कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पोखरामा डेंगुका २८० बिरामी

कास्की — पर्यटकीय सहर पोखरामा एकपटक संक्रमण दर घटेको डेंगुका बिरामी फेरि बढ्न थालेका छन् । आइतबार मात्रै ३८ नयाँ बिरामी थपिएपछि महानगरमा डेंगुको उपचार गराइरहेकाहरूको संख्या २ सय ८० पुगेको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

पोखरामा डेंगुका २८० बिरामी

बिरामीमध्ये सर्वाधिक पोखरा–८ मा ८७ र ९ नम्बर वडामा ७८ जना छन् । पोखरा महानगरका ३३ मध्ये २० वटा वडामा बिरामी पाइएको निर्देशनालयका जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यले बताए ।

बिरामीको फेवासिटी, गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र पश्चिमाञ्चल सामुदायिक अस्पताललगायतमा उपचार भइरहेको छ ।

सचेतनामूलक कार्यक्रम निष्प्रभावी हुँदै गएपछि पुनः डेंगुको संक्रमण बढेको हो । लामो समयसम्म धारामा पानी नआउने घरका ड्रममा पानीको जोहो गर्दा र ग्यारेज तथा घरमा राखिएका गाडीका टायरमा जमेका पानीमा डेंगु सार्ने लामखुट्टे पाइने गरेको छ । स्वास्थ्यकर्मी, जनप्रतिनिधि, प्रशासन, नागरिक समाज, टोल विकास संस्थालगायतले महिना दिनदेखि घरदैलो गरेका छन् । ‘धेरै बिरामी पाइएको वडामा बसपार्क पनि छ, त्यो फोहोर छ,’ अधिकृत आचार्यले भने, ‘लामखुट्टेको लार्भा र फुल नष्ट पार्ने अभियानलाई तीव्रता दिनुपर्ने अवस्था छ ।’

सेतो र कालो धर्का हुने एडिज एजिप्टाई र एडिज एलबोपिक्टस नामको पोथी लामखुट्टेले टोकेपछि डेंगु सर्छ । यो लामखुट्टे सामान्यतया एक महिनासम्म बाँच्छ । लार्भा, प्युपा हुन सक्ने सम्भावित ठाउँ खोजेर नष्ट गर्नुको विकल्प नभएको स्वास्थ्यकर्मी बताउँछन् ।

‘आमा समूह, टोल विकास समिति, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, प्रहरी प्रशासनलगायत लार्भा मार्ने, पुराना टायर निकाल्ने गरेका छौं,’ पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बरालले भने, ‘दुई ट्रक टायर निकालेर फालिसक्यौं, यति नगरे अझ धेरै डेंगु रोगीको संख्या बढ्थ्यो ।’ जिल्ला स्वास्थ्यका भेक्टर कन्ट्रोल निरीक्षक याम बरालका अनुसार अत्यधिक ज्वरो आउने, टाउको, पेट, आँखाको गेडी, जोर्नी, जीउ दुख्ने, वाकवाकी लाग्ने र शरीरमा राता विमिरा देखा पर्नु डेंगुका लक्षण हुन् । कसैकसैलाई रक्तस्राव पनि हुने गर्छ ।

पोखरामा महामारीका रूपमा फैलिएको डेंगु नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारले २१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गत बुधबारको मन्त्रिपरिषद् बैठकले बजेट दिने निर्णय गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए । ‘हामीलाई २५ लाख रुपैयाँको प्रस्ताव आएको थियो,’ उनले भने, ‘बैठकले २१ लाख दिने निर्णय गर्‍यो ।’ डेंगु परीक्षण किट किन्नेलगायत प्रचारप्रसारमा यो बजेट खर्च हुनेछ ।

भैपरी आउने महामारीका लागि सरकारले जम्मा ५ लाख रुपैयाँको मात्र कोष स्थापना गरेको जानकारी दिंदै मन्त्री बस्नेतले भने, ‘आइपरेको खण्डमा छलफल गरेर नै बजेट विनियोजन गर्ने भनेर सानो रकम मात्र कोषमा राखेका थियौं ।’ डेंगु नियन्त्रणका लागि खट्नुपर्ने जिम्मेवार निकायमा दक्ष जनशक्ति नै नभएकाले तत्कालै डेंगु नियन्त्रणको प्रभावकारी कार्यक्रम सञ्चालन गर्न समस्या भएको उनले बताए ।

प्रकाशित : भाद्र ९, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?