३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

बेइजिङको नयाँ विमानस्थलमा नेपाल पनि

लक्ष्मी लम्साल

बेइजिङ — चीनको राजधानी बेइजिङमा भर्खरै तयार भएको दोस्रो अन्तर्राट्रिय विमानस्थल प्रयोग गर्ने विमानमध्येमा नेपाल पनि रहेको छ । 

तासिङ विमानस्थलले सार्वजनिक गरेको पछिल्लो सूचीमा तीनवटा अन्तर्राट्रिय एयरलाइन्समा नेपालको हिमालयन एयरलाइन्ससहित केन्या र बरुनाइका विमान रहेको उल्लेख छ ।


यसअघि चिनियाँ सञ्चारमाध्यमले काठमाडौं–बेइजिङ उडान भर्ने नेपाली एयरलाइन्सका नाम खुलाएका थिएनन् । तर छीनार, सी–ट्रिपलगायत चिनियाँ ट्राभल एजेन्सीले हिमालयन एयरलाइन्सको नाममा अनलाइनमार्फत टिकट बिक्री प्रक्रिया थालिसकेका थिए ।


नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० आउन धेरै समय बाँकी नरहेका बेला सिधा उडानले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ । साढे ५ घण्टा दूरी र तुलनात्मक महँगो भाडादरका कारण हिमालयन एयरलाइन्सले बेइजिङका धनाढ्य पर्यटक आकर्षित गर्न खोजेको बुझिन्छ ।


यसअघि चीनका बाह्य प्रान्तबाट मात्रै काठमाडौंतर्फ सिधा उडान हुँदा ‘स्तरीय’ पर्यटक नेपाल नभित्रिएको गुनासो रहने गरेको थियो । यस वर्षको अक्टोबरदेखि नेपाल र चीनबीचको सम्बन्धमा नयाँ आयाम थपिने गरी हुन लागेका विभिन्न गतिविधिमध्ये यसलाई पनि एक ठानिएको छ ।


नेपाली र चिनियाँ संयुक्त लगानीमा सन् २०१४ देखि सञ्चालित हिमालयन एयरलाइन्सले यसअघि बेइजिङ र छोङछिङ नगरमा चार्टर्ड उडान भर्दै आएको थियो । गत साउन दोस्रो साता बेइजिङमा नेपाली र चिनियाँ अधिकारीबीच सम्पन्न हवाई सम्झौता पुनरावलोकन बैठकमा हिमालयन एयरलाइन्सको तासिङ विमानस्थलमा उडान अवतरणको आधार तय भएको थियो ।


नेपालबाट हिमालयन एयरलाइन्ससँगै केन्या एयरवेज र रोयल ब्रुनेई एयरलाइन्सले विश्वको सबैभन्दा ठूलामध्येको एक तासिङ अन्तर्राट्रिय विमानस्थल प्रयोग गर्ने विमानहरू रहेको सूचीमा उल्लेख छ । उडानका लागि स्लट पाउने निश्चित गरिएका पछिल्ला एयरलाइन्समध्ये हिमालयनले अक्टोबर २७ अर्थात् कात्तिक १० देखि उडान थाल्नेछ । त्यस्तै रोयल ब्रुनेईले सन् २०२० देखि उडान तयारी गरेको चीनको बेइजिङर्स अनलाइनले लेखेको छ ।


तीन देशका विमान कम्पनीमध्ये केन्या एयरवेज मात्र तासिङ विमानस्थलको प्रतिस्पर्धी ‘स्लट’ निर्धारणको अन्तिम चरणमा छ । यो कम्पनी आफ्ना लागि ‘हरियो झन्डा’ देखाइने विश्वासका साथ तयारीमा जुटेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार सेप्टेम्बर ३० तारिखदेखि सञ्चालनमा आउने यस विमानस्थलमा आफ्नो विमान उडान अवतरणका लागि अझै केही अन्तर्राष्ट्रिय हवाई कम्पनी प्रतीक्षारत छन् ।


यसका अलावा अन्य चीनका घरेलु र अन्तर्राट्रिय विमान कम्पनीले पनि तासिङ अन्तर्राट्रिय विमानस्थल रुट प्रयोग गर्दै उडान बिस्तार गर्ने प्रतीक्षा गरिरहेका छन् । अक्टोबर २८ देखि ब्रिटिस एयरवेजले लन्डनको हिथ्रो विमानस्थलदेखि बेइजिङ सिधा उडान गर्नेछ, जसबाट बेलायतमा ओहोरदोहोर गर्ने नेपाली लाभान्वित हुनेछन् ।


नोभेम्बर ३ देखि फिनल्यान्डको फिनएयरले बेइजिङ हेलसिन्की, अक्टोबर २९ देखि पोलिस एयरलाइन्स र डिसेम्बर ३१ देखि मलेसिया एयरलाइन्सले क्वालालम्पुरको सिधा उडान गर्नेछ । घरेलुमा चाइना साउदर्नले अक्टुबर २७ देखि हो ची मिन्ह सहर, चाइना इस्टर्न एयरलाइन्सअन्तर्गत चाइना युनाइटेड एयरलाइन्सले चीनभित्रका विभिन्न गन्तव्यमा उडान भर्नेछन् ।

प्रकाशित : भाद्र ९, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?