हिल्सामा चिनियाँ मोबाइलको भर

छपाल लामा

सिमकोट — चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाका हिल्सामा बसोबास गर्ने स्थानीयका लागि चिनियाँ मोबाइलको विकल्प छैन । त्यही मोबाइलमा महँगो शुल्क र रिचार्ज गर्न समस्या हुँदा निकै सास्ती खेप्नुपरेको स्थानीय बताउँछन् ।

हिल्सामा चिनियाँ मोबाइलको भर

हिल्सामा व्यापार–व्यवसाय र अन्य कामका लागि करिब २ सय नेपाली बसोबास गर्छन् । चिनियाँ मोबाइलका सिम भने करिब सयवटा प्रयोगमा रहेका छन् । हिल्सामा प्रयोग हुने सिम दुईखाले ५० युआन (८ सय ५० रुपैयाँ) र सय युआन (एक हजार ७ सय रुपैयाँ) मूल्य पर्ने छन् ।

नाम्खा गाउँपालिका १ घर भई हिल्सामा व्यवसाय गर्ने नरबहादुर लामाले सिम किन्नुभन्दा रिचार्ज गर्नु जटिल हुने गरेको बताए । उनका अनुसार चिनियाँ मोबाइल कम्पनीका रिजार्ज कार्ड नेपालमा जस्तो सहजै पाइँदैन । कम्पनीको कार्यालयमै गएर रिचार्ज गर्नुपर्दा निकै समस्या झेल्नुपरेको उनले बताए ।

पाँच महिनादेखि हिल्सामा होटल व्यवसाय गर्दै आएका इन्द्र लामाले आफ्नो देशमा बसेर अर्काको देशको मोबाइल प्रयोग गर्नुपर्दा निकै दुःख लाग्ने गरेको बताए । उनका अनुसार चिनियाँ सिमबाट नेपाली सिममा सम्पर्क गर्दा महँगो पर्ने गरेको छ । नेपाली सिममा फोन गर्दा प्रतिमिनेट १५ रुपैयाँसम्म पर्छ ।

नेपालबाट १४२४ डायल गरेर फोन गर्दा भने प्रतिमिनेट ३ रुपैयाँ शुल्क लाग्ने गरेको छ । त्यसैले गर्दा हिल्सामा बस्ने नेपालीले नेपालमा फोन गर्नुपरे ‘मिसकल’ गर्ने गर्दछन् । ‘नेपाल टेलिकमको सेवा नभएपछि महँगो नै भए पनि चिनियाँ सिम प्रयोग गर्न बाध्य छौं,’ लामाले भने, ‘व्यापार–व्यवसाय र अन्य कामका लागि हिल्सा आएकालाई महँगो नै भए पनि चिनियाँ सिम बोक्नुको विकल्प छैन ।’ आफूले पनि घरपरिवारसँग यही सिमबाट सम्पर्क गर्ने गरेको उनले बताए ।

हिल्सामा रहेको नेपाल प्रहरीलाई नेपाल टेलिकमको सेवा नहुँदा झन् सास्ती खेप्नुपरेको छ । कहिलेकाहीँ सञ्चार सेटले काम नगर्दा अफिसियल सम्पर्क नै विच्छेद हुने गरेको हिल्सास्थित सीमा प्रहरी पोस्टका असई दलबहादुर श्रेष्ठले बताए । स्थानीयलाई चिनियाँ सिमको भर पर्नुपर्नाको प्रमुख कारण नेपाल टेलिकमले आफ्नो सेवा विस्तार नगर्नु हो ।

टेलिकमले नारा लेकमा मोबाइल टावर स्थापना गर्ने योजना बनाए पनि अहिलेसम्म टावर बनिसकेको छैन । प्रमुख जिल्ला अधिकारी विनीता भट्टराईले काठमाडौंबाट आएको टेलिकमको प्राविधिक टोलीलाई छिटो काम गर्न निर्देशन दिएको बताइन् । नेपालीले नेपालमै चिनियाँ मोबाइल सेवाको भर पर्नुपर्ने बाध्यता अन्त्य गर्न सरकारले ठोस पहल गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित : भाद्र ९, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?