कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नयांँ सहर निर्माणमा प्रगति भएन

दीपेन्द्र विष्ट

काठमाडौँ — सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले नयाँ सहर निर्माणमा अनियमितता गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा आइतबार सांसदहरूले सघन सहरी विकास कार्यक्रममा अनियमितता भएको भन्दै प्रश्न उठाएपछि उनले कसैलाई छुट नदिने बताए । 

नयांँ सहर निर्माणमा प्रगति भएन

मन्त्री राईले तत्काल अनुगमन गरी दोषीमाथि कारबाही गर्न सचिव मधुसूदन अधिकारीलाई निर्देशनसमेत दिए । ‘गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइए ठेकेदार र कर्मचारीलाई छोडिँदैन,’ उनले भने, ‘एक इन्च पनि कमसल काम भए मन्त्रालयले कानुनअनुसार कारबाही अघि बढाउँछ ।’ स्थानीयको अवरोध तथा स्थान अभावमा नयाँ सहरमा ल्यान्डफिल साइट निर्माणको काम ठप्प भएको मन्त्रीले बताए ।


समिति सभापति कल्याणी खडकाले नयाँ सहर निर्माण गर्दै जाने नीतिअनुसार प्रगति हुन नसकेको भन्दै कारण पहिचान गरी काम अघि बढाउन सरकारलाई निर्देशन दिएकी छन् । समितिले नयाँ सहर व्यवस्थापनमा भएका प्रगति तथा काठमाडौं उपत्यकाको फोहोर संकलन र व्यवस्थापनका सम्बन्धमा समेत जानकारी लिएको छ ।


सरकारले मध्यपहाडी लोकमार्गमा १० नयाँ सहर निर्माण गरिरहेको छ । २० वर्षमा प्रत्येक सहरमा एक लाख जनसंख्या बसाउने महत्त्वाकांक्षी योजनासाथ पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी–गल्छी, तनहुँको डुम्रे, बागलुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम, अछामको साँफेबगर र बैतडीको पाटनलाई नयाँ सहर घोषणा गरिएको हो ।


झन्डै एक दशकदेखि सरकारले प्रत्येक वर्ष एक अर्बभन्दा बढी रकम नयांँ सहरको भौतिक पूर्वाधार विकासका लागि विनियोजन गर्दै आएको छ । सहरमा शिक्षा, सडक, बिजुली, मनोरञ्जनलगायत व्यवस्था, भौतिक संरचनाको विकास गर्ने योजना छ । पहाडबाट तराईमा तीव्र बसाइँसराइ हुन थालेपछि सरकारले त्यसलाई रोक्न महत्त्वाकांक्षी योजना अघि सारेको हो ।


जमिनको उपलब्धता, आर्थिक विकासको सम्भाव्यता, बस्तीको स्थिति, जनसंख्या, यातायात सुगमतालगायत आधारमा ५ वर्षअघि सरकारले २० वर्षे गुरुयोजना प्रतिवेदन तयार गरी चरणबद्ध रूपमा सहर विकास गर्ने लक्ष्य राखेको हो । विभागका अनुसार अछामको साँफेबगर र रुकुमको चौरजहारीमा केही भौतिक संरचना निर्माण भइसकेका छन् । वसन्तपुर र धादिङको बैरेनीमा पनि निर्माणबारे अध्ययन भइरहेको छ ।


फिदिम, वसन्तपुर, चौरजहारी र पाटनमा बसपार्क निर्माण जारी छ । मन्त्रालयका अनुसार १० वटै सहरमा ६२ किमि सडक निर्माण गर्ने लक्ष्य रहे पनि ४८ किमि निर्माण भइरहेको छ । एकीकृत सरकारी अवधारणाअनुसार ८ वटा कार्यालय भवन निर्माण भइसकेका छन् । सहरको पूर्ण विकासका लागि करिब ५० अर्ब रुपैयाँ लाग्ने विभागको अनुमान छ । त्यसअनुसार प्रत्येक सहर विकासका

लागि ५ अर्ब रुपैयाँ लाग्नेछ ।


ती स्थानमा खानेपानी, सडक, बत्तीलगायत पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिइएको विभागले जनायो । ती ठाउँमा भौतिक पूर्वाधार तयार भएपछि नजिकका क्षेत्रबाट बसाइँसराइको क्रम बढ्ने र बसोबासको चापसमेत बढ्ने अनुमान गरिएको छ ।

प्रकाशित : भाद्र ९, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?