकेसन्ससँग अलग हुने निर्णय गर्नुभएको छ,’ अध्यक्ष तथा प्रबन्ध निर्देशक सिरोहियाले भने, ‘उहाँको अनुभव, इमान्दारिता र व्यावसायिकताका लागि धन्यवाद दिन चाहन्छौं ।'


समारोहमा बिदाई भएका प्रधान सम्पादक वाग्लेले अहिले मुलधारका सञ्चार माध्यमलेभन्दा भीडले जनमत बनाएर समाज अगाडि बढिरहेकोले त्यसलाई चिर्नु मिडियाका लागि चुनौती रहेको बताए । उनले शर्माको नेतृत्वमा कान्तिपुर र पत्रकारिता थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।


नवनियुक्त प्रधान सम्पादक शर्माले विगतमा वाग्लेकै उत्तराधिकारीका रूपमा कान्तिपुर दैनिकको समाचार कक्षलाई आफूले नेतृत्व गरेको र फेरि पनि वाग्लेकै उत्तराधिकारीका रूपमा फर्केर आउन पाउँदा खुसी लागेको बताए ।


‘मैले लामो समय यही हाउसमा पत्रकारिता गरेँ, छाडेर बाहिर रहेँ । यसबीच मैले सँगालेको अनुभवबाट सिकेर हामी अगाडि बढ्ने छौं,’ उनले भने, 'अहिलेको हाम्रो प्रमुख चुनौती नारायणजीले भने जस्तै सामाजिक सञ्जाल र सडकमा भीडले बनाउने जनमत नै हो । समाजलाई सही दिशा दिएर जनमत निर्माण गर्ने कार्यमा हामी सबै मिलेर लाग्नुको विकल्प छैन ।'


समारोहमा कान्तिपुर मिडिया ग्रुपका पूर्व प्रमुख कार्यकारी अधिकृत सम्भव स्वाँर सिरोहिया, दि काठमाडौं पोस्ट प्रधान सम्पादक अनुप काफ्ले, नेपाल साप्ताहिकका सम्पादक बसन्त बस्नेत, साप्ताहिकका प्रधान सम्पादक सुवास ढकाल, कान्तिपुर टेलिभजनका प्रधान सम्पादक प्रशान्त अर्याल, रेडियो कान्तिपुरका स्टेसन म्यानेजर दिनेश डिसी, रेडियो कान्तिपुरका समाचार संयोजक पवन आचार्यलगायतका पत्रकारहरूको सहभागिता थियो ।

प्रकाशित : भाद्र ९, २०७६ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?