१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

चट्टानी पहरो छिचोलेर अरुणपारि

संखुवासभा — अरुण पारिको दुर्गम सिलिचोङ गाउँपालिका क्षेत्रमा सडक पुगेको छ । अरुणपारिको गाउँपालिका भनेर चिनिने सिलिचोङको केन्द्र ताम्कुसम्म सडकको ट्र्याक निर्माण भएको हो । तर वर्षाका कारण गाडी चलेका छैनन् ।

चट्टानी पहरो छिचोलेर अरुणपारि

सिलिचोङ २ मा कडा चट्टान फोरेर बाला पुग्ने सडकको ट्र्याक तयार गरिएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले बताए । ‘वर्षाका बेला गाडी चल्न नसकेपछि हिउँददेखि सिलिचोङमा नियमित गाडी चल्नेछ,’ उनले भने, ‘विकट भौगोलिक अवस्थाका कारण पूर्वाधार विकास गर्न फलामको चिउरा चपाउनुसरह भयो ।’


गाउँपालिका २ को बाला पुग्न डुम्मा भीर छिचोल्ने काम निकै कठिन भएको उनले बताए । करिब दुई किलोमिटर लामो सडक चट्टानै चट्टान छिचोलेर खनिएको हो । स्थानीय प्रेमकुमार राई र चिरञ्जीवी राईको अध्यक्षतामा गठित दुई उपभोक्ता समितिले सडक निर्माण गरेका हुन् । ‘श्रमदानसहित सडक निर्माणमा ४० लाख खर्च भयो,’ अध्यक्ष प्रेमकुमारले भने, ‘बल्ल काम सकियो, गाडी भने हिउँदमा मात्रै चल्नेछ ।’ स्थानीयले श्रमदान गर्दा लक्ष्यभन्दा साढे सात सय मिटर बढी सडक खनेको गाउँपालिका अध्यक्ष रामबहादुरले बताए ।


उपभोक्ता समितिले वडा कार्यालयदेखि स्वास्थ्य चौकीसम्म थप ट्र्याक तयार गरेको हो । अध्यक्ष कुलुङ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायतले सडकको अनुगमन गरेका छन् । सडकको ट्र्याक तयार भएसँगै स्थानीय स्वास्थ्य चौकी भवन निर्माण सहज भएको स्थानीयको भनाइ छ ।


‘वडा कार्यालयसँगैको जग्गामा स्वास्थ्य चौकी भवन बनाउन स्वास्थ्य मन्त्रालयलाई तीन करोड बजेट प्राप्त भएको छ,’ रामबहादुरले भने, ‘अब केही सहज हुने भयो, नभए ढुवानीमै धेरै रकम खर्च हुने गरेको थियो ।’ सडक निर्माणपछि ट्र्याक्टरबाट निर्माण सामग्री लगिने पनि उनले बताए ।


सडक निर्माणपछि किसान हौसिएका छन् । स्थानीय कृषि उपजले मूल्य पाउनेमा उनीहरू विश्वस्त छन् । ‘कृषि उपज बोकेर अर्को स्थानसम्म लैजान सकिँदैनथ्यो,’ मान्तेवाका जयकुमार राईले भने, ‘अब साना सवारीसाधनमा राखेर भए पनि अर्को बजारसम्म तरकारीलगायत वस्तु लैजानेछौं ।’ सडक अभावमा कृषकले उत्पादन गरेका सामग्री गाईबस्तु र खसीबाख्रालाई खुवाउने गरिएको थियो ।


सदरमुकाम खाँदबारीसम्म बिक्रीका लागि ल्याउन नसक्दा हरेक वर्ष लाखौं रुपैयाँको सुन्तला बगानमै खेर गएको उनले बताए । सडक यातायात चलेदेखि यहाँ उत्पादित सबै सामग्रीले मूल्य पाउने उनको भनाइ छ । कच्ची सडक भए पनि वर्षमा ८ महिना चल्नेमा ढुक्क रहेको उनी बताउँछन् । गाउँपालिकाको प्रमुख प्राथमिकता पनि सडक भएकाले अब पहिलेको जस्तो समस्या नहुने उनको भनाइ छ । सिलिचोङबासी अहिले पनि हिँडेरै सदरमुकाम आउजाउ गर्छन् ।


कच्ची सडक केही वर्षअघि नै हेलुवाबेसीसम्म पुगे पनि बर्खाका ४ महिना बन्द हुने गरेको छ । गाउँपालिका क्षेत्रमा सडक निर्माणलाई प्राथमिकतामा राखिएको थियो । पालिकाले धेरै बजेट सडक निर्माणमा खर्चिंदै आएको छ । तर सदरमुकाम खाँदबारीदेखि सिलिचोङ जाने सीधा सडक भने तयार भएको छैन । हेलुवाबेसीमा रहेको अरुण नदीमा पक्की पुल नबनेसम्म खाँदबारी–सिलिचोङ सीधा आउजाउ सम्भव भने छैन ।

प्रकाशित : भाद्र ९, २०७६ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?