१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रधानमन्त्रीको स्वास्थ्य : थालियो प्लाज्माफेरेसिस 

अतुल मिश्र

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मृगौलासम्बन्धी ‘एन्टिबडी’ केही बढी देखिएपछि ‘प्लाज्माफेरेसिस’ सुरु गरिएको छ । बिहीबार सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको नेसनल युनिभर्सिटी अस्पतालमा शुक्रबार प्लाज्माफेरेसिस सुरु गरिएको हो । 

प्रधानमन्त्रीको स्वास्थ्य : थालियो प्लाज्माफेरेसिस 

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले आइतबार ‘ट्वीट’ गर्दै ‘प्लाज्माफेरेसिस’ प्रक्रिया सुरु भएको जानकारी सार्वजनिक गरेका थिए । प्रधानमन्त्रीसँगै सिंगापुरमा रहेकी निजी चिकित्सक प्राध्यापक डा. दिव्या सिंह शाहका अनुसार ओलीको स्वास्थ्य सामान्य छ । उनले ‘प्लाज्माफेरेसिस’ उपचार अरू केही पटक गरिने जानकारी दिइन् ।

ओलीको १२ वर्षअघि भारतको अपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको थियो । उक्त मृगौलाले बढी मात्रामा एन्टिबडी उत्पादन गरिरहेको छ । यसअघि प्रधानमन्त्री साउन १८ देखि २७ गतेसम्म नेसनल युनिभर्सिटी अस्पतालमै स्वास्थ्य परीक्षण गराएका थिए । त्यसपछि स्वदेश फर्केर पुनः उपचारका लागि गएका हुन् ।

प्लाज्माफेरेसिस मृगौलासम्बन्धी एन्टिबडी घटाउने उपचार पद्धति हो । ‘प्लाज्माफेरेसिसले प्रधानमन्त्री निको हुने ५० प्रतिशत सम्भावना छ,’ वरिष्ठ मृगौला रोग विशेषज्ञ प्रा.डा. ऋषि काफ्ले भन्छन्, ‘उहाँ यो प्रक्रियाले निको भए यही मृगौलाले ५ वर्षभन्दा बढी समयसम्म धान्ने सम्भावना हुन्छ । प्लाज्माफेरेसिसले काम गरेन भने डायलाइसिस वा पुनः प्रत्यारोपण मात्रै विकल्प रहन्छ ।’

काफ्लेका अनुसार मृगौलासम्बन्धी एन्टिबडी बढ्नुको अर्थ उनको शरीरले प्रत्यारोपण गरेको मृगौला चिन्न थालेको हो । ‘अर्काको शरीरको मृगौला हो भनेर आफ्नो शरीरले चिन्न थाल्नु भनेको त्यसले गर्ने कामको मात्रा घट्नु हो, विस्तारै काम गर्न छाड्नु हो,’ उनले भने, ‘प्रधानमन्त्रीको शरीरले एन्टिबडी उत्पादन गर्न थालेपछि त्यसले प्रत्यारोपित मृगौलामा आक्रमण गर्नाले समस्या उत्पन्न भएको हो ।’

एन्टिबडीको उत्पादन जति बढी हुन्छ त्यति बढी मृगौलालाई क्षति पुग्ने भएकाले उपचार आवश्यक परेको काफ्लेले बताए । ‘यो उपचारअन्तर्गत सुई औषधि दिएर शरीरमा एन्टिबडीको उत्पादन घटाइन्छ । यस्तै शरीरमा निर्माण भइसकेको एन्टिबडीलाई रगतबाट हटाउन प्लाज्माफेरेसिस गरिन्छ,’ उनले भने ।

प्लाज्माफेरेसिसमा डायलाइसिस जस्तै रगत झिकी रगतको प्लाज्मा भएको एन्टिबडी निकालेर त्यसको सट्टा अर्को प्लाज्मा हालिन्छ । प्लाज्माफेरेसिस सामान्यतया ३ देखि ६ पटकसम्म आवश्यक पर्ने भए पनि उमेर बढी भएकाले प्रधानमन्त्रीका हकमा ६/७ पटकसम्म चाहिन सक्ने डा. काफ्लेले बताए ।

विज्ञहरूका अनुसार प्लाज्माफेरेसिस थुप्रै उपचार प्रक्रियामा उपयोग हुन्छ । यो प्रक्रियाले भिन्न रगत समूहबीच मृगौला प्रत्यारोपण सम्भव हुन्छ । माइस्थानिया ग्रेभिस रोगको उपचारमा समेत यो प्रक्रिया प्रभावकारी मानिएको छ । भविष्यमा कलेजो प्रत्यारोपण आवश्यक हुने बिरामीलाई समेत प्लाज्माफेरेसिसका माध्यमले बचाउन सकिन्छ ।

छाला रोग सोराइसिस, गुलियन वारि सिन्ड्रोमलगायत केही स्नायु रोगमा समेत प्लाज्माफेरेसिस फाइदाजनक देखिएको छ । प्लाज्मा रगतमा हुने हलुका पहेंलो तरल पदार्थ हो । प्लाज्माले शरीरलाई संक्रमणबाट जोगाउँछ । प्लाज्मा आयतनका आधारमा रगतमा ५५ देखि ६० प्रतिशत हुन्छ भने रक्तकोषमा ४० देखि ४५ प्रतिशत हुन्छ ।

प्लाज्मामा ९० देखि ९२ प्रतिशत पानी र बाँकी ८ देखि १० प्रतिशत भाग थुप्रै कार्बनिक र अकार्बनिक पदार्थ हुन्छन् । प्लाज्मामा भएको ग्लोब्युलिन्सले एन्टिबडी जस्तै काम गर्छ । हानिकारक ब्याक्टेरिया र भाइरसलाई नष्ट गर्छ । प्रोथ्रोम्बिन, फाइब्रिनोजेनले रगतलाई जम्न सघाउँछन् ।

दोस्रो पटक प्रधानमन्त्री पदको शपथ लिनु केही दिनअघि मात्र ओलीले बैंककस्थित ब्रुमरुग्रान्ड इन्टरनेसनल हस्पिटलमा नियमित स्वास्थ्य परीक्षण गराएका थिए ।

प्रकाशित : भाद्र ९, २०७६ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?